३ श्रावण २०८३, आईतवार

 

फोहर व्यवस्थापनबाट मनग्य आम्दानी गर्न सकिन्छ : मेयर श्रेष्ठ

बागलुङ । बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले ‘नगरपालिकाले फोहोर वर्गीकरणको अभियान सुरु गर्न लागेको’ बताउनुभयो ।

धौलागिरी अटोमोबाइल व्यवसायी संघद्धारा डस्टबिन वितरण कार्यक्रममा श्रेष्ठले उक्त विचार व्यक्त गर्नु भएको हो । ‘यसका लागि नगरले वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न रङ संकेतसहितको गाडी तयार पारेको’ जानकारी दिनुभयो ।

‘नगरपालिकाले फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) र पुण प्रयोगमा ल्याउन सकिने फोहरलाई छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने गरी गाडीको व्यवस्था गर्ने गरी क्लिन सिटीको अवधारणा ल्याएको’ बताउनुभयो ।

‘त्यसको लागि नगरपालिकाले सबै नगरवासीलाई तीन वटा रंग लगाएको डस्टबिन वितरण गरिरहेको र वातावरण जोगाउने अभियानमा सबैले सहयोग गर्न ’आव्हान गर्नु भयो ।

‘फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको वर्तमान समयमा फोहोरलाई छुट्टाछुट्टै संकलन गर्ने तयारी सुरू गरेको’ श्रेष्ठको भनाई थियो ।

‘यसले पर्यावरणको रक्षा गर्नुको साथै कुहिने र पुण प्रयोग हुने फोहरमा मनग्य आम्दानी गर्न सकिने ’ बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका-१ का वडा अध्यक्ष जयबहादुर केसीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो । धौलागिरी अटोमोबाइल व्यवसायी संघले आफनो सदस्यहरुलाई डस्टबिन निशुल्क वितरण गरेको छ ।

संघले बुधबार ४८ जना अटोमोबाइल व्यवसायीहरुलाई कुहिने र नकुहिन गरी दुई वटाको दरले एक लाख २५ हजार बराबरको ९६ वटा डस्टबिन वितरण गरेको हो ।

कार्यक्रम धौलागिरी अटोमोबाइल व्यवसायी संघका अध्यक्ष शिव शंकर साहको स्वागत र अध्यक्षता तथा महासचिव राजु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०७६ मा स्थापना भएको धौलागिरी अटोमोबाइल व्यवसायी संघमा ४८ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट २ सय २५ जना श्रमिकले रोजगारी पनि पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung