बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले बागलुङ बजारका सुनचाँदी पसलहरूको अनुगमन गरेको छ ।
बजार क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न पसलमा विक्रीका लागि राखिएको सुनचाँदी तथा कारोबारको अवस्थाबारे अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा राजस्व कार्यालयले व्यवसायीहरूलाई विलासिता कर अनिवार्य रूपमा तिर्न, खरिद–विक्रीको विवरण व्यवस्थित रूपमा अभिलेख राख्न, पाँच लाख रुपैयाँभन्दा माथिको कारोबार बैंक वा वित्तीय संस्थामार्फत गर्न तथा व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक प्रमाणपत्र पसलमा अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ ।
यसैगरी सुनचाँदीको कारोबारमा सरकारले तोकेको बजार मूल्यभन्दा बढी मूल्य नलिन पनि व्यवसायीहरूलाई सचेत गराइएको छ ।
आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूले बागलुङ बजारका लोकतान्त्रिक चोक, धौलागिरि चोक र लालिगुराँस चोक क्षेत्रमा रहेका सुनचाँदी पसलहरूमा अनुगमन गरेका हुन् ।
कार्यालयले दिएको निर्देशनको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बागलुङले जनाएको छ ।













































































































































































































