१४ बैशाख २०८१, शुक्रबार

 

अप्रत्याशित भोगाइका नालीबेली

महेशचन्द्र प्रधान

विश्व मानचित्रको पूर्वी क्षितिजमा हुर्केका हामी नेपाली र पश्चिमी क्षितिजका बासिन्दाका बीच पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र सभ्यताका दृष्टिले बिलकुल भिन्नता रहेको छ । संयुक्त परिवार प्रणालीमा रमाएका हामी आज केही एकात्मक परिवार प्रणालीतर्फ उन्मुख हुँदै नगएका पनि होइनौं; तथापि अद्यापितक हाम्रो पारिवारिक सम्बन्ध, सामाजिक वातावरण आत्मीयतापूर्ण रही आएको छ । यसैमा हामी गर्व पनि गर्दछौं । हामी हाम्रा वृद्ध हजुरबुबा, हजुरआमा, माता पिता, दाजुभाइ, दिदीबहिनी, तथा हाम्रा अबोध लालाबालाप्रति निःसन्देह बढी संवेदनशील छौं, यो पश्चिमी सभ्यता र संस्कृतिमा शायदै होला ।

यसै सन्दर्भमा सन् २०१७ को नोभेम्बर महिनामा जीवनसङ्गिनीदाता पिताजीसँग फोनमा भिडियो च्याट हुँदा ‘घरको पूजा गर्ने हो, दिल्ली आउनुपर्छ ज्वाइँ’ भन्नुभएको थियो। उहाँका हामी दुवै ज्वाइँ र छोरीहरु सर्भिसहोल्डर भएकाले घरको पूजाको बेला हामी कोही जान सकेनौं । बुबाले हाम्रो अनुकूलता मिलाएर सक्दो छिटो दिल्ली आउन जोड गर्नुभयो। बुबाको यो प्रस्तावलाई सम्बोधन गर्नेसम्बन्धमा हामी आपसमा योजना बनाउन थाल्यौंं ।

सुरेन्द्रजी एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामा कार्यरत हुनुहुन्छ भने जयश्री र हामी दुईजना संस्थागत विद्यालयमा । पुस महिनाको अन्तिम हप्ता हामी सबैका लागि अनुकूल होला जस्तो देखियो । सुरेन्द्रजीलाई पनि समय मिलाउन जोड गरेँ । छुट्टी मिल्न गा¥हो थियो तथापि सँगै ससुराल जानुपर्ने अवस्थाबारे आफ्नो बोसलाई अनुरोध गर्दा उहाँका विवेकशील बोसबाट सकारात्मक जवाफ मिल्यो ।

जाडोको बेला ट्रेनमा बर्थ रिजर्भ गरी यात्रा गर्न पाए सुविधाजनक हुन्थ्यो तर, जाडोको समयमा हुस्सुले गर्दा बाटो अथवा रेलका लिकहरु नदेखिई ट्रेनहरु निकै ढिला हुन जाने गोता खेप्नुपरेको तीखो प्रतिक्रिया मेरा सहपाठी रमेशकुमार राजभण्डारीले केही दिनअघि मात्र त्यतातिरको सफर गरेर फर्कँदाको अनुभव मसँग साटासाट गर्दै बरु सीधा बसबाट गए हुन्छ, २६/२७ घण्टामै पुगिन्छ क्यारे भन्ने सुझाब दिए । ट्रेनबाट भन्दा बसबाट छिटो पुग्न सकिने कुराले दुबै भाइ आकर्षित भयौँ ।

तर हर क्षेत्रका भनाइ र गराइ फरक पर्छ नै भन्ने दृष्टिकोणबाट बढी समय लाग्न सक्ने आँकलन गरी जाडोको मौसम भएकाले न्यानोपनका लागि एसी बसको ४ वटा सीट सोमबारका लागि बुक गरेँ । दिल्लीबाट फर्किँदा प्लेनबाट काठमाडौं उत्रने र त्यताबाटै यता बागलुङ प्रत्यागमन गर्ने सल्लाह भएपछि सुरेन्द्रजीले प्लेन टिकेटको व्यवस्था गर्नुभयो ।

सुरेन्द्रजीहरु आइतबार बेलुकी बागलुङ आइपुग्नुभयो । बागलुङमा ३/४ पटक आइसक्नुभएका सुरेन्द्रजीसँग बसेर रम्ने अवसर जुरेको थिएन। यसपालि त्यो रहरलाई केही हदसम्म मत्थर पार्ने प्रयास भयो । सोमबार सामान्य प्याकिङ–वाय्किङ सकेपछि बिहान ८ः३० तिर घरअगाडि जीप आइपुग्यो । कोरला नाकासँग जोडिने बागलुङ–पोखरा सडक खण्डलाई विस्तृत र स्तरीकृत गर्ने काम भइरहेको हुँदा करिब १ घण्टाको फराकिलो समय रहने गरी जीप लिन आएको थियो । करिब ८ः४० मा ग¥हौँ मनका साथ नातिनी आर्या र छोराबुहारीसँग विदावादी भई बागलुङबाट रवाना भयौं ।

हरेक व्यक्तिको आ–आफ्नै इच्छा र आकाङ्क्षा । पोखरा पुगी दिल्ली जाने एसी बसको हाम्रो सीटमा बस्दै गर्दा एकछिनपछि दुईजना युवायुवती एकजना आफन्त महिलालाई विदाइ गर्न भनी गाडीभित्र छिरे । ती महिलालाई सीटमा बसालेपछि दुबैले नाक खुम्चाए । ‘गाडीभित्र कस्तो गन्ध आएको हँ ?’ भन्दै गाडी स्टाफको खोजी गरी फ्रेशनर प्रयोग गर्न सुझाए । हामीलाई पनि गाडीभित्र केही असमञ्जस अनुभव नभएको होइन, तर भनूँ कसरी भन्ने भइरहेको थियो । वास्तवमा लामो दूरीको यात्रामा चलाइने गाडी यात्रुमैत्री हुनैपर्दछ । गाडीको बनावट, गाडीभित्रको वातावरणले हरेक यात्रुलाई सकारात्मक प्रभाव पार्नु नितान्त जरुरी छ ।

त्यसमा पनि एसी बसहरुमा समयअनुसार कहिले एसी त कहिले हिटर प्रयोग गर्ने हुँदा भित्रको वातावरण उकुसमुकुसपूर्ण भई वान्ता नहुनेलाई पनि वान्ता आउला आउला जस्तो हुने रहेछ – यो मैले पहिलो पटक यस्तो बसको यात्रा गर्दा पाएको अनुभव हो । गाडी छुट्ने बेला गाडी स्टाफले धूप बाले । थाहा भएन उनले ‘मङ्गलम् भगवान विष्णु मङ्गलम् गरुडध्वजः …. …..’ भनी मङ्गलमय यात्राका लागि शुभ साइतको मङ्गलोच्चारण गरेका हुन् वा धूपलाई फ्रेशनरका रुपमा प्रयोग गर्न, जे होस् उनले एक मटेङ्ग्राले दुई शिकार गर्न खोजेको भान भयो मलाई ।

करिब ३ घण्टामा गाडी चालकले एक्लेफाँट पुग्ने बेलामा केही होटेलको अगाडि गाडी रोक्न के खोजेका थिए सहयोगीले रिमोट कन्ट्रोल दबाए, ‘एक्लो होटेल भएको ठाउँमा रोकौँ हो दाइ ! यस्तो ठाउँमा रोक्दा हामी एउटामा बस्ने खाने, हाम्रा यात्रुहरु अन्तै जाने गरे भने होटेल मालिक गा¥हो मान्छ त हौ !’ मलाई बडो हाँसो उठ्यो हाम्रो दरिद्रतापूर्ण मानसिकतामाथि । मलाई एउटा चर्चाको चस्कोले अभिभूत तुल्यायो कि नेपालमा हरेक क्षेत्रमा कमिसनतन्त्रको राज छ – चाहे त्यो मालसामान खरिद बिक्रीमा होस् वा ठेक्कापट्टा वा भन्सार वा कुनै किसिमको नियुक्ति वा सिफारिस वा लाइसेन्स वा यात्राका समयमा टिकट खरिद गर्ने र खाना खाजा खाने ठाउँ आदि।

