३ श्रावण २०८३, आईतवार

 

काठेखोला गाउँपालिकाद्वारा जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन पारित

बागलुङ । काठेखोला गाउँपालिकाले समुदायकै सकृयतामा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिता बिना कानुन र कारवाहीले मात्रै जैबिक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो ।

गाउँपालिकाले १६ औँ गाउँ सभाबाट पारित गरेको ‘जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन’ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको हो ।

अवैधानिक रुपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानून बनाएको हो ।

ऐन बनेसँगै गाउँपालिका भित्रका खोलानालामा रहेका जलचर तथा जलीय जैविक विविधताको संरक्षणका लागि कार्यविधि बन्ने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।

उक्त नीति अनुसार विपन्न र बेरोजगार तथा परम्परागत रुपमा पेशा अङ्गालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिईने छ ।

माछा, गंगटा लगायतका जलचरहरुको प्रजननका समय र संकटको समयमा उपभोगमा रोक लगाउने विषय नीतिमा उल्लेख छ ।

‘कानुनको कसी र कारवाहीले मात्रै संरक्षण सम्भव छैन्, त्यसैले हामीले खोला छेउका बस्तिहरुको सकृयता र सहभागिता हुनेगरी समुह मार्फत संरक्षणको नीति ल्याएका छौं,’ उपाध्यक्ष थापाले भने, ‘किन जोगाउने, नजोगाउँदा समुदायलाई कस्तो असर पर्छ भन्ने बुझाउनका लागि पनि उनिहरुकै सहभागिता आवश्य छ ।’

गाउँसभाले काठेखोला गाउँपालिकाका कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको विद्येयक सर्वसम्मत पारित गरेको छ ।

कर्मचारीको व्यवस्थापन, बृत्तिबिकासमा सहयोग पुर्याउन र काम गर्ने मनोवल विकास गर्नेगरी ऐन बनेको हो । गाउँसभाले विद्यालय व्यवस्थापक कार्यक्रम कार्यबिधि पनि पारित गरेको छ । सोमबार सम्पन्न गाउँसभामा अध्यक्ष राजु थापाले अर्धवार्षिक प्रगति पेश गर्नु भएको थियो ।

तस्बिर इपरिन्युजबाट

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung