७ जेष्ठ २०८१, सोमबार

 

पर्वतमा पर्यटन सूचना केन्द्र स्थापना

नेपालकै अग्ला पुलहरुको छेउमै पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ । पर्वतमा आउने पर्यटकहरुलाई जिल्लाका पर्यटकिय क्षेत्रका बारेमा जानकारी दिलाउने उद्देश्यले सूचना केन्द्र खोलिएको हो । कुश्मा–ज्ञादी झोलुङ्गेपुलकै छेउमा यहाँका केहि युवाहरुको सक्रियतामा उक्त सूचना केन्द्र सञ्चालन गरिएको हो । जिल्लामा रहेका पर्यटकीय क्षेत्रको वारेमा जानकारी दिने, पथ प्रदर्शन गर्ने र पर्यटकहरुलाई आईपर्ने समस्याको सहजीकरण गर्ने गरि सूचना केन्द्र सञ्चालन गरिएको हो ।

सुचना केन्द्रमा दिन भरि नै सुचना लिन पर्यटकहरु आउने गरेका छन् । निःशुल्क रुपमा त्यहाँबाट सुचना दिने कार्य भैरहेको सुचना केन्द्रका संयोजक कामना रेग्मीले बताईन । यहाँ आउनेहरुले जिल्लाका अरु पर्यटकिय स्थलमा कताबाट जाने, कसरी जाने, ति ठाउँको पहिचान जस्ता कुराहरु सोध्ने गरेको रेग्मीले बताईन । ‘दैनिक ५० जनालाई हामीले परामर्श दिने गरेका छौँ’ रेग्मीले भनिन् ।

जिल्लामा सबैभन्दा बढि पर्यटक पुल हेर्नकै लागि आउने गरेका छन् । जिल्लामा अग्ला पुल बाहेक अरु पनि थुप्रै पर्यटक लोभ्याउने स्थलहरु रहेका छन् । विश्वकै ठुलो शालिग्राम शिला, एसियाकै सबैभन्दा ठुलो ढुङ्गा महाशिला, हम्पालको लेक, चिसापानी लेक, पञ्चासे, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, यान्त्रिक पुल जस्ता पर्यटकिय स्थलहरु जिल्लामा रहेका छन् । ‘धेरै पर्यटकहरु पुल हेर्ने फर्किने गर्छन कमसेकम अरु ठाउँमा पनि पर्यटकहरुलाई पु¥याउन सके जिल्लालाई फाईदा हुन्छ भनेर हामीले सुचना दिएर सहयोग गरौँ भन्ने सोच्यौँ र यो सूचना केन्द्र खोलेका हौँ’ रेग्मीले भनिन् ।

सदरमुकाम भन्दा टाढा रहेका पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिने फोटो हरु सूचना केन्द्रको भित्तामा टाँसिएका छन् । पर्यटकिय स्थलको फोटोहरु सुचना केन्द्रको भित्तामा टाँसिएको छ । फोटो हेरेरै पनि कतिपय ठाउँको बारेमा जानकारी, जाने बाटो, दुरी, विशेषताको बारेमा जानकारी लिन सकिन्छ । पर्यटकीय शहर पोखरा र पर्यटनको खानी मुस्ताङको बिचमा रहेको पर्वतमा अग्ला र लामा पुल हेर्ने पर्यटकहरुको ओइरो लाग्ने गर्छ । पुलमा आउने पर्यटकहरु एक दिन पनि जिल्लामा नबसी फर्किने गरेका छन् ।

सूचना केन्द्रले ओझेलमा परेका अन्य क्षेत्रको खोजी गर्ने र तिनिहरुको प्रचार गर्ने समेत लक्ष्य लिएर काम गरिरहेको सुचना केन्द्रका अध्यक्ष टंकनाथ लामिछानेले जानकारी दिए ।
सरकारी स्तरवाट प्रर्याप्त मात्रामा पर्यटन प्रबद्र्धनमा काम हुन नसकेको उनले बताए । ‘हामी यूवाहरुले निशुल्क रुपमा सेवा दिईरहँदा सरकारी स्तरबाट खासै जिल्लाको प्रचारका लागि काम भएको छैन’–उनले भने ।

प्रतिक्रिया दिनुहोस्