यहाँ सर्वसाधारणको स्वास्थ्य र भलाइभन्दा व्यक्तिविशेषको व्यक्तिगत लाभ वा फाइदा महत्वपूर्ण भइदिँदा हाम्रा मूल्य, मान्यता, मर्म, नैतिकता सबै भनाइमा मात्र सीमित हुन पुगेका छन् । अचेल हाम्रो व्यवहार डामाडोल बन्दो छ । जे होस् करिब ३ बजेतिर केही पर एक्लेफाँट – नामै काफी छ, हैन त ? – को एक्लो होटलअगाडि गाडी रोकियो । कोही मासु चिउरा, कोही चनाको तरकारी, अण्डा, कोही चाउमिनलगायतका खाजामा व्यस्त रहे । हामी भने चिया मात्र खाने विचारमा थियौं, तर गाडी कहिले कहाँ कस्तो ठाउँमा लगेर रोकिने हो ? त्यो भन्न नसकिने ठानी चियाका साथमा प्याज र बन्दा गोभीको पकोडामा डुबुल्की मा¥यौँ ।

२०/२५ मिनेटमै गाडी मस्र्याङ्दी र त्रिशुलीको सङ्गमस्थल फिसलिङ पुग्दा सुरेन्द्रजीले त्यहाँ बेलाबखत माछासँग पौडी खेल्ने गरेको यात्रा अनुभूति स्मरण गराउनु भयो । गाडी आफ्नै गतिमा गुडिरहेछ । मुग्लिङ काटिएपछि गाडीको गतिमा अनायासै ब्रेक लगाउनुपर्ने बाध्यकारी अवस्थाको स्मरणले हामीलाई चिन्तित तुल्यायो । मुग्लिङ–नारायणगढ खण्डको सडकमा समय–समयमा आउने गरेको अवरोधलाई निमिट्यान्न पार्न स्तरीकरण कार्य भइरहेछ । तर यसपालि गतः महिनाजस्तो त्यति सा¥हो घिचिक–घिचिकको सास्ती झेल्नु परेन, यथासमयमै नारायणगढ पुग्यौं, मनमनै सडक मर्मतकर्मीलाई साधुवाद टक्र्याएँ।

रातको १०ः०० बजेतिर बुटवलनजिकको भुमहीमा अवस्थित एउटा होटेलमा रातिको खाना लियौं । खानाले सबैलाई लठ्ठ्याएछ क्यारे, गाडीभित्र सन्नाटा छायो । एक्कासी चिसापानी पुग्नुअघिको एउटा चेकपोष्टनिरको सानो घटनाले हामी सबैलाई बिउँझायो । चकमन्न रातको यात्रामा जङ्गलबीचको घटनाले हामी सबैमा अनौठो घबडाहट छायो । जाडोको मौसम । साँझदेखि नै बाटोभरि प्रकृतिदेवीले हामीसँग साउती गरिरहेको अनुभूति भइरहेछ, ‘हे यात्रुवर्ग ! तिमी पनि मसँग रमाएर बस न यो हुस्सुमा ! तिमी त केवल कठ्याङ्ग्रिँदो जाडो भन्न जानेका छौ, एकछिन बस्नुपर्दा । म भने दिनभर, रातभर यसरी नै कठ्याङ्ग्रिइरहेछु, खोई मेरो वेदना बुझिदिएको ?’ कुरा त बिलकुल सही हो ।

हामी सोचिरहेका थियौं – हुस्सुकी जन्मदाता प्रकृतिदेवीले नै हाम्रो बाटो रोक्ने काम गरिरहेछिन् । प्रकृतिदेवीको यो मायालु साउतीसँग मितेरी गाँस्न समयले साथ दिएको थिएन । हामी सबै यात्रुहरु आ–आफ्नो व्यस्तताका शिकार थियौं – यथा समयमा गन्तव्यमा नपुगी नहुने बाध्यता थियो । त्यसैले दुःखका साथ प्रकृतिदेवीको यो आग्रहलाई लत्याउँदै अगाडि बढ्ने धृष्टता गर्नु परेको थियो; तर यसैबीच एउटा मोटरबाइक हाम्रो गाडीसँग जुध्न आएको आशङ्का गाडी चालकलाई पर्न गयो ।

मलाई भने प्रकृतिदेवी तिनको अनुरोध नसुनेकाले हामीसँग टकराउने गरी बाइकचालक पठाएको आभाष भयो । तर हाम्रा गुरुजीको होशियारीका कारण बाइकचालक सुरक्षित रहे तथापि हुस्सुका बीच गाडीले चेकपोष्टको सुरक्षार्थ राखिएको ड्रमलाई चुम्बन गर्दै अगाडि बढेको हुँदा कतै बाइकसँग ठोक्किन पुग्यो कि भन्ने भ्रम पर्न गएको रहेछ । हामी सबै अब कति समयसम्म यो झमेलामा फँस्नुपर्ने हो भन्ने आशङ्काको बादलभित्र रुमल्लिन पुग्यौं । तर गाडी चालकको भ्रम भ्रममै सीमित भइदिँदा त्यस्तो समस्या आएन ।

दोस्रो दिन बिहान करिब ५ः०० बजे हामी आफुलाई चिसापानी पुगेको पाउँछौं । केही बेरमा हामी बर्दियाको शुक्लाफाँटा वन्यजन्तु आरक्षस्थल पुग्यौं । नेपाली सेनाद्वारा संरक्षित यो आरक्षमा गैंडा, हात्ती, बाघ, भालु, मृग, बनेल आदि विभिन्न जाति र प्रजातिका जङ्गली जनावरहरु र चरा–चुरुङ्गीहरु पाइन्छन् । यसको अवलोकनका लागि देश विदेशका पर्यटकहरु आउने गर्दछन् । गाडी चालक केही हतारमा देखिन्थे, किनकि यो खण्डमा निश्चित समयमा मात्र गाडीलाई प्रवेश गर्ने छुट हुँदो रहेछ । हरदम गाडी गुड्दा जनावरहरु भयभीत हुने, चोरी शिकारी हुन सक्ने भन्ने आशयले यो व्यवस्था गरिएको सुनियो । तर के चोरी शिकारी थामिएको छ त ? स्थानीय जनता र अधिकारकर्मी तथा दर्शनार्थीहरुबाट यस किसिमको प्रश्न बेलाबखत तेर्सिने गरेको छ । जे होस्, हामी आफ्नो गन्तव्यका लागि सो आरक्ष स्थल उपयुक्त समयमा पार गरी बिहान करिब ९ः३० बजे महेन्द्रनगर पदार्पण गर्न पुग्यौं ।

महेन्द्रनगरको गड्ढाचौकी पुगेपछि नेपाली चेकपोष्टमा सामान र परिचय पत्र देखाउने औपचारिकताको काम भयो । कोही कसैले नेपाली चेलीबेटीको बेचविखनको कुत्सीत प्रयास गरेको त छैन भनी अप्रत्यक्ष रुपमा महिला अधिकारकर्मीहरुले चेकजाँच गरेको आभाष भयो । नेपाली चेकपोष्टको करिब १००/१५० मिटरको दुरीमा भारतीय चेकपोष्ट बनाइएको रहेछ, हाम्रो गाडी रोकियो । गाडी स्टाफले ‘ल, डिक्कीमा सामान हुनेले आ–आफ्नो सामान चेकजाँच गराउन आउनोस्, अशक्त र जेष्ठ नागरिकबाहेक अरु पैदल हिँडेर पुल पार गर्नोस् । गाडी आएपछि पुलपारिबाट चढ्नुहोला’ भन्ने निर्देशन दिए ।

