२६ बैशाख २०८१, बुधबार

 

आर्थिक रुपमा सवल भएमात्र नारी सशक्तिकरण संभव

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा महिला सशक्तिकरण र समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै महिला आर्थिक र रुपमा सवल भएमात्र महिला  सशक्तिकरण आन्दोलदन अघि बढ्ने बताईन् । सहकारी विकासका लागि  जग्गा एकिकरण गरेर सामुहिक खेती गर्न सहकारीले भूमिका खेल्नु पर्ने उनको धारणा छ ।

उनले भनिन्‘ओल्लो, पल्लो, तल्लो सबै जग्गा एकिकरण गरेर सामुहिक खेती गर्न सहकारीले भूमिका खेल्नुपर्छ । सहुलियत, औजार र अनुदान दिने काम राज्यले गर्छ ।’अहिले अनुदानका कार्यक्रमबाट आफु समेत सन्तुष्ट नभएको बताईन् ।‘अहिले त अनुदान सबैले ठेकेदार, जानेका बुझेकाले मात्र लैजान्छन् । त्यो सबै राेकिनु पर्छ । ’ उनले भनिन् – सहकारी मार्फत महिला सशक्तिकरण अभियानमा लाग्नुपर्छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले महासंघले वार्षिक कार्यतालिका बनाएर नै महिला सशक्तिकरणका लागि तालिम र गोष्ठी गर्दै आएको जानकारी दिए । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले संविधान महिला मैत्री रहेको र यसमा लेखिएको कुरा कार्यान्वयनमा जोड दिईन् । उनले कानुन ऐन बनेर मात्र नहुने यसलाई व्यवहारमा ल्याउनुपर्ने बताए । राष्ट्रिय सहकारी महासंघका संचालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी संस्था आफैमा असल अभ्यासका कार्यस्थल भएको बताउँदै सात सिद्धान्तलाई अक्षरस पालना गरेको खण्डमा अनुगमन गरिरहनु नपर्ने बताइन् । सो कार्यक्रमको अध्यक्षता समेत गरेकी कोइरालाले महिला पुरुष सबै क्षेत्रमा बराबरी हुनुपर्ने बताउँदै, आसन, शासन र भाषणमा समानता हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक टिका बुढाथोकीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारिन् । नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिला दाहालले यस्ता कार्यक्रमले महिला सशक्तिकरण र समावेशितामा बल पुग्ने धारणा राखिन् । दुई दिनसम्म चल्ने सो गोष्ठीमा देशभरिका जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला सहकारी संघ र विषयगत केन्द्रिय सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकका महिला संचालक एवं प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

राष्ट्रिय सहकारी महासंघ लि. नेपालकी कामु महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले महिला सशक्तिकरण तथा समावेशितामा राष्ट्रिय सहकारी महासंघ विषयक कार्यपत्र प्रस्तुत गरिन् । नेपालको सहकारीमा ५० दशमलब ९६ प्रतिशत महिला सहभागिता रहेको छ । ६३ लाख ५ हजार ५ सय ८१ सदस्यमध्ये महिलाको सख्या ३२ लाख १३ हजार ५ सय १४ रहेको छ । सहकारीमा कुल कर्मचारीमध्ये ४७ दशमलब ९९ प्रतिशत महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्