बागलुङ । बागलुङ नगरपालिका–१३ ढाडा स्वावलम्बी महिला समूहमा आवद्ध गिता परियारले गत वर्षको जेठमा एउटा बाख्राको पाठा उपहारमा प्राप्त गर्नुभएको थियो । त्यही बाख्राबाट जन्मेको पाठी स्थानीय अर्का समूह सदस्य चन्द्री हरिजनले उपहार स्वरुप यो वर्ष परियारबाट पाउनुभयो । सोही समूका सात महिलाहरुले यसै पटक सात वटा बाख्राका पाठा उपहार स्वरुप पाएका छन् ।
बागलुङ नगरपालिकाले तीन वर्ष यता सञ्चालनमा ल्याएको आत्मनिर्भर परियोजना अन्तर्गत नगरका १० वडाका ८५ महिलाहरुलाई यस वर्ष बाख्राका पाठा र बिउँपूजीका लागि बोका उपहार स्वरुप प्राप्त गरेका छन् । आत्मनिर्भर बागलुङ’ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले हेफरको प्राविधिक सहयोगमा महिलाहरूलाई ८५ बाख्राको पाठी र बोका वितरण गरिएको हो ।
बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफर परियोजनाको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको व्यवस्थापनमा बागलुङ नगरपालिकामा भित्रको १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा छ ।
आत्मनिर्भर बागलुङ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाको ५ नम्बर देखि १४ वडाका २२ मूल समूह, ४९ उपहार समूह मार्फत चालु आर्थिक वर्षमा ७५ वटा बाख्राका पाठी र १० वटा बोका उपहारस्वरुप प्रदान गरिएको छ ।
सुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहार स्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियम अनुसार गत वर्ष बागलुङ नगरपालिकाका १० वटा वडामा गत वर्ष १०४ पाठी उपहार स्वरूप प्रदान गरिएको थियो भने चालु आर्थिक वर्षमा ८५ बोका तथा बाख्राका पाठा उपहार स्वरुप प्रदान गरिएको छ ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उपहार स्वरूप ७५ बाख्राका पाठी तथा १० वटा बोका विपन्न तथा लक्षित महिलाहरुलाई वितरण गरिएको बताउनुभयो । विपन्न महिलाहरुलाई सानो सहयोग र तालिमले आत्मनिर्भर बन्न ठूलो सहयोग गर्ने बताउनुभयो ।
“बागलुङ नगरपालिका भित्र बाख्रापालन र तरकारीको निकै संभावना रहेको छ, परम्परागतरुपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन नगरपालिकाले वार्षिक डेढ करोड खर्च गरिरहेको छ” ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो “बाख्राको पाठा मात्रै दिदैनौं, बाख्रापालनको सिप, खोर सुधार र आय आर्जनको रकम बचत गर्न सिकाउछौं, नगरपालिकाको बजार क्षेत्र बाहेकको वडामा बाख्रापालनको संभावना हेरेरै लगानी गरेका छौं, कार्यक्रमको प्रभावकारीता देखेर पुन आगमी वर्षलाई समेत निरन्तरता दिने योजनामा छौं ।”
बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफर परियोजना नेपालको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपभेन्ट फाउण्डेशनको सहजीकरणमा नगरपालिकाको १४ वडा मध्ये १० वडामा उक्त कार्यक्रम सञ्चालनमा आएको छ ।
कार्यक्रमबाट तीन वर्षमै ६२० भन्दा बढी महिला लाभान्वित भएका छन् । उनिहरुलाई बाख्रापालनका लागि बिउँपूजीबाट सहयोग मिलिरहेको छ भने कतिपयलाई तालिम प्रदान गरिएको छ ।
समूह अन्र्तगत रहेका महिलाहरु विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम अन्तर्गत २२ मुल समूह अन्र्तगत ४९ उपहार समूह गठन गरेर तालिम, तरकारीको बिउँदेखि टर्नेल निर्माणमा समेत सहयोग गरेको छ ।
महिलाहरुलाई दिएको पाठीलाई हुर्काउने र बिउँपूजीको रुपमा विकास गर्दा आय आर्जनमा सघाउदै विपन्न परिवार समेत आत्मनिर्भर भइरहेको नेपाल गाजा डेभलपमेन्ड फाउण्डेशनका कार्यक्रम व्यवस्थापक ममिता पुनले जानकारी दिनुभयो ।
उहाँले महिलाहरुलाई बाख्रापालनमा भोक जगाउने, बचत गर्न सिकाउने, तरकारी खेतीमा आकर्षण गर्ने र बाख्रपालनलाई वृद्धि गर्ने तरिका सिकाउदा फलदायी हुँने जानकारी दिनुभयो ।













































































































































































































