२६ बैशाख २०८१, बुधबार

 

स्थानीय सरकारसँग पर्यटन–होटेल व्यवसायीका अपेक्षा

योगेन्द्र शाक्य

होटेल संघ नेपाल (हान)का पूर्वअध्यक्ष योगेन्द्र शाक्य नेपालका अग्रणी पर्यटन व्यवसायी हुन् । ‘एस’ होटेल समूहका अध्यक्ष शाक्य ४ दशकदेखि नेपालको होटेल तथा पर्यटन व्यवसायको उत्थानमा सक्रिय छन् । ‘एस’ समूहमार्फत अहिले काठमाडौं, नगरकोट र पोखरामा करिब आधा दर्जन होटेल सञ्चालनमा छन् । सन् २०११ मा मनाइएको नेपाल भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजकसमेत रहिसकेका शाक्य विभिन्न संघसंस्थामा आबद्ध भई सक्रिय छन् । होटेल संघ नेपाल (हान)को हालै राजधानीमा सम्पन्न अर्धवार्षिक साधारणसभा अवसरमा स्थानीय जनप्रनिनिधिसमक्ष होटेल तथा पर्यटन व्यवसायीका अपेक्षा समेटेर शाक्यबाट प्रस्तुत भनाइको सार :

प्रदेशमा आम्दानीका  स्रोतलाई प्राथमिकता
नेपालमा संघीय राज्य व्यवस्था कार्यान्वयन गर्ने क्रममा विभिन्न सातवटा प्रदेशको सीमांकन गरिएको छ । नेपालमा प्रदेश निर्माण तथा यसको सीमांकनको सन्दर्भमा भाषा, जात, लिंगलगायत खासगरी राजनीतिक एजेन्डालाई लिएर ठूलो बहस भएको छ भने धेरै समय व्यतीत भएको छ । तर, प्रदेश सबल र प्रतिस्पर्धी हुने सन्दर्भमा आर्थिक क्रियाकलाप बढ्नुपर्छ । त्यसका लागि उचित वातावरण निर्माण गरिनुपर्छ । आर्थिक क्रियाकलाप बढाउने सन्दर्भमा प्रदेशको सबै क्षेत्रमा होटेल र पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न सक्ने हो भने यो सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र हो ।

लगानीयोग्य  वातावरण

मुलुकमा स्थानीय तहको निर्वाचनअन्तर्गत दुई चरणका निर्वाचन सम्पन्न भइसकेको छ । यसको मतलब हिजो राज्य संघीय व्यवस्थामा जान्छ या जाँदैन भन्ने सन्दर्भमा रहेको अन्योल हटेको छ । अब जनप्रतिनिधिले काम गर्न थालेका छन् । यसले हामीलाई पनि सन्तुष्टि दिएको छ । स्थानीय तहमा लगानीयोग्य वातावरण बनाउने जिम्मेवारी अब जननिर्वाचित प्रतिनिधिको हातमा आइसकेको छ । अहिले नेपालमा लगानीयोग्य र विश्वासयोग्य वातावरण अभाव छ, यो होटेलले मात्र भोगेको समस्या होइन । होटेल उद्योगमा लगानी गर्नेदेखि सञ्चालनका चरणमा धेरै समस्या छन् । यसबारे हामी अवगत नै छौँ । हामी धेरैतर्फ फर्किएर रहेका छौँ । मुलुक अस्तव्यस्त अवस्थामा छ । यसरी अलमलमा परेको मुलुक र परिस्थिति तथा चारतिर फर्किएर रहेका मुद्दालाई सही बाटोमा ल्याउन स्थानीय तहबाटै पहल र सफलता मिल्ने अपेक्षामा लगानीकर्ता रहेका छन् ।

प्रदेशको सफलताको  मापन अर्थतन्त्र

राजनीतिक सफलताका लागि क्रान्ति आवश्यक हुन्छ । तर, आर्थिक क्रान्तिमार्फत समृद्धितर्फ लम्कने हो भने त्यसका लागि भने शान्ति आवश्यक हुन्छ । क्रान्तिका वेला लगानीकर्ता आकर्षित हुँदैनन् । जहाँ शान्ति छ, लगानीकर्ता त्यहीँ आकर्षित हुन्छ । यो सूत्र नेपालको सन्दर्भमा पनि लागू हुन्छ । उदाहरणका लागि भारतमा नानो टाटाले प्रारम्भमा पश्चिम बंगालमा लगानी गर्न चाहेको थियो । त्यसवेला ममता बेनर्जीले राजनीति सुरु गर्नुभयो । त्यति नै वेला वतर्मान भारतका प्रधानमन्त्री नरेन्द्र मोदी (गुजरात राज्यका तत्कालीन मुख्यमन्त्री)ले टाटाका अध्यक्ष रतन टाटालाई एउटा म्यासेज पठाउनुभएको रहेछ । त्यस म्यासेजमा ‘स्वागतम्’ लेखिएको रहेछ । त्यही एउटा स्वागतम् लेखिएको म्यासेजको परिणाम पश्चिम बंगालमा जान तयार भएको नानो टाटाको परियोजना गुजरातमा सर्‍यो । आज उक्त परियोजनाले गुजरातमा ल्याएको आर्थिक क्रान्तिले पनि लगानीकर्ता के चाहन्छ भन्ने प्रस्ट पार्छ ।

