बागलुङ । सोमबार बसेको माछापुच्छ्रे बैंकको संचालक समिति बैंठकले नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा तथा नायव महाप्रबन्धक सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशकभन्दा लामो अनुभव, ज्ञान तथा उत्कृष्ट नेतृत्व दक्षता छ।
उनी यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न पदमा कायर्रत रही काम गरेका थिए।
यस्तै, वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका जमरकटेल एक दक्ष तथा अनुभवी चार्टर्ड एकाउन्टेन्टका रूपमा परिचित छन्।
उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानून विषयमा स्नातक तहको उपाधि हासिल गरेका छन्।
साथै, उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डबाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्रीसमेत हासिल गरेका छन्।
अर्याल तथा जमरकटेल दुवै आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै बैंकिङ क्षेत्रका सक्षम, अनुभवी तथा सफल बैंकरका रूपमा रुपमा चिनिन्छन्।













































































































































































































