बागलुङ । जैमिनी नगरवासीलाई तत्काल स्वास्थ्य सेवा दिने उद्देश्यसहित जैमिनी नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
कुल १९ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बताउनु भयो।
उहाँका अनुसार ५५ लाख रुपैयाँ पर्ने एम्बुलेन्स छुटका कारण १९ लाख रुपैयाँमा खरिद गरिएको हो। नगरपालिकाले एम्बुलेन्स खरिदका लागि रु १९ लाख बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको थियो।
जैमिनी नगरपालिकामा सञ्चालित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पटक–पटक बिग्रँदै आएकाले पालिकाले आफ्नै एम्बुलेन्स खरिद गरेको हो । यसको व्यवस्थापनको जिम्मा पालिकाको समन्वयमा कुश्सिेरा प्राथमिक सेवा केन्द्रलाई दिइएको नगर उपप्रमुख शर्माले नयाँ विश्वलाई बताउनु भयो।
एम्बुलेन्स सेवा सुत्केरी, गर्भवती, जेष्ठ नागरिक, आकस्मिक बिरामी, दीर्घ रोगीहरुले पाउने छन्।
आजदेखि पालिकाका सबै वडाका बिरामीलाई एम्बुलेन्स सेवा प्राप्त हुने शर्माले बताउनु भयो ।
नागरिकको स्वास्थ्य पहुँचमा वृद्धि गर्न र आकस्मिक बिरामीलाई अस्पतालसम्म छिटो पुर्याएर उनीहरुको जिवन बचाउनु यो सेवाको मुख्य लक्ष्य रहेको पालिकाले जनाएको छ ।
एम्बुलेन्समा स्वास्थ्यकर्मी र प्राथमिक उपचारका सामानहरुको समेत व्यवस्था गरिएको छ । यो एम्बुलेन्स स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ट्र्याकिङ प्रणालीमा जोडिएको छ ।
एम्बुलेन्स सेवालाई व्यवस्थित गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको यस प्रणालीबाट एम्बुलेन्स कुन ठाउँमा कसरी रहेको छ ? वा स्थिर रहेको छ ? एम्बुलेन्सले बिरामी बोकेको छ कि छैन ? बिरामीको आग्रहलाई मानिरहेको छ कि छैन रु भन्ने कुरा देखाउँछ ।
यसलाई नियन्त्रण कक्षबाट हेर्न सकिन्छ र एम्बुलेन्समा जिपीएस जडान गरिएको छ ।



































































































































































































