१९ बैशाख २०८१, बुधबार

 

यसपटक गुजरातमा भाजपाको एकल अधिपत्य तोडिँदैे

दाँया तर्फ कांग्रेसका सिजे चावडा र बाँया तर्फ भाजपाका अमित शाह

सञ्जय पन्थी

भारत । जारी १७ औं लोकसभाको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भाजपा वर्चश्व कायम रहेपनि एकल वर्चश्व तोडिने संभावना छ । मोदीको दिल्ली आगमनसँगै गुजरातमा भाजपाले आफ्नो यस अघिको रेर्कडबाट विमुख हुनुपर्ने संभावना बढेर गएको छ ।
२६ निर्वाचन क्षेत्र रहेको गुजरातमा यसअघि दुई पटकसम्म २६ मा २६ सिट नै भाजपाले हात पार्दै आएको थियो । तर यस पटक कांग्रेसले उक्त निरन्तरतालाई क्रमभंगता गर्दै केही सिट हात पार्नसक्ने सर्वेक्षणले देखाएका छन् ।
गुजरात प्रधानमनत्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहको गृहराज्य हो । ७ चरणको तालिका रहेको निर्वाचनमा गुजरातका मतदाताले २३ अप्रिलमा मतदान गर्दैछन् । करिब १४ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेर ०१४ मा प्रधानमन्त्री सम्हाल्न आइपुगेका नरेन्द्र मोदीको गृहराज्य भएपनि यस पटक उनी गुजरातबाट उम्मेदवार बनेका छैनन् । मोदी बनारसबाट उम्मेदवार बनेका छन् । पार्टी अध्यक्ष अमित शाह गुजरातको गांधीनगरबाट उम्मेदवार बनेका छन् । गांधीनगर आफैमा भाजपाका लागि ऐतिहासिक महत्वको स्थान हो । संस्थापक नेता स्व. अटल विहारी वाजपेयी देखि लिएर लालकृष्ण आडवाणीसम्म निर्वाचित क्षेत्र हो । अघिल्लो पटकसम्म आडवाणी यहीबाट निर्वाचित भएका थिए । यस पटक त्यही निर्वाचन क्षेत्रबाट भाजपा अध्यक्ष प्रत्याशी बनेका छन् ।

उनका प्रतिस्पार्धी रहेका छन् कांग्रेसका सिजे चावडा । विगतको मतदाताको परिणामलाई नियाल्ने हो भने अघिल्लो निर्वाचनमा उक्त क्षेत्रमा करिब ८ लाख मतान्तरले भाजपाले जितेको थियो । त्यसैलेपनि शाहका लागि उक्त स्थान सुरक्षित जस्तै भएको छ । शाह देशव्यापी दौडाहमा छन् भने स्थानीय कार्यकर्ताले उनका लागि भोट मागिरहेका छन् । शाहका विश्वास पात्र अधिवक्ता राजिव ठाकुरले भने ‘वहाँजस्तो ठुलो नेतालाई मतदान गर्न यहाँका मतदाता आतुर छन् ।’ गुजरातमा यस पटक पनि भाजपाको वर्चश्व रहने उनले बताए ।
अघिल्लो पटक करिब १० लाख मतमा ७ लाख भन्दा अधिक मतले आडवाणी गांधीनगरबाट विजय भएका थिए । यस पटक शाह पनि भारी मतान्तरले विजयी बन्ने ठाकुरको दाबी छ । उनका प्रतिष्पर्धी रहेका चावडा स्थानीय व्यक्ति हुन् तर शाहको सामुन्ने उनी निरिह देखिएका छन् ।

त्यसो त शाह लगायतका भाजपा नेताका लागि गुजरात सुरक्षित निर्वाचन क्षेत्र रहेपनि भाजपा केही उमेद्धवार गुजरातबाट विमुख हुने पक्का छ । २६ निर्वाचन क्षेत्र रहेको गुजरातमा यसअघि २ पटकसम्म लोकसभा निर्वाचनमा सबै सिट भाजपाले स्विप गर्दै आएको थियो ।
तर यस पटक ५ देखि ८ सिट कांग्रेसका पक्षपा जाने सर्वेक्षणले देखाएका छन् । त्यसो त गुजरात सोनियकाका सल्लाहकार अहमद पटेल,शंकरसिंह बघेला, भरतसिंह सोलंकी लगायतका वर्तमान कांग्रेस नेताको गृहराज्य पनि हो ।
यसपटक उल्लेखित नामका कांग्रेस हस्तीहरुले निर्वाचन जित्ने संभावना देखिएको छ । त्यसैगरी कांग्रेस प्रदेश अध्यक्ष्ँ परेश धनानीको पनि चुनाव सर्वेक्षणको जित्ने सुचीमा परेका छन् । निर्वाचन सर्वेक्षणले कांग्रेसका पक्षमा केही सिट जाने देखाएको स्थानीय पत्रकार संदीप पटेलले बताए । यसपटक कांग्रेसले गुजरातमा खाता खोल्ने पक्का छ । गतवर्ष समपन्न विधान सभा निर्वाचनले त्यो संभावना देखाएको उनले बताए ।

भाजपाले झिनो सिट अन्तरले मात्र गुजरात विधानसभाको निर्वाचन जितेको थियो । विान सभामा १सय ८५ सिट रहेकोमा भाजपाले ९९ सिट जितेको थियो । त्यसअघिका निर्वाचनमा १ सय ३० सिटसम्म ल्याएर जितेको भाजपाले गतवर्ष समपन्न निर्वाचनमा ९९मा झर्नु घट्दो लोकप्रियताको मापन रहेको पटेलको तर्क छ । हार्दिक पटेल र जिग्नेश अमानी जस्ता उदीयमान युवा नेताको आन्दोलनका कारण यसपटक भाजपालाई निर्वाचनमा धक्का लाग्दैछ । पाटिदार पटेल आन्दोलनमा विद्रोही युवा हार्दिक केही समय अघिमात्र कांग्रेसमा प्रवेश गरेपछि गुजरात कांग्रेसलाई केही राहत महशुस भएको छ । त्यसैले यस पटक भाजपाले एकल अधिपत्य गुमाउन सक्ने गुजराती च्यानलका स्थानीय पत्रकार किशोर उपाध्यायले जानकारी गराए । उनले भने ‘गुजरातबाट भाजपाको अधिपत्य तोडिदै छ ।’ करिब ३ करोड ७० लाख मतदाता रहको गुजरात भारतको राजनीतिमा महत्व राख्ने राज्य हो । गान्धी गुजरात कै हुन् । सरदार वल्लभभाइ पटेल र पूर्व प्रधानमन्त्री मोरजी देसाई पनि यहीका राजनैतिक हस्तीका रुपमा भारतमा दर्ज छन् । गुजरातको निर्वाचनमा भाजपा र कांग्रेको मुख्य प्रतिष्पर्धा छ । अरुदलको सामान्य उपस्थिती छ ।

प्रतिक्रिया दिनुहोस्