हरिप्रसाद शर्मा बाग्लुङ, फागुन १२—नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले यहाँको पञ्चकोटलाइ सर्वसिद्धिधामको रुपमा विकाश गर्नुपर्ने बताएका छन । सोमबार देखि बानपा—८ पञ्चकोटमा शुरु भएको तेस्रो विराट श्री महायज्ञको मंगलबार उद्घाटन गर्दै सुवेदीले यहाँका विषयगत कार्यालबाट र केन्द्रीय सरकारको तर्फबाट योजना पूरा गर्न सघाउने बताएका हुन् । उनले निर्माणाधीन भौतिक संरचना पूरा गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सुवेदीले भने, ‘यहाँका सरकारी कार्यालयको तर्फतबाट त सहयोग भैरहेको रहेछ, जिल्लाको योजनामा प्राथमिकता पारेर पठाउनुस् केन्द्रबाट आवश्यक सहयोग गर्न मैले पहल गर्नेछु ।’
उनले पञ्चकोट धामको रुपमा विकास हुनु राष्ट्रकै लागि गौरवको विषय भएको बताए । डा. सुवेदीले भने ‘यो प्राकृतिक रुपमा पनि सुन्दर ठाउँमा धार्मिक तथा पर्यटकीय धाम निर्माण गर्न यहाँहरु लागिरहनुभएको छ, यो राष्ट्रकै लागि गौरवको विषय हो ।’ सुवेदीले जिल्लामा सञ्चालन हुने योजना तथा कार्यक्रममा पञ्चकोटलाई प्राथमिकतामा राख्न निर्देशन समेत दिए । तीन वर्षको छोटो अवधीमै उल्लेख्य काम भएको बताउँदै मुख्य सचिव सुवेदीले पञ्चकोटले बाग्लुङलाई धार्मिक पर्यटनका केन्द्र बनाउने विश्वास व्यक्त गरे ।
उनले पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको पहिचान गरेर त्यसको विकासका लागि सरकारले विशेष त्यसमा यस क्षेत्रलाई समावेश गर्ने बताए । राष्ट्रिय गौरवको आयोजना मध्येपहाडी लोकमार्गको सबैभन्दा धेरै भाग बाग्लुङमा पर्ने चर्चा गर्दै सुवेदीले लोकमार्ग भन्दा पहिले पञ्चकोटको योजना सम्पन्न हुने गरी काम भएकोमा खुशी व्यक्त गरे । वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले पञ्चकोट ठूलो योजना भएकाले सबैको साझा प्रयासबाट मात्र सम्पन्न गर्न सकिने बताए ।
कार्यक्रममा पञ्चकोटका संकल्पकर्ता स्वामी कमलनयनाचार्यले धार्मिक र पर्यटन क्षेत्रको हिसाबले महत्वूर्ण हुने पुण्य भूमिका लागि आवश्यक बजेट विनीयोजन गरेर सहयोग गर्न नेपाल सरकारका मुख्य सचिव सुवेदीलाई आग्रह गरे । ‘यो भूमि पावन मुक्तिक्षेत्र भूमि हो, गंगा भन्दा पनि पवित्र कालिगण्डकी भूमि हो,’ स्वामी कमलनयनाचार्यले भने,‘यो पुण्य भूमिलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गरी धार्मिक पर्यटनको केन्द्र बनाउन सरकारको तर्फबाट पनि सहयोग होस् ।’ महायज्ञ मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले पञ्चकोटलाई नेपाल सरकारको क्रमागत योजनामा समावेश गरी वार्षिक ५० करोड विनियोजन गर्न माग गरे ।

700













































































































































































