अब नेपालमा पनि प्रदेशको सफलता अर्थतन्त्रको आकार र त्यसले आप्mना नागरिकलाई दिने सेवा–सुविधाका आधारमा मापन हुनेछ । व्यवसायी र लगानीकर्ता अब स्थानीय तह आर्थिक विकासका लागि प्रतिस्पर्धा गरुन् भन्ने अपेक्षामा छन् । अहिले होटेलमा मात्र २ सय ५० अर्ब हाराहारी लगानी भइसकेको छ । अहिले करिब ३३ अर्बको नयाँ लगानी आउने क्रममा छ । भएको लगानीलाई सुरक्षित बनाउँदै थप लगानी आउने वातावरण निर्माणको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता छ ।

झन्झट नदोहोरियोस्

अहिले नेपालबाट ठूलो संख्यामा दाजुभाइ कामको खोजीमा भारतको मुम्बई, दिल्लीजस्ता राज्यमा जान्छन् । तर, भारतकै बिहार र उत्तर प्रदेशबाट ठूलो संख्यामा भारतीय नागरिक कामको खोजीमा नेपाल आउँछन् । किनभने मुम्बई र दिल्ली आर्थिक रूपमा समृद्ध राज्य हुन् । तर, बिहार र युपी कम विकसित र कम आर्थिक प्रगति गरिरहेका राज्य हुन् । यसको मतलब अब नेपालमा पनि प्रदेशको सफलता अर्थतन्त्रको आकार र त्यसले आफ्ना नागरिकलाई दिने सेवा–सुविधाका आधारमा मापन हुनेछ । व्यवसायी र लगानीकर्ता अब स्थानीय तह आर्थिक विकासका लागि प्रतिस्पर्धा गरुन् भन्ने अपेक्षामा छन् ।

अर्थतन्त्रको मुख्य आधार पर्यटन

लगानीकर्ता अझै पनि एक प्रकारको डरमा भने छन् । हिजो सिंहदरवारमा एउटा सरकारसँग सम्झौता गरे पुग्ने अवस्थामा हामीले कम्तीमा तीनवटा सरकारसँग सम्झौता गर्नुपर्नेछ । अब स्थानीय सरकारहरूलाई पर्याप्त अधिकार दिइएको छ । यसमा कर संकलनको अधिकारसमेत पर्छ । त्यसकारण अब स्थानीय सरकार र व्यवसायीबीच अझ बढी सुझबुझपूर्ण वातावरण बन्नुपर्छ । हिजो हामी समस्या पर्दा फुकाइदिनुपर्‍यो भन्दै प्रधानमन्त्रीसमक्ष पुग्ने गरेका थियौँ । अब स्थानीय तहका प्रमुखसमक्ष जानेछौँ । अब लबिङ गर्ने तह स्थानीय र संघीय सरकारहरू हुनेछन् । सिंहदरबार अब हामी निकै कम समय मात्र पुग्नेछौँ । स्थानीय सरकारहरूको जिम्मेवारी बढेको छ ।

लगानीकर्ता  भाग्ने दिन नआओस्

कुनै पनि मुलुकको अर्थतन्त्रलाई विकासको गति दिने महत्वपूर्ण माध्यम पर्यटन हो । त्यसमा पनि पर्यटन विकासका लागि नभई नहुने क्षेत्र होटेल हो । नेपालमा एउटा टे«न्ड देखिन्छ । जब कुनै एक स्थानमा ठूलो लगानीको एउटा होटेल खुल्छ, त्यसले त्यस आसपासको सबै क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा परिणत गरिदिन्छ । ठमेल, धुलिखेल, नगरकोट, चन्द्रागिरि, चितवन, पोखरा, बन्दीपुर, रुपाकोट, मनकामनाजस्ता पर्यटकीय गन्तव्य होटेल नखेलेसम्म गन्तव्य बन्न सकेका थिएनन् । एउटा होटेल र एउटा केबलकार पुगेपछि ती स्थानहरूको आर्थिक अवस्थामा नै ठूलो परिवर्तन ल्याइदिएको छ । आज धुलिखेल र नगरकोट अत्यधिक पर्यटक जाने गरी गन्तव्यका रूपमा विकास भयो, तर ती स्थानभन्दा सुन्दर भएर पनि  ककनी गन्तब्य बन्न सकेन । किनकि धुलिखेल र नगरकोटमा लगानी भयो, ककनीमा भएन । एउटा होटेल जाँदैमा त्यति ठूलो परिवर्तन स्थानमा देखिन सक्छ भने स्थानीय सरकारहरू सक्रिय हुँदा कति प्रभाव पर्ला ? त्यसकारण अब पर्यटन र यससँग सम्बन्धित गतिविधिलाई प्राथमिकता दिनुपर्छ ।

सफा र  सुन्दर नेपाल

हामी व्यवसायी र लगानीकर्तालाई तपाईं सुनको अन्डा पार्ने कुखुराका रूपमा लिनुहोस्, हामी खुसी नै हुन्छौँ । तर, सुनको अन्डा पार्ने कुखुरालाई डिनरका रूपमा खाने कुखुराकोझैँ व्यवहार नगरियोस् । त्यसो भयो भने लगानीकर्ता भाग्न सक्छन् । यो होटेलको मात्र समस्या होइन । जलविद्युत्लगायत अन्य उद्योगले पनि यही समस्या भोगिरहेका छन् । अहिले होटेलमा मात्र २ सय ५० अर्ब हाराहारी लगानी भइसकेको छ । अहिले करिब ३३ अर्बको नयाँ लगानी आउने क्रममा छ । भएको लगानीलाई सुरक्षित बनाउँदै थप लगानी आउने वातावरण निर्माणको  क्षेत्रमा काम गर्नुपर्ने  आवश्यकता छ ।

शाक्य होटेल संघ नेपाल (हान)का पुर्व अध्यक्ष हुन् ।

नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्