सामान चेकजाँचका लागि खटिएका भारतीय चेकपोष्टका दुईजना कर्मचारीमध्ये एकजना केही बुज्रुक र सहज लाग्दथे भने अर्का मुखभरि पान चपाउँदै यत्रतत्र पिच्च पार्दै ‘यो ब्याग खोल, यो देखाऊ’, ‘त्यो देखाऊ’, ‘यो अटाय्ची देखाऊ’ भनी बडो शङ्कास्पद नजर घुमाउँदै रवाबिलो तवरबाट आदेश दिइरहे । हामी सबै उसको सरकारी जागिरको कर्तव्य ठान्दै एक पछि अर्को झोला, सुटकेश, अट्याचीका सामान खोल्दै देखाउँदै गयौंँ । कतिपय भुक्तभोगीले गुनासो गरे, यताका मानिसहरु एउटा बिँडी वा पानको बेडा भए पनि हात पार्न सकिन्छ कि भन्ने आशाले दुःख दिने नियत राख्दछन्; तर हामी सबै सीधासाधा थियौँ ‘नबिराउनु नडराउनु’ भन्दै आ–आफ्नो सामान देखायौँ । गाडी स्टाफ भने यात्रुवर्गप्रति बढी वफादार लाग्दथे । उनी सकेसम्म थोरै मात्र गुन्टाहरु निकाल्न परे हुँदो हो भन्ने मनसायले झिटी गुन्टाहरु निकाल्दै थिए, हुन त निकालेपछि फेरि बन्दोबस्तपूर्वक मिलाएर राख्ने जिम्मेवारी उनैको थियो ।

पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदीबीच फैलिएर रहेको भूभागलाई नेपालको आफ्नै भूभाग ठानिरहेको मलाई गड्ढाचौकीकै आसपासमा भारतीय चेकपोष्टसँग जम्काभेट हुनुपर्दा मेरो मन अमिलिएर आयो । २०३५ सालतिर म भाइसँग भेट्ने र देशको पश्चिमी सीमाबारे जानकारी लिने दृष्टिले आगरादेखि दिल्ली हुँदै महेन्द्रनगर पुगेको थिएँ । त्यस्तै ससुराली जाने क्रममा २०५७ असोजमा पनि म यही बाटो भएर दिल्ली गएको थिएँ । त्यतिबेला भारतीय चेकपोष्ट ठिक्क महाकाली नदी वारि थियो जुन वनबासा क्षेत्रको शारदा बाँध आउने बेलाको झाडीको आसपासको जग्गानिर थियो । अहिले यति वरबाटै भारतीय चेकपोष्टले डेरा जमाएको देख्दा यसका पछाडि हाम्रा कुन नालायक शासक वा नेताको राष्ट्रघाती कदमले घुँडा टेकेका कारण यो अवस्था आएको हो वा कुन ‘सहयोगी’ राष्ट्रको ह्याकुलाइँ/बल मिचाइको प्रतिफल हो यसबारे छुट्टै खोजी पस्नुपर्नेे ठानेको छु ।

महाकाली नदीपारिको चाँदनी र दोधारा, सो नदीको उद्गम क्षेत्र लिम्पियाधुरा र कालापानीलाई सर्लक्क निल्ने धृष्टता गरिरहेको विस्तारवादी छिमेकी राष्ट्रले दुई देशबीचका थुप्रै सीमास्तम्भमाथि अघोषित धावा बोलिरहँदा स्थानीय राष्ट्रभीरु जनताको आवाजमाथि मौन साध्ने नेपाली राजनेता भनाउँदाहरुको नकच्चरोपन कतिञ्जेलसम्म ओझेल परिरहला त ? मभित्र जमेको दही मत्थिन थाल्दछ; तर दुःखको कुरो हाम्रो यात्राको गुत्थी अर्कै थियो । यहाँ त केवल यात्राका दौरान हामीसँग पौँठेजोरी खेल्न आएका झलकहरुलाई च्वाँस्सचुस्स छुने जमर्को मात्र गरिरहेछु।

