२४ बैशाख २०८१, सोमबार

 

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

गण्डकी । कास्कीको पोखरा महानगरपालिका-२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ ।

ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य जाँच, उपचार र परामर्श प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।

हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार कार्यक्रम कार्यान्वयनका लागि अहिले घरधुरी सर्वेक्षणको काम भइरहेको छ ।

ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

“विशेष गरि नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, औषधि नियमित खाएरनखाएको अनुगमन गर्ने काम हुन्छ प्रमुख सुवेदीले भन्नुभयो,  सरकारले सूचिकृत गरेका औषधि निस्शुल्क वितरण गर्छौँ ।

”उहाँले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रर्वद्घनका कार्यक्रम पनि सँगसँगै गरिने बताउनुभयो ।

सर्वेक्षणका क्रममा पहिचान भएका उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिने उहाँको भनाइ ।

“स्वास्थ्यकर्मीले उहाँहरूको नियमित स्वास्थ्य अनुगमन गर्नुहुन्छ”  प्रमुख सुवेदीले भन्नुभयो, अस्पताल जानुपर्ने अवस्था भए सोही अनुसारको सल्लाह र परामर्श दिने काम हुन्छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा यो कार्यक्रम अगाडि बढेको हो । वडाध्यक्ष मोती तिम्सिनाले महानगरकै नमुना कार्यक्रमका रूपमा वडा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

“समुदायस्तरमा स्वास्थ्य सचेतना वृद्धि गर्ने उद्देश्य लिइएको छ” उहाँले भन्नुभयो “पूर्ण खोप अभियान पनि सँगसँगै सञ्चालन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्