१६ बैशाख २०८१, आईतवार

 

एकै पटक हुन्छ भन्ने जनआकाँक्षाले अप्ठ्यारो पार्छ – डम्बर श्रीस

स्थानीय तह निर्वाचन सम्पन्न भएको एक वर्षबाट उकालो लागेको छ । लामो समयको रित्तोपनपछि भएको नयाँ संरचनाको निर्वाचनले जनताको आँकाक्षा पनि बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधिको रुपमा काम गर्दाका अनुभवबारे बागलुङको गलकोट नगरपालिका—११ रिघाका वडाध्यक्ष डम्बर श्रीससंग नागरिककर्मी संगम घर्तीमगरले गरेको कुराकानी ।

वडाध्यक्ष गलकोट नगरपालिका—११ रिघा

वडाध्यक्ष निर्वाचित भएको एक वर्ष बढि भयो । काम गर्न कत्तिको सजिलो रहेछ ?
नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा तीन तहको निर्वाचन भएका छन् । विगत लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि विहीन रुपमा खाली रहे । जसले गर्दा जनताका चाहाना र विकास निर्माणका कामले चाहे अनुसार गति लिन सकेको थिएन । तीन तहको संरचना अनुसार स्थानीय तहको निर्वाचन भयो । जनताको आकाँक्षा र चाहाना पनि स्वभाविक रुपमा बढि नै थियो । मैले पदभार ग्रहण गरे देखि नै मेरो घोषणापत्र अनुसार नै कार्य सम्पादन गर्ने काममा लागेको छु ।

विगतमा पनि सामाजिक व्यक्तिको रुपमा यहाँको काम गर्दै आएको हो । अहिले जननिर्वाचित भएपछि त्यसले झन् ठूलो जिम्मा आएको छ । जनशक्तिको अभावमा काम गर्न अहिले पनि गाह्रो छ । सरकारले दिनुपर्ने कर्मचारी अझै पनि हामीले पाएका छैनौं । त्यसले अप्ठ्यारो पारिरहेको छ । धेरै कामहरु चाँही भएका छन् । सबैको सल्लाह सुझाव लिएर कार्यसम्पादन गरेका छौं ।

आर्थिक वर्ष २०७४÷७५ का लागि गलकोट नगरपालिकाबाट स्वीकृत भएका योजना र कार्यक्रमहरु सम्पन्न भएका छन् । हामीले यो वर्षका लागि नयाँ योजनाहरु छनोट गरेका छौं । अब बर्खा सकिए लगत्तै त्यसको कार्यान्वयनका लागि लाग्छौं । प्रदेश केन्द्र र स्थानीय तहका बीचमा स्पष्ट नीति र निर्देशनहरु पनि नभएका कारण केही अप्ठ्यारो पनि छ । केन्द्र र प्रदेश सरकारका कानुन आएपछि सहज हुने विश्वास गरेका छौं ।
पूर्वाधारको क्षेत्रमा के के काम गर्नुभयो ?
गलकोट नगरपालिका—१ रिघा, साविक रिघा गाविसमा विद्युतीकरण पहिले नै भैसकेको छ । केन्द्रीय लाईन संगसंगै स्थानीय लघु जलविद्युत परियोजना दुई वटा छन् त्यसबाट पनि विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणसंगको समन्वयमा जिर्ण भएको विद्युतका काठका पोलहरु फलामे पोलबाट विस्थापित गरेका छौं ।

ग्रामिणस्तरमा भएको सडकहरुको मर्मत सुधार गर्ने, नयाँ मोटरबाटे रिघा—गोठलाङ—मल्म हुँदै पाण्डवखानी जोड्ने मोटरबाटोलाई अगाडी बढाउने प्रक्रियामा छौं । त्यसलाई प्रदेश स्तरको योजना बनाउन हाम्रो पहल हुनेछ । त्यसका लागि नगरपालिकाबाट पनि हामी अगाडी बढाउनेछौं । मनेवापाटा—खिरदीको मोटरबाटोको निर्माण भएको छ । पर्यटकीय स्थल उदय रिघा बुद्ध विहारको निर्माणका काम सम्पन्न भएको छ । ठूलो पोखरी छिचिम्रा पोखरीको संरक्षण गर्ने कार्य अगाडी बढाएका छौं ।

रत्नलक्ष्मी माध्यमिक विद्यालयको भौतिक पूर्वाधारका लागि शिक्षा कार्यालय र नगरपालिकाबाट कोठा थप गर्ने कार्य अगाडी बढेको छ । स्वास्थ्य शिक्षा, सिंचाई, मोटरबाटोलाई प्राथमिकता आधारमा बजेट विनीयोजन गरेर कार्य अगाडी बढाएका छौं । मल्म—रिघा—सिसाखानी—जलजला र रणसिंह किटेनी हुँदै बुर्तिबाङ जोड्ने गरी अगाडी बढाउँदैछौं ।

१४ किलोकिलोमिटर त कालोपत्रेका लाडि डिपिआर समेत तयार भैसकेको छ । यसलाई केन्द्रीय योजनाको रुपमा अगाडी बढाउनका लागि हामीले पहल गरिरहेका छौं । भौतिक पूर्वाधारसंगै मानवीय विकास र यहाँको युवा महिलालाई सिपयुक्त जनशक्तिको रुपमा विकास गर्ने हाम्रो योजना छ । पूर्वाधार विकासमा केही योजना अगाडी बढेको छ । ५५—६० लाख खर्चेर पुरानो सडकको स्तरोन्नतीसंगै केही नयाँ सडकहरु पनि निर्माण गरेका छौं ।
स्थानीय तहको आर्थिक विकासमा सहयोग पु¥याउने के के योजना छन् ?
गलकोट नगरपालिको यस वर्ष तीन करोड रुपैयाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ । गतवर्ष पनि हामी तीन करोड रुपैयाँ आन्तरिक स्रोतबाट जुटाएका थियौं ।

