१५ बैशाख २०८१, शनिबार

 

सफल लगानीकर्ता बन्न चाहनेलाई वारेन बफेटको ९ सुझाव

विश्व सेयर बजारमा ‘सेयर बादशाह’का रुपमा परिचित छन् वारेन बफेट । सेयर बजारमा थुप्रै लगानीकर्ताले उनको लगानीको सुत्र र उनको लगानीको चाललाई पछ्याउने गर्छन । वारेन बफेटको भनाईमा आम्दानी बढाउनका लागि सही दिशाको आवश्यकता पर्छ ।

प्राय मानिसहरु धनीहरुलाई हेरेर त्यस्तै बन्ने कोशिश त गर्छन, तर स्पष्ट दिशाबिनाको त्यस्तो कोशिशको अर्थ हुँदैन । अबदेखि धनी भइसकेकाहरुलाई मात्र हेरेर लगानी गर्न बन्द गर्नुहोस्, बरु सही दिशा र ठाउँमा आफ्नो पैसा लगानी गर्नुहोस् । आम्दानी बढाउनका लागि समेत यही मात्र एक राम्रो आइडिया हो कि सही ठाउँमा लगानी गरी कमाउन सकिन्छ ।

वारेन बफेटले मुनाफा कमाउने यस्तै ९ वटा टिप्स हालै सार्वजनिक गरेका छन् ।
१ भ्यालू इन्भेस्टिङ

यो राम्रो सेयर छनौट गर्ने उत्तम विधि हो । यसको अर्थ हो कि तपाई त्यस्तो कम्पनीको सेयर छनौट गर्नुहोस्, जसको आम्दानी, लाभांश इतिहास, बुक भ्यालू र क्यासफ्लो लगायतका फण्डामेन्टल निकै मजबुत छ । तर, यस्तो सेयर अण्डरभ्यालु भएको होस् अर्थात जसको मूल्यमा बढोत्तरीको प्रशस्तै संभावना होस् ।

२ गुणस्तरले अर्थ राख्छ

क्वालिटी विजिनेशमा ग्रोथ तथा कम्पाउण्ड क्यासफ्लोको अधिक संभावना हुन्छ । तर, कम गुणस्तरको विजिनेश कुन बेला डुब्छ पत्तो हुँदैन । यस्तो बेलामा मार्केट म्यानेजर्सले पनि तपाईलाई बचाउन सक्दैनन् । त्यसकारण सधैं यस्ता सक्षम म्यानेजरको संगत गर्नुपर्छ, जसको हित तपाईसँग मिल्छ । यसर्थ पनि गुणस्तरीय कम्पनीमा ध्यान दिनुहोस् ।

३ डाइभर्सीफाइ नहुनुहोस्

यस्तो लगानी गर्नुहोस्, जुन पूरा जिन्दगीका लागि होस्, जसले तपाईलाई सधैं प्रफिट दिइरहोस् । अवसरहरुमा सधैं नजर राख्नुपर्छ । यस्तो अवसर विश्वका जुनसुकै कुनामा पाइन्छ, यस्तो अवसर कुनै अनपेक्षित उद्योग वा क्षेत्रमा पनि फेला पर्न सक्छ ।

४ धैर्य बन्ने क्षमता राख्नुहोस्

राम्रो लगानीकर्ताका लागि धैर्यता औधी आवश्यक विषय हो । अधिकांश लगानीकर्ता आफ्नो दुश्मन आफैं हुने गर्छन् । सहनशीलता र धैर्य गर्ने क्षमताले फाइदा दिलाउँछ ।

५ उतारचढावले अवसर दिन्छ

कम्पनीलाई हेरेर लगानीमा ज्यादा खर्च गर्नु या अनुमान भन्दा बढी भुक्तानी गर्नुलाई जोखिम भन्न सकिन्छ । भ्यालू भन्दा बढी मूल्यमा उतारचढाव भइरहन्छ । तर, मूल्यको उतारचढावले कहिलेकाही अवसर पनि दिनसक्छ।

६ मौका छैन भने लगानी नगर्नुहोस्

कुनै घटना जुनसुकै बेला हुनसक्छ, जसको कुनै पूर्वसंकेत नै हुँदैन । यसका लागि सधैं तयारी भएर बस्नुपर्छ । तपाईले लगानीसँग जोडिएको केही गल्ती गर्न सक्नुहुन्छ र त्यसपछि मात्रै सफल र अझ सशक्त बन्न सक्नुहुन्छ । यदि लगानीको सही मौका छैन भने नगद नै राख्नु पनि बुद्धिमानी हुनेछ ।

७ लगानीभन्दा महत्वपूर्ण हो रिटर्न

तपाईले पब्लिक कम्पनी, प्राइभेट कम्पनी, ऋणपत्र, इक्वीटीमध्ये केमा लगानी गरिरहनुभएको छ, त्यसले ठूलो अर्थ राख्दैन । लगानीको तरिका भन्दा महत्वपूर्ण त्यसबाट प्राप्त हुने रिटर्न हुन्छ । त्यसकारण रिटर्न बढी दिने कम्पनीमा लगानी गर्नुपर्छ ।

८ प्रष्ट बन्ने गर्नुहोस्

आफ्नो गल्तीको पहिचान गर्नु, दृढताका साथ अगाडि बढ्नु र गल्तीहरुबाट सिक्नु जरुरी हुन्छ । जस्तो कि राम्रो राइटिङले तपाईको सोंचलाई समेत सुन्दर बनाइदिन सक्छ । यो कुरा सेयरधनीका हकमा समेत लागू हुन्छ । सधैं प्रष्ट भई लगानीको क्षेत्रमा अगाडि बढ्नुपर्छ ।

९ जे मन पर्छ, त्यही काम गर्नुहोस्

लाइक माइण्डेड सेयरधनीले जस्तै लगानी गर्नुहोस् । त्यो काम गर्नुहोस्, जुन तपाईलाई गर्न मन लाग्छ । आफूलाई मन परेको काम गर्नुभयो भने तपाईलाई पूरा जिन्दगीभर कुनै काम गरिरहेको छु भन्ने लाग्दैन । दैनिक रुपमा काम गरे पनि काम गरेजस्तो लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्