२१ बैशाख २०८१, शुक्रबार

 

नरेठाँटीमा होजियारी सम्बन्धी सीप विकास तालिम सुरु

गलकोट । गलकोट नगरपालिकाको आयोजनामा गलकोट नगरपालिका-२ नरेठाँटीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने होजियारी सम्बन्धी स्तरोन्नती सीप विकास तालिम सुरु भएको छ ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाले लघु उद्यम मार्फत् गरिवी निवारणका लागि आवश्यकताको आधारमा लघु उद्यमका विभिन्न कार्यक्रमहरु सञ्चालन गरी रहेको बताउनुभयो ।

उहाँले यस कार्यक्रमले आयआर्जनमा वृद्धि गर्ने र गाउँ टोलमा रोजगारको सिर्जना गर्ने भएकोले तालिममा सहभागि सबै प्रशिक्षार्थीहरुलाई नियमित रुपमा उपस्थित भई दक्ष उद्यमि बन्न प्रेरित गर्नुभएको थियो ।

तालिममा सहभागिहरुले होजियारी सम्बन्धी आधारभूत तालिम लिईसकेकोले यस तालिमबाट कपडाहरुमा उत्कृष्ट डिजाईनहरु गर्न र मेसिनहरु बिग्रेको समयमा आफै मर्मत गर्न सक्षम हुने गलकोट नगरपालिका २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो ।

त्यस्तै भण्डारीले यस तालिमले थप गुणस्तरीय कपडा उत्पादनमा समेत सघाउ पुयाउने समेत बताउनुभयो ।कार्यक्रममा गलकोट नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत थम्मनसिंह गौतम, नरेठाँटी होजियारीका अध्यक्ष धना खड्काथोकीले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम गलकोट नगरपालिका२ का वडा अध्यक्ष हिमबहादुर भण्डारीको अध्यक्षता, गलकोट नगरपालिका ४ का वडा सदस्य कृष्णबहादुर भण्डारीको स्वागत र गलकोट नगरपालिकाका उद्यम विकास सहजकर्ता गुलाव वादीको सञ्चालनमा सम्पन्न भएको थियो ।

४५ दिनसम्म सञ्चालन हुने तालिममा गलकोट नगरपालिका-२ र ४ वडाका गरी २० जनाको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्