१४ बैशाख २०८१, शुक्रबार

 

यस कारण अन्य देशभन्दा नेपालको फोन कल महंगो !

काठमाडौं । नेपालमा सञ्चालित दूरसञ्चार सेवा प्रदायकहरुले अन्य देशकोभन्दा अत्याधिक नाफा लिएको पाइएको छ । शुक्रबार महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरको ५६ औं प्रतिवेदनमा नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीहरुले सञ्चालन मुनाफा ६२ प्रतिशतसम्म लिएको पाएको छ । छिमेकी देश भारतमा सञ्चालन मू्नाफा ३१ प्रतिशतसम्म हुने गरेको छ तर नेपालका एनसेलले ६२ प्रतिशत र नेपाल टेलिकमले ५८ प्रतिशत सञ्चालन मूनाफा कमाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको ५६औं प्रतिवेदन अनुसार अमेरिकामा एक टेलिफोन सेवा प्रदायकको नाफा ३० र अर्कोको ३८ प्रतिशत रहेको छ ।

त्यस्तै बेलायतमा ३१ प्रतिशत नाफा, युरोपमा ३१ प्रतिशत र जर्मनीमा २४ प्रतिशत नाफा रहेको छ । अन्य देशको दुरसञ्चार नाफा २४ देखि ३७ प्रतिशत रहेकोमा नेपालमा ५८ देखि ६२ प्रतिशत हुनु अत्याधिक रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विश्वभर दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा २४ देखि ३७।८ प्रतिशतसम्म रहेकोमा नेपालका सेवाप्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेका कारण नेपालमा फोन कल महगो भएको महालेखापरिक्ष टंकमणी दंगाल शर्माले बताए ।

यस्ता सेवा प्रदायकको मूल्य निर्धारणको आधारबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा निरन्तर अनुगमन गरी गुणस्तर र मूल्य नियमन गर्न उक्त प्रतिवेदनमा सुझाव दिइएको छ । त्यस्तै दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराइरहेको सेवा र लिइरहेको शुल्कको बारेमा छानविन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई महालेखापरिक्षकको कार्यालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्