२३ भाद्र २०८३, मंगलवार

 

पहिरोले निसीखोलाका १२ घर विस्थापित, आफन्तकोमा आश्रय

बागलुङ। जिल्लाको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोका कारण १२ परिवार विस्थापित भएका छन् । उनिहरु पहिरोका कारण घरबास जोखिममा परेपछि विस्थापित भएर आफन्तकोमा आश्रय लिएका छन् ।

वडा नम्बर ४ चिनारे र वडा नम्बर ५ चेल्बाङका पहिरो प्रभावित १२ घरपरिवारलाइ सुरक्षित स्थानमा सारिएको छ भने आइतबार गाउँपालिकाले राहत समेत प्रदान गरेको छ । गाउँपालिकाले त्रिपाल तथा खाद्यान्नअन्तर्गत चामल वितरण गरेको हो ।

वर्षायाममा उक्त क्षेत्रमा मोटरबाटो भासिएर पहिरो जानुका साथै कालोपहिराको ठाडो खोलाबाट आउने लेदो तथा बाढीका कारण जोखिममा परेपछि प्रभावित परिवारहरू आफ्नो घर छाडेर आफन्तजनको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।

बाढीपहिरोका कारण घरबास नै जोखिममा परेपछि विस्थापित हुनुपरेको पीडित परिवारले दुखेसो पोखेका छन् । पहिरोका कारण भूमिराज कँडेल, भानिश्वर कँडेल, शशिधर कँडेल, लाली कँडेल, तुलसिराम कँडेल, लिला बहादुर कँडेल, रमिलाल कँडेल, पूर्णलाल कँडेल, ज्ञानबहादुर कँडेल र पुनलाल भुसाल लगायतका १२ घर उच्च जोखिममा रहेका छन् ।

अविरल वर्षापछि बस्तीभन्दा तलतर्फबाट निरन्तर पहिरो खसिरहेको छ । स्थानीयका घर तथा आसपासको जमिन भासिने र चर्किने गरेकाले गाउँ छोड्नुपर्ने बाध्यता रहेको स्थानीय भूमिराज कँडेलले बताउनुभयो ।

“गाउँमुनीबाट निरन्तर पहिरो खसेको छ, पानी नपर्दा त घरमै बसिन्त, पानी पर्दासाथ बस्ती छोड्नुपर्ने अवस्था छ” कँडेलले भन्नुभयो “पहिरोका कारण आगन र पाली चर्किएपछि अब घरमा बस्ने अवस्था छैन, छिमेकीकोमा आश्रय लिएका छौं ।”

निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीका अनुसार लगातारको वर्षाका कारण पहिरो जाने क्रम बढ्दै गएको र खोलाबाट आउने लेदो तथा बाढीले थप जोखिम निम्त्याएको छ ।

पहिरो प्रभावित परिवारलाई राहत वितरण गर्न निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष प्रेमबहादुर घर्ती, वडा नं. ४ का वडाध्यक्ष टिकानिधि पौडेल, वडा नं. ५ का वडाध्यक्ष हर्कमान घर्ती लगायत गाउँपालिकाको टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।

टोलीले पीडित परिवारलाई अस्थायी बसोबासकोलागि त्रिपाल र चामलसहितका राहत सामग्री हस्तान्तरण गरेको हो । विपद्को समयमा प्रभावित परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले गाउँपालिकाको तर्फबाट राहत सामग्री वितरण गरिएको उपाध्यक्ष प्रेमबहादुर घर्तीले बताउनुभयो ।

घरबास छाडेर आफन्तको घरमा आश्रय लिन बाध्य भएका पीडित परिवारले गाउँपालिकाबाट प्राप्त सहयोगले तत्कालका लागि केही राहत मिलेको बताएका छन् । तर, बस्तीमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले सुरक्षित स्थानमा व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने पहिरोपीडित पुर्णलाल कँडेलले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung