१६ बैशाख २०८१, आईतवार

 

क्यूआर कोड मार्फत बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी

बागलुङ । बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी क्यूआर कोड मार्फत दिन थालेको छ ।

बागलुङ नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह ताल सहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको छ ।

मंगलबार एक समारोहका बीच नगरप्रमुख बसन कुमार श्रेष्ठले बागलुङ कालिका मन्दिर परिसरमा कालिका मन्दिरको बारेमा जानकारी दिन राखिएको क्यूआर कोड अनावरण गर्नुभएको थियो ।

नगरपालिकाको नक्सा सहित उक्त ११ पर्यटकीय गन्तव्यको पूर्ण जानकारी अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ गर्ने व्यवस्था मिलाइएको छ ।

उक्त क्युआर कोड पर्यटकीय स्थलमा टाँस गर्ने र उक्त स्थानको विषयमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने छ ।

“थुप्रै पर्यटकीयस्थल बागलुङ नगरपालिका भित्र छन् जसमध्ये नगरपालिकाले पहिलो चरणमा ११ पर्यटकीय तथा धार्मिक गन्तव्यको विषयमा जानकारी दिने डिजिटल माध्यमबाट व्यवस्था मिलाएको छ” उपप्रमुख खड्काले भन्नुभयो “घुम्न आएका पर्यटकहरु उक्त धार्मिक गन्तव्यको विषयमा अनविज्ञ भइरहेको सन्दर्भमा तत्कालिन पर्यटकीयस्थलमा टाँसिएको क्यूआर कोड स्क्यान गरी मार्फत जानकारी लिन सक्नेछन् ।

जस्कारण धार्मिक तथा पर्यटकीय गन्तव्यको महिमा थप उजागर हुँने छ ।”यस्तै उक्त धार्मिक स्थलमा पुग्नुभन्दा पहिला उक्त स्थानको नक्सा र जानकारी घरबाटै लिन सक्ने खड्काको भनाई ।

बागलुङ नगरपालिकाले पर्यटन शिर्षकमा विनियोजन गरेको रु तीन लाख बजेट सहकार्यमा पर्यटकीय स्थलको जानकारी डिजिटल माध्यमबाट दिन थालिएको हो ।

११ पर्यटकीयस्थलको जानकारी लिनका लागि क्यूआर कोड स्क्यान गर्दासाथ वेबसाईटमा गएर उक्त पर्यटकीय स्थलको विषयमा अग्रेजी र नेपाली दुबै माध्यमबाट पढ्न र सुन्न सकिने छ नगरपालिकाले आगामी वर्ष थप प्राथमिकताका आधारमा पर्यटकीय गन्तव्यको क्यूआर कोड बनाउदै लैजाने जनाएको छ ।

उक्त कार्यले धार्मिक तथा ऐतिहासिक महत्वको उजागरमा थप सहयोग पुग्ने बताइएको छ ।अग्रेजीमा समेत अनुवाद गरिएकाले पर्यटकीय स्थानको विषयमा विदेशी पर्यटकहरुलाई समेत सहज हुँनेछ ।

बागलुङ नगरपालिकाले कालिका मन्दिरमा क्यूआर कोड टाँसेर पर्यटकीयस्थलको आधुनिक जानकारी दिने तयारी थालिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“हरेक कुरा डिजिटल बन्न आवश्यक छ, पर्यटकीय स्थलमा किन आउने भन्ने जानकारी पर्यटकहरुलाई समेत हुन आवश्यक छ, उक्त क्यूआर स्क्यान प्रत्येक होटल तथा पर्यटन व्यवसायीहरुले राख्न आवश्यक छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “पर्यटकले महत्वका आधारमा आफै अध्ययन गरेर भ्रमणमा जान सक्नेछन् ।”

बागलुङ नगरपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका मन्दिर, बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट, मालिका, बागलुङ नगरपालिका–८ सिगानाको कोत घर, नगरपालिका–११ को रायडाँडाको वौद्ध गुम्बा, पर्यटकीय गाउँ भुकुण्डेको बराह ताल, कुडुँलेको शालग्राम संग्रहालय, बलेवा भैरवस्थान मन्दिर, मालढुङ्गाको कृष्ण गण्डकी परियोजना, उपल्लाचौरको गौरीधाम शिव मन्दिर र तित्याङको मनकामना मन्दिरको जानकारी डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यूआर कोड मार्फत गतव्य स्थलको जानकारी आधुनिक सूचना प्रविधि मार्फत हुने भएकोले पर्यटकले सहज ढंगले सूचना पाएर यात्रा गर्न सक्ने भएकोले यसले पर्यटकको बसाई लम्ब्याउन र बागलुङ नगरको आर्थिक कारोबारलाई थप चलायमान बनाउन सहयोग पुग्ने बागलुङ नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्