२० बैशाख २०८१, बिहीबार

 

बागलुङ नगरमा २ विद्यालयमा पढाई स्थगन, ३१ मा तह मिलान

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र सिकाई उपलब्धी बढाउन तह मिलान र अध्यापन स्थगन गर्ने कार्य सुरु गरेको छ ।

नगरका दुई विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक र आधारतूत विद्यालयमा तह मिलानको काम अगाडि बढाएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । नगरपालिकाले विद्यार्थीको अति न्युन संख्या भएको कक्षा १ सम्म अध्यापन हुने बानपा–९ को सरस्वती सामुदायिक र रानीभूमे प्राविमा पठनपाठन स्थगन गरेको छ ।

बानपा-१३ पैयुपाटाको लक्ष्मी नारायण संस्कृत प्रावि र बानपा-१२ अमलाचौरको कालीगण्डकी प्राविको गत वर्ष पठनपाठन स्थगन गरिएको थियो ।

१३ औं नगरसभाबाट शैक्षिक सुधार र विद्यालय व्यवस्थापन गर्ने विषयमा भएको निर्णय, नगर शिक्षा समितिले गरेको अनुसन्धान, सुझाव र नगरपालिकाले दुई वर्ष लगाएर विद्यालयको स्थलगत अनुगमनपछि प्राप्त प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गर्ने काम योजनावद्ध रुपमा अगाडि बढाएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

तह मिलनपछि अब बालविकास केन्द्र संचालन हुने विद्यालयको संख्या ८, बालविकास केन्द्र र कक्षा एक मात्र संचालन हुने विद्यालयहरु ११, कक्षा एक मात्र संचालन हुने विद्यालयको संख्या १, कक्षा एकदेखि तीनसम्म संचालन हुने विद्यालयको संख्या ५, कक्षा एकदेखि चार कक्षासम्म संचालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा एकदेखि ६ कक्षासम्म मात्र संचालन हुने छन् ।

विद्यालय स्थगन र तह मिलानपछि खालि रहेका शिक्षकहरुलाई संम्बन्धित वडाभित्रका रहेका विद्यालयमा व्यवस्थापन गरिने र नजिकै विद्यालय नभएको र भौगोलिक रुपमा घर टाढा भएका बालबालिकाको हकमा आवश्यक व्यवस्था गरिने श्रेष्ठको भनाई थियो ।

विद्यालय स्थगन भई विद्यार्थीहरु जाने विद्यालयको लागि बढीमा २ लाख र तह मिलान हुने विद्यालयहरुलाई प्रतिकक्षा बढीमा २५ हजारको दरले एक पटकको लागि अनुदान दिइने छ । संघीय सरकारले विद्यार्थीले दिवा खाजा वापत १५ रुपैयाँ पाइरहेको र सो रकम साह्रै नपुग भएकोले प्रति विद्यार्थी ५ रुपैयाँका दरले थप अनुदान नगरले दिनेछ ।

यो अभियानले विद्यालयमा शैक्षिक सुधार हुने, गुणस्तर वृद्धि हुने, सिकाई उपलब्धी बढ्नुको साथै परीक्षाको नतिजा पनि सकरात्मक आउने र सामुदायिक विद्यालयले पनि संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्ने नगरप्रमुख श्रेष्ठले दाबी गरे ।

नगरभित्रको सबै विद्यालयको अवस्था अध्ययन गरेर नगरपालिकाले शैक्षिक सुधारसहितको पढाई स्थगन र तह मिलानको कार्यक्रम ल्याएको र यस्ले राम्रो सन्देश जाने नगर उपप्रमुख राजु खड्काले बताउनु भयो ।

स्थगन भई खाली हुने विद्यालयका भवनहरुलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्रावास, पुस्तकालय, सामुदायिक सिकाई केन्द्र, सामुदायिक भवन र महिला समूहको भवनको रुपमा प्रयोगमा ल्याउने नगरपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्