शारदा बाँधमाथिको पुलको ढोका गाडीहरुका लागि खास खास समयमा मात्र खुला गरिने भएकाले हाम्रो गाडीचालक यो समयसँग तालमेल मिलाउन आतुर थियो । युवायुवतीहरु पुल पार गर्न पैदलै अगाडि बढेका थिए । म पनि बाटोका दृश्यावली कैद गर्ने आशाले लामो छलाङ मार्दै सुरेन्द्रजीलाई भेट्ने गरी अगाडि बढिरहेको थिएँ । सुरेन्द्रजीलाई ठ्याक्कै बाँधमाथि भेटेँ । दुबै भाइले एकअर्कोको फोटो लिन चाह्यौं । तर भारतीय सीमामा खटिएकी महिला सुरक्षाकर्मीले, ‘फोटो खिचना मना है’ भनेपछि सुरेन्द्रजीभित्रको नेपाली स्वाभिमान जागिहाल्यो र मुरमुरिनु भयो र मसँग गुनगुनाउनुभो, ‘हेर्नुस् न दाइ ! हाम्रोे देशबाट पानी ल्याएर यहाँको जमिन हराभरा बनाएका छन्, थुप्रै गाउँ शहर झिलीमिली पारेका छन्, जाबो एउटा फोटो लिन खोज्दा हामीलाई फोटो खिचना मना है भन्छन् ! ! ! हेर्नोस् त कति हेपेको हामीलाई ?’ सुरेन्द्र भाइको भनाइमा दम थियो, आफ्नो सहमति जनाएँ; तर हामीले के पो गर्न सक्थ्यौं र ? भि..त्र मनमा भने एउटा भावना अँकुरायो, ‘छिमेकीको यस्तो व्यवहारले कति नेपाली मन कुण्ठित र विक्षिप्त बनेको होला ??? के हाम्रो राज्यका जिम्मेवार पक्ष यसप्रति सचेत छ ???’

भारतको उत्तराखण्ड प्रदेशको वनवासा प्रवेश गरेपछि हाम्रो गाडी खटीमा बजार हुँदै झनकट बजारको कमला होटेल एण्ड रेष्टुरेन्ट अगाडि रोकियो । हामीलाई ‘ल खाना खाने’ भन्ने सूचना मिलेपछि हामी खानाको कक्षतर्फ लाग्यौं । निकै भोकाएर हो वा अब दिल्ली छिटै पुगिन्छ भन्ने खुशीले हो वा फरक तरिकाबाट बनाइएको जिलेबी जस्तो देखिने इमर्ती नामको त्यो मिठाईँमा लोभिएर हो, जयश्रीले भनिन्, ‘भिनाज्यू, हेनुँस् न, यो इमर्ती खाम् खाम् लाग्यो ।’ गुलियोसँग डर मान्ने सालीको प्रस्तावमा केही दम भएजस्तो ठानी मैले पनि सहमति जनाउँदै ‘ल्याऊ न त, चाखौँ’, भनेँ । एउटा प्लेटमा चारवटा इमर्ती लिएर आइन् जयश्री ।

देख्दावित्तिकै मुख रसाएर आयो र मुखमा के राखेका थियौं इमर्ती मुखभित्र सलल्ल बिलाएर गयो । मलाई झल्याँस्स सम्झना आयो – बागलुङ भोला टोलका स्वर्गीय राधेश्याम राजभण्डारी (बंगारे) भिनाजुको । कतै जिलेबी वा जेरी खाने मेसो मिल्यो कि भन्नुहुन्थ्यो, ‘हैन यो जेरी÷जिलेबी भन्ने जिनिस बडो अनौठो रहेछ, बाहिरबाट पूरा बन्द छ, न मुख देखिन्छ न चाक नै ! भित्र भने टम्म चास्नी भरिएको छ ।’ ‘फेरि आँखा चिम्मबन्द गरेर खाम् या अँध्यारो बन्द कोठामा गएर खाम्, यो गुलियै हुन्छ, कस्तो अनौठो हगि ?’ भनी बाल, युवा, वृद्धवृद्धा, महिला आदि सबैलाई हँसाउन अति सिपालु हुनुहुन्थ्यो उहाँ ।

झनकटदेखि विलासपुर हुँदै अगाडि बढ्ने क्रममा ३ बजेतिर रामपुरको एक ढावामा महिलाहरुले मुम्फली (बदाम) किनेर ल्याए । बदाम देखेपछि काठमाडौंको रत्नपार्क र टुँडिखेलमा बसी जाडो महिनाको घाम ताप्दै लिने गरेको मज्जाको स्मरण ग¥यौं ।

