बागलुङ। विश्व बैंकले नेपालका दुई वटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ।
विश्व बैंकले आज विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो।
नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिंचाइ सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो।
यसमध्ये, विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण सुविधा लिइएको छ। उक्त रकमबाट कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ।
नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको जनाइएको छ।
त्यस्तै, रानी जमरा कुलरिया सिंचाइ आयोजनाको तेस्रो चरणका लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत भएको छ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा वर्षैभरि सिंचाइ सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ।
परियोजनाबाट थप १७ हजार ५०० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पु¥याइने र यसबाट करिब एक लाख ६० हजार मानिस लाभान्वित हुने ठानिएको छ।
क्यापिटल नेपालबाट













































































































































































































