१४ बैशाख २०८१, शुक्रबार

 

नबिल बैंकले १३ घातक रोगहरुको उपचार बीमा गर्ने

- यस्तो छन् बैंकका शर्त

नबिल बैंकले व्यक्तिगत बचत खाता ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनिसंगको सहकार्यमा ३ लाखको घातक रोग बीमा तथा रु ७५ हजारको मृत्यु लाभ बीमा गरिदिने योजना ल्याएको छ ।

यो योजना मंसिर ९ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि जेनेरल मेनेजर रमेश प्रसाद लोहनी र मेटलाईफ बीमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत रामकुमार यादव बीच सम्झौता भएको थियो ।

१३ प्रकारका घातक रोगको बैंकले बीमा गरि दिने भएको हो । बैंकको यो योजना लागू भएसँगै अब बचतकर्ताले आफ्नो खातामा न्यूनतम २५ हजार रुपैयाँ मात्रै जम्मा गरे बैंकले ल्याएको लाइफ केयर बीमाको लाभ लिन सक्ने नबिल बैंक बागलुङका शाखा प्रबन्धक लूज राजभण्डारीले बताए ।

बैंकको यो योजना अनुसार कुनै पनि नेपालीले पैसा नभएकै कारण अकालमा मर्नु पर्ने छैन उनले भने । यो योजनामा सहभागी हुन चाहानेले नजिकको नविल बैंकमा खाता खोलि २५ हजार जम्मा गरे पुग्छ उनले भने । यो योजनामा सहभागी हुनको लागि १६ वर्षभन्दा माथिको र ६४ वर्ष ननाघेको उमेर समुह हुनु पर्ने बैंकले जनाएको छ ।

यदि कसैले बैंकमा २५ हजार वा सोभन्दा बढि रकम जम्मा गरेको छ भने कारोबार गर्दा त्यो रकम २५ हजारभन्दा तल हुनु हुदैन । यसको अर्थ मौज्जात २५ हजार हुनुपर्छ राजभण्डारीले भने । यदि कुनै ग्राहकलाई बैंकले ल्याएको योजना अनुसार १३ रोग मध्ये कुनै रोग लागेमा उपचार खर्च ३ लाख पाउने र यदि कुनै ग्राहकको उपचारकै क्रममा मृत्यु भए थप ७५ हजार गरी कुल ३ लाख ७५ हजार पाउने उनले बताए । तर कुनै व्यक्तिकाे निधन भएमा उसले ७५ हजार मात्रै पाउने छ ।

यस्ता छन् शर्त

बैंकले दैनिक मौज्दात रु. २५,०००/– वा वढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई Major Cancers, Strokes, First Heart Attack, Serious Coronary Artery Disease, Heart Valve Surgery, Primary Pulmonary Hypertension, End-Stage Lung Disease, End-Stage Liver Failure, Fulminant, Hepatitis, Kidney Failure, Coma, Aplastic Anaemia © Major Organ/Bone Marrow Transplantation Only गरी १३ वटा घातक रोगहरुको उपचारार्थ रु ३००,०००/– को वीमा गरेको छ । उक्त १३ वटा मध्ये कुनै पनि घातक रोग लागेको निवेदन उपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा रु ३००,०००/– को  वीमा रकम तत्काल भुक्तानी हुने यो योजनाको प्रमुखविशेषता रहेको छ । साथै बचतकर्ताको अन्य कारणले निधन भएमा रु ७५,०००/– को वीमांक रकम समेत यो योजनाले सरक्षित गरेकोछ । तसर्थ घातक रोग लागेर निधन भएमा जम्मा वीमा रकम रु. ३७५,०००/– को सुरक्षण हुनेछ ।

बैंकले यस योजना अन्तर्गत मंसिर ८ गतेका दिन रु. २५,०००/– वा वढि मौज्दात रहेका आफ्ना सम्पूर्ण योग्य व्यक्तिगत बचत खाता ग्राहकवर्गको वीमा गरिसकेको छ । यो योजनामा सामेल भईरहन बचतकर्ताले रु. २५,०००/– वा वढि मौज्दात कुनै पनि नेपाली महिनाको शुरुवात देखी मसान्त सम्म कायम राख्नु पर्नेछ ।

साथै रु. २५,०००/– वा वढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनै पनि महिनाको पहिलो कार्य दिनबाट सो महिनाको मसान्तसम्म उक्त मौज्दात कायम राखी योजनामा सामिल हुन सक्ने छ ।
यस्ता ग्राहकहरु  हकमा घातक रोग वीमा र मृत्यू लाभ यो योजनामा सामिल भएको मितिबाट लागु हुनेछ ।

यो योजना लागु भए पश्चात नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, व्यक्तिगत बचत खाता खोली रु २५,०००/– वा बढिको मौज्दात कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ । यसरी नयाँ व्यक्तिगत बचत खाता खोल्ने नयाँ ग्राहकहरुको हकमा माथि उल्ल्खिित १३ वटा घातक रोगहरु खाता खोल्दाको समयमा लागी सकेको अवस्था भएमा यो योजनामा सामिल गरिने छैन ।

खाता खोलेको अर्को महिनादेखि कुनै पनि महिनाको शुरुवात देखी मसान्त सम्म रु २५,०००/– वा बढि मौज्दात कायम राखी यो सुबिधा उपभोग गरी रहन सकिनेछ । यस्ता नया“ ग्राहकहरुको हकमा मृत्यू लाभ वीमा  खाता खोलेकै मितिबाट लागु हुनेछ र  घातक रोगको वीमाको लागी यो योजनामा सामेल भए पश्चात ३० दिनको प्रतिक्षाअवधि समाप्त भएपछि लागु हुनेछ ।

यस योजनामा सामिल हुन व्यक्तिगत बचत खाता ग्राहकहरुको उमेर योजनामा सामिल हुंदाको समयमा १६ वर्ष पूरा भई ६५ वर्ष नपुगेकोे हुनु पर्नेछ । ग्राहक स्वयंले यस्तो वीमा गर्नु पर्दा बढि प्रिमियम भुक्तानी गर्न पर्ने हुन्छ तर बैंकको यस योजनामा सामिल हुंदा वीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ  ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो, “आजभोलि क्यान्सर, लिभर खराबि, ह्दयघात जस्ता घातक रोगहरु दिन प्रतिदिन बढ्दो क्रममा रहेको एवं उपचार अत्यन्त महंगो रहेको अवस्थामा जो कोहीलाई पनि यस्ता घातक रोगहरु लाग्न सक्ने हुंदा बैंकले दुरभाग्यवश आफ्ना कुनै बचतकर्ताहरुलाई यस्ता जटिल रोगहरु लागेको अवस्थामा सो रोगको उपचारार्थ हुन जाने अमूल्य बचतको खर्चमा केही सहयोग पर्याउन आफ्ना ग्राहक महानुभावहरुको हितका लागी रु.३००,०००/– को घातक रोग वीमा योजना तथा रु. ७५,०००/– मृत्यू लाभ वीमा  सुविधा ल्याउन पाउंदा हामीलाई अत्यन्त खुशी लागेको छ ।”

योजना सम्बन्धि विस्तृत जानकारी बैंकको वेभसाइट वा शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । नयाँ प्रविधीको अवलम्वन गरेर नविन वस्तु तथा सेवाको सुरुवात गर्ने काममा नबिल बैंक स“धै अग्रस्थानमा रहेको छ । नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, ११८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्