बागलुङ । भोटेकोशी बाढीमा बेपत्ता बागलुङ नगरपालिका–९ तित्याङ गाउँका एकै परिवारका चार जनाको अवस्था १२ दिन बितिसक्दा पनि अज्ञात रहेको छ ।
भदौ १० गते आएको हिमबाढीका कारण नुवाकोटस्थित त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर राजेश शर्मा पौडेल, उनकी श्रीमती इन्जिनियर प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य शर्मा पौडेल र छोरी आदिती शर्मा पौडेल सम्पर्कविहीन भएका हुन् ।
३३ वर्षीय राजेश, ३१ वर्षीया प्रमिला र उनीहरूका दुई बालबालिका एकैसाथ बेपत्ता भएपछि तित्याङ गाउँ शोक र सन्नाटामा डुबेको छ ।
परिवारका सदस्य तथा आफन्तहरू उनीहरू सकुशल भेटिने आशामा खोजी तथा उद्धारको प्रतीक्षामा छन् ।
राजेश र प्रमिला कार्यरत जलविद्युत् आयोजनाको क्षेत्रमा पुगेर खोजी गर्न परिवारका सदस्यहरू तीन पटकसम्म प्रयास गरे पनि सफल हुन नसकेको आफन्त विष्णु शर्माले बताउनुभयो । उहाँका अनुसार बिदुरभन्दा माथिसम्म पुगे पनि सम्पर्कविहीन भएको स्थानसम्म स्थलमार्गबाट पुग्न कठिन भएको छ ।
“खोजी कार्यमा ढिलाइ भएको छ, तर अहिलेसम्म आशा मरेको छैन,” शर्माले भन्नुभयो, “उनीहरू जलविद्युत् गृहभित्र रहेको ठूलो भवनमा हुन सक्ने र उक्त भवन सुरक्षित रहेको हुन सक्ने जलविद्युत्का विज्ञहरूले बताएका छन् । हेलिकप्टरबिना सम्पर्कविहीन भएको स्थानमा पुग्न सक्ने अवस्था छैन । सरकारले खोजी तथा उद्धारलाई थप तीव्रता दिनुपर्छ ।”
चार वर्षीय दुई बालबालिकासहित आमाबुबा नै सम्पर्कविहीन भएपछि परिवारमा पीडासँगै बेचैनी बढेको छ । आफन्तहरूले सम्भावित सबै स्थानमा तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिन सरकार र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेका छन् ।
बागलुङका बेपत्ताको विषयमा संघीय संसद्मा समेत ध्यानाकर्षण भएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बेपत्ता परिवारको खोजी तथा उद्धारका लागि केन्द्रमा पहल गरिरहेको बताइएको छ ।
नगरप्रमुख श्रेष्ठले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सम्बन्धित निकायसँग समन्वय गरी इन्जिनियर शर्मा पौडेलको परिवारको खोजीका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
राजेश शर्मा पौडेल आफ्ना आमाबुबा गीता देवी शर्मा र भीमप्रसाद शर्माका चार सन्तानमध्ये कान्छा तथा परिवारका एक्ला छोरा हुनुहुन्थ्यो । परिवारले अझै पनि आफ्ना प्रियजन सकुशल फर्किने आशामा बाटो कुरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्रप्रसाईंका अनुसार भोटेकोशी बाढीमा परी बागलुङका १६ जना अझै सम्पर्कविहीन छन् ।
रसुवाको त्रिशूली हाइड्रोपावर, हाकुवेशीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका नौ जना, ढोरपाटन नगरपालिकाका दुई जना, गलकोट नगरपालिकाका एक जना तथा नुवाकोटस्थित त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका दुई इन्जिनियर र दुई बालबालिका गरी १६ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।
















































































































































































