बागलुङ । ग्रेस इन्टरनेसनलले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित विद्यार्थी र विद्यालयलाई सहयोग पुर्याउने उद्देश्यले ग्रेस इन्टरनेसनलले उक्त रकम प्रदान गरेको हो।
ग्रेस इन्टरनेसनलका सह–संस्थापक एन्ड्रयू पौडेलले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो।
चेक हस्तान्तरण गर्दै पौडेलले बाढीबाट प्रभावित विद्यार्थी तथा परिवारको उद्धार, राहत र पुनर्स्थापनासँगै उनीहरूको शिक्षालाई निरन्तरता दिन सहयोग आवश्यक रहेको बताउनुभयो।
उहाँले विपद्का कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर कम गर्दै अध्ययनका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्न तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
















































































































































































