१४ बैशाख २०८१, शुक्रबार

 

सगरमाथाको उचाई नाप्न बागलुङका कार्कीसहितको टोली प्रस्थान

काठमाडौं । सगरमाथाको उचाई नाप्न बागलुङका रबिन कार्कीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । उचाई नाप्न सगरमाथातर्फ जान लागेको टोलीलाई प्रधानमन्त्री केपी ओलीले बुधबार बिदाई गरेका छन् । टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा समारोहका साथ माला लगाएर बिदाई गरिएको छ । टोली सगरमाथाको उचाई नाप्न अत्याधुनिक उपकरणसहित त्यसतर्फ प्रस्थान गरेका छ ।

टोलीलाई बिदाइ गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी सर्भेयर प्राविधिक टोलीले मापन गरेको सगरमाथाको आधिकारिक उचाई बताएका छन् । ‘सगरमाथाको उचाई विदेशका विभिन्न टोलीले विभिन्न पटक मापन गरे, त्यसरी नाप्दा उचाईसमेत फरक–फरक समेत आयो’ ओलीले भने, ‘उचाई नाप्न अब नेपाली टोली खटेको छ ,अब उप्रान्त यही टोलीले नापेको उचाई नै आधिकारिक मानिनेछ ।’

सगरमाथा मापन गर्ने सर्भेयर टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । त्यसैगरी सर्भेयर टोलीलाई सघाउन छिरिङ जाङवु शेर्पा र पेमा हिमा शेर्पासहित ६ जनाको पवर्तारोही प्राविधिक टोली पनि परिचालन गरिएको छ । टोलीले ५० दिनमा सगरमाथाको उचाई मापन गर्ने र तथ्याङ्क विश्लेषण गर्न १० दिन लाग्ने बताएको छ ।

सगरमाथाको उचाई यसअघि ५ पटक मापन गरिएको थियो । भारतले सन् १८४९ र सन् १९५४ मा उचाई मापन गरेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर कायम गरिएको थियो । त्यसैगरी चीनले २ पटक र इटालीले १ पटक सगरमाथाको उचाई मापन गरेको थियो ।

पछिल्लो पटक सन् २००५ मा अमेरिकाले गरेको मापनले सगरमाथाको उचाई बढेर ८ हजार ८ सय ५० मिटर पुगेको बताएको थियो । २०७२ को भूकम्पपछि सगरमाथाको उचाई घटेको निराधार हल्ला चलेपछि भारतले पुन मापन गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि नेपाल अाफैले उचाइ नाप्न लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्