२७ बैशाख २०८१, बिहीबार

 

भुजुङ होमस्टे

इन्द्रकुमारी गुरुङ फूल, माला र अक्षता लिएर बसेकी हुन्छिन् । पाहुना पुग्नेबित्तिकै गलामा माला र निधारमा अक्षता टीका लगाइदिन्छिन् । अनि आफ्नो होमस्टेतिर लैजान्छिन् ।

‘आफ्नो गाउँमा आउने पाहुना त देउतै हुन् नि,’ लमजुङ, भुजुङकी इन्द्रकुमारी भन्छिन्, ‘त्यही भएर आफ्नै शैलीमा स्वागत गरेको ।’
भुुजुङ गाउँमा इन्द्रकुमारीका दुई वटा घर छन् । पुरानोमा किचन छ । होमस्टेका लागि बनाइएको अलग्गै घर छ । त्यसको मुन्तिर पसल । सँगै चिरिच्याट्ट परेको बाथरुम र शौचालय छ ।

सदरमुकाम बेंसीसहरदेखि करिब २४ किलोमिटरको दूरी । बाटो कच्ची भए पनि सर्लक्क परेका ढुंगाले छाएका घर । जैविक विविधता अवलोकन गर्दै जाँदा बाटो कटेको पत्तै नहुने । उत्तरमा विशाल जंगल, घाँसे खर्क, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल सर्लक्कै देखिन्छ । करिब ४ सय ५० घर छन् । बसाइँसराइको धेरथोर असर यो गाउँमा पनि परेको छ ।

सांस्कृतिक विविधता अनि प्राकृतिक छटाले भरिपूर्ण डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण, हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरू, दक्षिणतर्फ नागबेली आकारमा सुसाई बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरिरहने कइयो झरना ।

गाउँपालिका बन्नुअघि सिंगो भुजुङ गाविसका नौ वटै वडा एकै ठाउँमा थिए । जिल्लाकै ठूलो गुरुङ बस्ती । समुद्री सतहदेखि करिब १६०० मिटरको उचाइमा पर्ने यो गाउँको उत्तरतिरको चिया बगानले अलग्गै रौनक थपेको छ । पूर्वमा ख्याति कमाएको घले गाउँ । उत्तरकन्या र घनपोखरा छ । पश्चिममा पसगाउँ र दक्षिणमा भोंजे पर्छ । बेंसीसहरबाट बागलुङपानी, नायु र घलेगाउँ हुँदै पनि भुजुङ पुग्न सकिन्छ । एक्याप ट्रेकिङमा निस्किएका पर्यटकको रोजाइमा घलेगाउँपछि भुजुङ पनि पर्न थालेपछि स्थानीयमा रौनक बढेको छ ।

गाउँमा अझ पनि गुरुङहरूको परम्परागत रीतिरिवाज, वेशभूषा, भाषा, संस्कृति र पहिचान जीवितै छ । त्यही भएर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) यो गाउँको सुन्दरता जोगाउन लागिपरेको छ करिब २४ वर्षदेखि ।

२०५० साउन १९ मा एक्यापले भुजुङमा इलाका संरक्षण कार्यालय खोलेर काम सुरु गरेको हो । त्यतिबेलाका संस्थापक तथा हालका एक्याप आयोजना प्रमुख लालप्रसाद गुरुङ २४ वर्षअघिको भुजुङलाई एक शब्दमा टिप्पणी गर्छन्, ‘अहिले त भुजुङ सिंगापुर भइसक्यो ।’

‘तालिमले केही गरौं भन्ने उत्साह थपियो,’ होमस्टे सञ्चालक चित्रकुमार गुरुङले भने, ‘घर चलाउन र बालबच्चा पढाउन यसैले सहयोग गरिरहेको छ ।’ होमस्टे चलाउन सहयोग होस् भनेर एक्यापले बेड, डन्लफ, सिरक, तन्नालगायत आवश्यक पर्ने सामग्री उपलब्ध गराएको थियो । पर्यटन व्यवस्थापन उपसमितिमार्फत एक्यापले होमस्टेको व्यवस्थापन गरिरहेको छ ।

उपसमितिका अध्यक्ष एवं होमस्टे सञ्चालक तुलबहादुर गुरुङका अनुसार दसैं–तिहारमा भुजुङमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । ‘अझै होमस्टेको संख्या बढाउनुपर्छ भन्ने लागेको छ,’ उनी सुनाउँछन्, ‘त्यसका लागि होमवर्क गरिरहेका छौं ।’ होमस्टेको मेनु उपसमितिले नै तय गर्छ । खासै महँगो पनि छैन । स्थानीयस्तरमै उत्पादित खाद्यान्न पाहुनाले खान पाउँछन् ।

भुजुङमा होमस्टे सञ्चालकले कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निहुरो, कुरिलो, पिँडालु, कोदोको रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद दिलाउने गरेका छन् । ऐतिहासिक साँस्कृतिक नृत्यमध्ये गहनाका रूपमा घाँटु प्रसिद्ध छ । सँगै कृष्ण चरित्र, सारंगी, घ्याब्री, प्हच्यु, सेर्गा नृत्यको पनि आफ्नै आकर्षण छ । रोधी बस्ने चलन पनि यद्यपि छ । लालीगुराँस युवा क्लब यहाँको संस्कृतिको जगेर्ना गर्न कम्मर कसेर लागिपरेको छ ।

घरघरमा पुरुषहरूले डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी बुनेको देख्न सकिन्छ भने महिलाहरू ऊनबाट राडीपाखी, बख्खु झोला र भाङ्ग्रा बुनिरहेका हुन्छन् । परम्परागत यी हस्तकला उत्पादन पनि पर्यटकका आकर्षण हुन् । एक्यापले सम्भावित घनपोखरालगायतका स्थानमा पनि होमस्टेको तयारी गरिरहेको पर्यटन अधिकृत रश्मि आचार्य बताउँछिन् । होमस्टेलगायतका पर्यटकीय गतिविधिबारे प्रमोसन गर्न एक्यापले पोखरा विमानस्थलमा समेत त्यस्ता तस्बिर राख्ने तयारी गरिरहेको छ ।

एक्यापकै सहयोगमा मनाङको नेस्याङ गाउँपालिका (साविकको धारापानी गाविस) अन्तर्गत पर्ने ओडार गाउँमा पनि होमस्टे सुरु भएको छ । अधिकांश गुरुङ बस्ती रहेको यो गाउँका १२ घरमा अहिले होमस्टे सञ्चालनमा छ । केही समयदेखि यो होमस्टेमा पनि आन्तरिक पर्यटकको आगमन सुरु भएको छ ।

-अब्दुल्लाह मियाँ, हेलो शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस्