बागलुङ । बागलुङ र पर्वतलाई जोड्नेगरी कालीगण्डकी नदीको खोचमा निर्माण गरिएको बन्जी पुलमा भारतीय पर्यटकको संख्यामा ह्वातै वृद्धि भएको हो । बन्जी जम्प, स्विङ, मेघा जिपलाइन, स्काइ साइक्लिङ, रक कलाइमिङ लगायतका साहसिक खेल खेल्ने र अवलोकन गर्नेको संख्या पछिल्लो समय बढेको पाइएको छ ।
जसमध्ये अधिकांश भारतीय पर्यटक गर्मी छल्ने निउमा बन्जी आउन थालेको पाइएको छ । विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएकाले पछिल्लो समय भारतीय पर्यटकहरुको रोजाईमा बन्जी पर्न थालेको दि क्लिप प्रालीका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । उहाँले गर्मी बढेसंगै भारतीय पर्यटकहरुको बन्जीमा भीड बढेको बताउनुभयो ।
“शुक्रबार र शनिबारको बिदामा दैनिक चार सय अवलोकन तथा साहसिक खेल खेल्न आउनेगरेको पाइएको छ, बाह्य बर्यटकमा अधिकांश भारतीय पर्यटक रहेका थिए, २५ कोठा रहेको रिसोर्ट भरिदै आएको छ, अवलोकनमा आएका मध्ये दैनिक ६० पर्यटकले बन्जी, २० जनाले मेघा जिपलाईन, १५ जनाले स्काई साइक्लिन र १२ जनाले स्विङ गर्ने गरेका छन्, हाम्रो मुख्य आकर्षण २२८ मिटर आग्लो बन्जी नै हो, जुन विश्वकै दोस्रो अग्लो मध्येमा पर्दछ” कार्कीले भन्नुभयो “नेपाली पर्यटकको आकर्षणमा रहेको बन्जीमा विस्तारै विदेशी पर्यटकको आगमन बढ्दै आएको छ, अहिले दैनिक सरदरमा ५० देखि एक सयको हाराहारीमा भारतीय पर्यटकहरु मात्रैआउने गरेका छन् ।”

काठमाण्डौबाट बञ्जीजम्प गर्न बागलुङ–कुश्मा आउनुभएको पर्यटक सागर लम्सालले बन्जी साहसिक पर्यटकको लागि नेपालकै नयाँ गन्तव्यको रुपमा रहेको पाइएको बताउनुभयो । उहाँले बन्जीसंगै कुश्मा क्षेत्रनै पर्यटकीय नगरी भइरहेको बताउनुभयो । बन्जीका कारण ११५ जनालाई प्रत्यक्ष रोजगारी सृजना भएको छ ।
अहिले सम्म पुल, बन्जी, मेघा जिपलाईन सहित पर्यटकीय पूवाधार र रिसोर्टमा ७० करोड खर्च भइसकेको बन्जी व्यवस्थापनले जनाएको छ । अहिले स्विमिङ पुल सहितको भिल्ला समेत थपिएको र थेरापी, ध्यान, योग लगायतको कक्ष निर्माण भइरहेको छ । बञ्जीजम्पमा अहिले दैनिक चार सय सम्म पर्यटक आउने र जसमध्ये एक सय पर्यटकले कुनै न कुनै साहसिक खेल खेल्ने गरेको पाइएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
बञ्जीसँगै बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रिसोर्ट, पार्क, रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङ, रक क्लायिमिङ लगायत आधा दर्जन साहसकि खेल संगै खाना र बस्नको व्यवस्था गरिएको छ । विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएर सञ्चालनमा आएको थियो ।
अहिले रिसोर्ट रहेको बलेबाबाट कुश्मा तर्फ एक हजार २२८ मटिर लामो कालीगण्डकी माथीको मेघा स्विङ सञ्चालनमा आएको छ । बन्जी पुलको लम्बाइ पाँच सय २५ मिटर छ । खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ ।







































































































































































































