बागलुङ । जलजला गाउँपालिकाले मल्लाजको माझफाँटमा निर्माण सम्पन्न भएको आधारभूत अस्पतालको नवनिर्मित भवनको संम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
जलजला गाउँपालिका ३ मल्लाज माझफाँट भुरुतुलामा निर्माण हुन लागेको दस शैयाको आधारभूत अस्पतालको बारेमा सरोकारवालाहरुबिच अन्तरक्रिया गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले नयाँ विश्वलाई जानकारी दिनु भयो ।
उक्त भवन जिडल्बुसि बिएम आइएस जिभि कम्पन्नीले २०७८ साल असार २३ गते नौ करोड ७३ लाख ६४ हजार ८ सय १३ रुपैयाँमा ठेक्का सम्झौता गरेका थियो । गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले अहिलेसम्म उक्त कम्पन्नीलाई ८ करोड ३६ लाख ५६ हजार २ सय ५६ रुपैयाँ भुक्तानी भएको बताउनुभयो ।
अहिले बन्न लागेको भवनमा आकस्मिक, अन्तरंग, बहिरंग, चिकित्सक, प्रशासन, भण्डारण, प्रसुति, लेवर, शल्यक्रिया, एक्सरे, इसिजि, प्रयोगशाला र बैठक कोठाहरु रहेका छन् । उक्त कम्पन्नीले २०८२ जेठ १५ गते अस्पताल निर्माण सम्पन्न गरेको छ । अस्पताल सञ्चालनको लागि उपकरण, चिकित्सक र स्वास्थ्यकर्मीको प्रदेश र संघीय सरकारसँग माग गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो ।
अस्पताल सञ्चालनमा आए १ नंम्बरदेखि ६ नंम्बर वडाहरुमा पर्ने बाँसखर्क, माझफाँट, लेखफाँट, सालिजाका सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा लिन धेरै सहज हुने देखिन्छ । संघीय सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अनुसार भुकम्प प्रतिरोधी, अपाङग मैत्री अस्पताल सञ्चालनमा आउन लागेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
कार्यक्रममा वडा नं दुईका वडा अध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्री, वडा नं ३ का वडा अध्यक्ष यगेन्द्रबहादुर खत्री, वडा नं ४ का वडा अध्यक्ष भरतबहादुर क्षेत्री, वडा नं ५ का वडा अध्यक्ष तिलक जिसी, नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाका ईन्चार्ज लोकराज आचार्य, नेकपा एमाले जलजला गाउँपालिकाका अध्यक्ष नरबहादुर कार्की, नेपाली कांग्रेस जलजला गाउँपालिकाका सभापति इन्दु प्रकाश पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरुले प्रश्न, जिज्ञासा र सुझाव व्यक्त गरेका थिए ।कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यको स्वागत तथा लालटिन मिडिकाका पत्रकार सुमन जंग थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

































































































































































































