बागलुङ । बागलुङ नगरपालिकाले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने भएको छ ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठल बाढीका कारण रसुवा, सिन्धुपाल्चोक, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेकाप्रति सहानुभूति प्रकट गर्दै सहयोग गर्ने निर्णय गरिएको बताउनभुयो ।
नगरपालिकाले बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
साथै बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्ने निर्णय गरिएको श्रेष्ठले बताउनभुयो ।
उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आफ्नोतर्फबाट सम्भव सहयोग, समन्वय र ऐक्यबद्धता कायम गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।
















































































































































































