१४ बैशाख २०८१, शुक्रबार

 

मेक्सिकोबाट अमेरिका छिर्न तस्करलाई रकम

- दिल्लीस्थित मेक्सिकन दूतावासमा भिसाका लागि आवेदन दिने नेपालीको संख्या बढ्दो

नयाँ दिल्ली। मेक्सिको हुदैं अमेरिका छिर्न नेपाली युवाले मानव तस्करलाई मोटो रकम बुझाउने गरेको पाइएको छ । तस्करसगँ सेटिङमै नयाँ दिल्लीस्थित मेक्सिकन दूतावासमा भिसाका लागि आवेदन दिने नेपालीको संख्या बढ्दो छ ।

नेपाली युवायुवती विवाह दर्ताको किर्ते कागजात बनाएर दूतावासमा भिसा लिन आइपुग्छन् । उनीहरूसगँ तस्करले १० देखि ५० लाख रुपैँयासम्म असुल्ने गरेका छन् ।
नेपालमा मेक्सिको सरकारको दूतावास नभएकाले भिसा प्रक्रियाका लागि दिल्ली पुग्नुपर्छ । दिल्लीस्थित मेक्सिकन दूतावासका सुरक्षागार्ड रोहित तामाङका अनुसार मेक्सिको जान आउने नेपाली युवायुवतीको संख्या दिनहुँ थपिँदो छ । उनका अनुसार अहिले महिनामा एक सय जनासम्म आउँछन् । तीमध्ये अधिकांश मेक्सिकोबाट अमेरिका छिर्ने प्रलोभनमा परेका हुन्छन् ।

तस्करहरूले मेक्सिकोका सामाजिक संघसंस्थासगँ मिलोमतोमा कागजी प्रक्रिया पुर्‍याएर नेपाली युवायुवतीलाई त्यसतर्फ पठाउन गरेका छन् । दिल्लीको मोतीवागस्थित मेक्सिकाली दूतावासमा भेटिएका प्रदीप मगरले मेक्सिकोमा आफ्नो संस्थाको हेड कार्यालय रहेको र त्यहाँ जान भिसा प्रक्रियाका लागि दिल्ली आइपुगेको बताए । ‘मेक्सिकोमा मेरो मेडम हुनुहुन्छ,’ उनले भने, ‘काठमाडौंमा पनि कार्यालय छ ।’ मगरले मेक्सिकोबाट अमेरिका प्रवेश गर्न कठिन नहुने बताए ।

उनका अनुसार मेक्सिकोबाट संस्थामार्फत ‘स्पोन्सर’ (जमानीपत्र) लेटर आइसकेको छ । मेक्सिको जान दुई–चार लाख खर्च हुने र त्यो पनि भिसा लागेपछि मात्र भुक्तानी गर्नुपर्ने उनको भनाइ छ ।

टिकट र भिसामा कति खर्च हुन्छ भन्ने जानकारी नरहेका मगरलाई जसरी पनि मेक्सिको पुग्ने ध्याउन्न छ । एकपटक नभए अर्काेपटक फेरि प्रयास गर्ने योजनामा छन् । मेक्सिकोबाट रोजगारीसहित खाने–बस्ने ग्यारेन्टीको कागजात बनाएर भिसाका लागि प्रयास गरेको उनले सुनाए । ‘मेक्सिको पुग्नु भनेको अमेरिका पुगेसरह हो,’ उनले भने।

गोरखा माइती र कोहलपुर घर बताउने सुमित्रा शर्मा पनि यही बाटो मेक्सिको छिर्ने योजनामा छिन् । ५ वर्षअघि श्रीमान् मेक्सिको हुँदैअमेरिका पुगेको उनले बताइन् । ‘श्रीमान जादाँ १० लाख खर्चिए पनि मेरा लागि त्यति खर्च नहुने भएको छ,’ उनले भनिन् । काठमाडौंमा श्रीमानलाई मेक्सिको पठाउने चिनजानका मानिस रहेको उनले खुलासा गरिन् ।

विशाल नामका युवाले मेक्सिकन युवतीसँग प्रेमविवाह गरेको र उनले कागजात पठाएकाले भिसा प्रक्रियाका लागि दूतावास आएको बताए । उनले पनि भविष्यमा अमेरिका छिर्ने योजना सुनाए । ‘मेक्सिको र अमेरिका नेपाल–भारतजस्तै छिमेकी देश भएकाले केही समयको मेक्सिको बसाइपछि अमेरिका छिर्न कठिन हुँदैन,’ उनले भने ।
नुवाकोट घर बताउने विशालले दुई वर्षअघि काठमाडौं आएका बखत मेक्सिकन युवतीसँग प्रेममा परेको र विवाह गरेको खुलाए । ‘उतै घर बसाउने तयारीमा छु,’ उनले भने ।

सुरक्षागार्ड तामाङका अनुसार अन्तर्राष्ट्रिय भाषाको राम्रो ज्ञान नभएका युवायुवतीसमेत भिसाका लागि आउने गरेका छन् । ‘कतिपय त अंग्रेजी र हिन्दीसमेत नजानेका आउने गरेका छन् । उनीहरूलाई दूतावासले ‘रिजेक्ट’ गरिदिने गरेको छ,’ उनले भने ।

दूतावासछेउ कागजात मिलान तथा पैसा सटहीको काम गर्ने प्रणव नामका भारतीय मूलका ब्रोकरले मेक्सिको जान नेपाली तथा भारतीयले २० देखि ३० लाखसम्म खर्चिने गरेको बताए । उनका अनुसार अधिकांशको ध्याउन्न अमेरिका छिर्ने नै हुन्छ । केही भारतीयको भने मेक्सिकोमा व्यापार भएकाले उनीहरू त्यहाँ बस्ने योजनाले नै जान्छन्।

‘अंग्रेजी जानेका युवायुवतीलाई भिसा पाउन सहज हुने गरेको छ,’ उनले भने, ‘अमेरिका पस्न नेपाली र भारतीय युवायुवती मेक्सिको जाने क्रम बढेको छ ।’
कागजी प्रक्रिया मिलाएर २५ देखि ३० अमेरिकी डलर खर्चिए भिसा उपलब्ध हुने गरेको छ । युवायुवतीलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउने संस्था नेपाल तथा भारत दुवै देशमा क्रियाशील रहेको प्रणवले बताए ।

मानव तस्कर गिरोहले विभिन्न मार्ग हुँदै अमेरिका प्रवेश गराउने बहानामा मेक्सिको सीमासम्म पुर्‍याउने गरेको छ । अमेरिका पुग्ने आकांक्षामा दलालको फन्दामा परेका नेपाली मेक्सिकोमा बिचल्ली परेका घटनासमेत छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिको सीमाबाट आप्रवासी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै दुई देशबीच पर्खाल लगाउने योजनामा लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्