देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन्। प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ । सदनभित्र सभामुख पद पनि महिलाकै हातमा छ । यो सुखद श्रृंखलामा अर्को खबर पनि थपिएको छ । त्यो के भने, सेनाभित्र पनि एउटा छुट्टै महिला गुल्मको तयारी भइरहेको छ, जसको अगुवाइ सैनिक अधिकृत महिलाले नै गर्नेछिन् । मोडालिटीमा काम भइरहेको महिला गुल्मको गुल्मपति हुनेछिन्, सेनानी सृष्टी खड्का ।
८० देखि १ सयको संख्यामा जनशक्ति गुल्ममा चाहिन्छ । सेनाका प्रवक्ता झंकरबहादुर कडायतले पुष्टि गरे, ‘नयाँ गुल्मको नेतृत्व मेजर सृष्टि खड्काले नै गर्नेछिन्’ उपत्यका पृतनाभित्र रहने गरी सेनाले तयार गर्दै गरेको महिला गुल्मको अगुवाइ गर्ने सेनानी खड्का २०६१ माघ १७ मा अधिकृतका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन् । उनको पहिलो पोष्टिङ राजदल गणमा भएको थियो ।
त्यसपछि उनले सेनाको मनोवैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वार्टर र राष्ट्रिय सेवा दलमा काम गरेकी थिईन् । सेनानी खड्कासंग शान्ती स्थापनार्थ सुडानमा समेत काम गरेको अनुभव छ । खड्का बेसिक आर्टीलरी भएपनि प्रायजसो इन्फेन्ट्री युनिटमा बसेर काम गरेकी छन् ।
सेनानी खड्काको क्षमता र कार्य दक्षताको आधारमा यो पद दिईएको नेपाली सेनाले जनाएको छ । नेपालमा नेपाली सेनाको ४ सय ५८ वर्षको ईतिहास रहेको छ । अहिले नेपाली सेनामा कार्यरत तीन हजार ६ सय ६८ महिलामध्येबाट उनी पहिलो महिला गुल्मपति बनेकी हुन् । सेनाले सेवादलमा कार्यरत सेनानी खड्कालाई साउन १ गतेको सरुवामा गोरखकाली गुल्मको गुल्मपतीको जिम्मेवारी दिइसकेको छ ।
सेनामा स्टाफ कलेज नगरेकोलाई गुल्मपति नदिने नियम भएपनि महिला गुल्मको हकमा भने त्यो नियम लागु भएको छैन । यसलाई ‘महिला सैनिक निर्देशिका २०७०’ ले यसलाई सघाउ पुर्याएको मान्न सकिन्छ । महिला सैनिक निर्देशिकामा भनेको छ, ‘नेपाली सेनामा सेवारत महिलाहरुलाई तोकिएको समूहमा नियुक्ति भई काम गर्न, उक्त समूहको सेवा सुविधा प्राप्त गर्न, सो समूहको माथिल्लो तहसम्म क्षमता तथा योग्यताको आधारमा बेरोकतोक बृतिबिकासको सुनिश्चितता प्रदान गर्नेछ।’
नेपाली महिलाहरु नेपाली सेनामा बि.सं. २०१८ सालमा नर्सिङ्ग सेवा हुँदै प्रवेश गरेका थिए । २०२२ सालमा प्यारा फोल्डरमा र २०२६ सालमा महिला चिकित्सकमा भर्ना लिई नेपाल सेनाभित्र क्रमिक रुपमा प्राविधिक सेवा र २०६१ सालबाट साधारणतर्फ समेत महिला भर्ना खुल्ला गरिएको थियो ।
नेपालको संविधानले समाबेशीतर्फ सुरक्षित गरेको ४५ प्रतिशत कोटामा विभिन्न समूहको प्रतिनिधित्व हुने अवसर प्रदान गर्ने संवैधानिक प्रावधान राखेको छ । हाल नेपाली सेनाले नयाँ भर्ना गर्दा समाबेशी तर्फ छुट्याईएको ४५ प्रतिशत कोटालाई सतप्रतिशत मान्दै सोको २० प्रतिशत कोटा महिलाहरुको लागि छुट्याई भर्ना गर्दै आएको छ। जस अनुसार हाल नेपाली सेनामा साधारण तथा प्राविधिक तर्फ अधिकृत तथा अन्य दर्जा गरी जम्मा तीन हजार छ सय ६८ जना महिलाहरु कार्यरत रहेका छन्।
साभार : नेपालखबर













































































































































































