‘होइन दाइ यो गाडीको स्टाफ कहाँ हराएका हुन् ? यो छाँटले दिल्ली भोलि बिहान मात्र पुगिएला जस्तो पो लाग्यो त ।’ सुरेन्द्रजीले वडो सौम्य र सभ्य रुपमा मेरो मजाक उडाउनुभएको महसुस भयो किनकि २४ देखि २७/२८ घण्टामा दिल्ली पुगिने भनी बसको यात्रा चुनिएको थियो जो ! हरेक स्टपमा गाडीका स्टाफले यात्रुले भन्दा डबल बढी समय लगाइरहेको छ । म पनि अचम्भित थिएँ, यताउता सोधपूछ गर्दा सुनियो अघिल्लो यात्राको लागि रोड परमिट लिन गएका रे ! हामीलाई ताज्जुब लाग्यो – हाम्रो गाडी नेपाल भारत मैत्री यातायात व्यवसायी समिति अन्तर्गत सञ्चालित गाडी जसको गन्तव्य नेपालको पोखरा र भारतको दिल्ली हो । तर यो बीच बाटोमा आउँदा रोड परमिट लिनुपर्ने भन्ने प्रावधानको कुराले हामी अलमलमा प¥यौं । एकमनले शङ्का गर्न पुग्यो कतै ढिलाढाला गर्न खप्पिस गाडी स्टाफले यात्रुहरुलाई शान्त पार्न बुनेको तानाबाना त होइन ?!

बेलुकी ८ बजेतिर गाजियाबाद पुगेपछि दिल्लीको अदालतमा नोकरी भएको पोखराकी हाम्रा सहयात्री महिलासँग भारतीय सिम भएको कुरा बुझिएकाले तिनीसँग एक कल फोनका लागि सहयोग मागेँ । हामी १० बजेभित्र घर आइपुग्छौं भनी भाउजूलाई जानकारी गरायौँ । फोन कलको सहयोग गर्ने महिलालाई धन्यवाद दिएँ । गाडीको अन्तिम स्टप जहाँगिरपुरीभन्दा शाहदराबाट शक्करपुर लक्ष्मीनगर नजिक पर्ने हुँदा त्यहीँ गाडी रोक्न भन्यौँ र करिब ८ः४५ मा उक्त गाडीसँग विदावादी भयौं । गाडीबाट ओर्लेको केही बेरमै ३/४ ओटा अटोरिक्साले हामीलाई घे¥यो । हाम्रो गन्तव्यका लागि रिक्साको भाडाका लागि मोलमोलाइ भयो । अटो चालकले एक अटोको २००।– सम्मको माग गरेकोमा ११०।– दिने गरी हामीले दुई अटो लियौं । यो बार्गेनिङ हर ठाउँमा हुने गर्दछ चाहे त्यो सामान किन्नु पर्दा होस् वा रिक्सा/अटोरिक्सा/ट्याक्सी भाडामा लिनु पर्दा होस् । त्यसैले यात्रुहरु चलाक बन्नु जरुरी छ ।

दिल्ली शहरले हरेक वर्ष नयाँ रुपरङ्ग ग्रहण गर्ने गरेको छ । यहाँ के दिन के रात दुबै समय एकनास छ, अत्यन्त चहलपहल । हामीलाई कुन सडक र गल्ली भएर हाम्रो गन्तव्यतर्फ छिचोल्ने भन्नेबारे अलिकति दिमाग खियाउनु पर्ने गरायो । अन्ततः ९ः४० बजे हामी शक्करपुर बुबाको नवनिर्मित घर पुग्यौं । परिवारका सबै सदस्यहरु अत्यन्त व्यग्रतापूर्वक हाम्रो प्रतीक्षामा बसिरहेको पाउँदा गाडीले बाटोमा गरेको अलमल र ढिन्याइप्रति झोंक नचलेको होइन तर जाडोको समयमा हिटर चलाएर जाडोलाई बिर्साउने गुन लगाएका स्टाफप्रतिको त्यो रिस छिनघडीमै पग्लिहाल्यो त्यो हिटरको तापको अगाडि ।

यसप्रकार बागलुङदेखि दिल्लीसम्मको दुईदिने अर्थात् ३७ घण्टे यात्राको पटाक्षेप भयो । अस्तु !

प्रतिक्रिया दिनुहोस्