गलकोट —११ रिघाबाट पनि बढि भन्दा बढि आन्तरिक कोष निर्माण गर्ने करका कुराहरुलाई व्यवस्थीत गर्ने र नगरपालिकाबाट फेरि यहाँको विकासका लागि आउने व्यवस्थापन मिलाउने, वडा कार्यालयबाट हुने सिफारीसका कुराहरुलाई व्यवस्थीत गर्दै यहाँ भएका जल जमिन र जंगल संगै यहाँ भएका पर्यटन सम्भावनाका क्षेत्रहरुलाई बढि भन्दा बढि परिचालन गरेर यहाँको आन्तरिक करलाई बढि संलकन गर्ने प्रयास गरेका छौं । यहाँको पसल व्यवसायलाई दर्ता गरेर स्थानीयलाई उत्पादनमूलक कार्यक्रमका लागि प्रेरित गर्ने वडा कार्यालयले नीति लिएको छ ।

यहाँका स्थानीयले जति बढि आम्दानी गर्छन् त्यती नै बढि कर तिर्छन् र त्यसबाट यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्छ भन्ने हामीले राम्ररी बुझेका छौं । त्यसैले पहिले यहाँका स्थानीयलाई आत्मनिर्भर र उत्पादनमूलक क्षेत्रमा लाग्नका लागि प्रेरित गर्ने हाम्रो प्रयास छ ।

रिघामा कुन—कुन ठाउँ पर्यटनको सम्भावना भएको ठाउँ हो ? त्यसलाई कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?
गलकोट नगरपालिका—११ अन्तर्गत गर्ने साविकको रिघा गाविसको वडा नम्बर ३,६,७,८ र ९लाई मध्येपहाडी लोकमार्गले चिरेर गएको छ । बुटवल हुँदै बुर्तिबाङ जाने र रिघा हुँदै बागलुङ पोखरा र काठमाडौं जाने सडक छ । यसलाई व्यवस्थीत गरेर यसलाई सडक सञ्जालको हबको रुपमा विकास गर्ने, एउटा संगम स्थलको रुपमा विकास गर्न सक्यौं भने यहाँ पाहुनाहरुको फ्लो बढ्छ भन्ने हामीलाई लाग्छ ।

यहाँ रहेको उदय बुद्ध विहारलाई व्यवस्थीत गरे त्यसलाई साझा थलोको रुपमा विकास गर्ने प्रयासमा छौं । यहाँ फुटबल खेल मैदान रहेको छ । त्यसलाई व्यवस्थीत गरी खेल पर्यटनको विकास गर्ने हाम्रो लक्ष्य छ । खेलकुद प्रतियोगिताले पाहुनालाई यहाँ आउनका लागि निम्तो दिन्छ र त्यसै सन्दर्भमा यहाँका पर्यटन क्षेत्रहरुको प्रचार प्रसार गर्न सकिन्छ । धेरै पुरानो ठूलो पोखरी छ । विगतमा यहाँ खानेपानीका समस्या हुँदा त्यही पोखरीको पानी प्रयोग गरेर वस्तुभाउ पाल्ने चलन थियो । त्यसलाई व्यवस्थीत र संरक्षण गर्ने हाम्रो तयारी छ ।

त्यसलाई पनि हेर्न लायकको ठाउँ बनाउनेछौं । छिचिम्रा पोखरीलाई व्यवस्थीत गरेर त्यहाँ पूर्वाधार निर्माण गरी पर्यटकहरुलाई आकर्षण ठाउँको रुपमा विकास गर्छौं । सानो रिघाको क्षेत्रलाई पनि विकास गर्छौं । यहाँको लोपोन्मुख कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गरेर प्रदर्शन गर्ने र त्यसको प्रचार प्रसार गर्ने हामी सोंच बनाएका छौं । त्यसले पनि यहाँ पाहुनाहरुलाई आउनका प्रेरित गर्नेछ ।

घाटु नाँच, सोरठी लगायतका कला संस्कृतिहरुको प्रवद्र्धन गर्ने हाम्रो योजना छ । त्यससंगै होम स्टे सञ्चालन गर्ने तयारीमा छौं । यो ठाउँबाट पश्चिम भेगको प्युठान, अर्घाखाँची, रेसुङ्गा डाँडा लगायतका ठाउँहरुको अवलोकन गर्ने ठाउँ छ । त्यसलाई व्यवस्थीत गर्ने र आन्तरिक पाहुनालाई यहाँ ल्याउनका लागि पहल गर्ने हाम्रो प्रयास रहन्छ ।
जनप्रतिनिधिको रुपमा काम गर्दा कर्मचारीको सहयोग चाँही कत्तिको छ ?
लामो समय देखि स्थानीय निकाय खाली हुँदा कर्मचारीले नै जनप्रतिनिधिको रुपमा काम गरेका अवस्था थियो । दोहोरो भूमिका उहाँहरु हुनुहुन्थ्यो । हामी नयाँ ढङ्गले निर्वाचित भएर आएको अवस्थामा बीचमा केही समय अन्यौलको अवस्थामा पनि थियो । जनताको अपेक्षा र आकाँक्षा हामीसंग बढि भएकाले हामीले जति छिटो जनताको काम गरौं भन्ने सोच्यौं ।

कर्मचारीहरुले नीतिगत कुरा गर्नुभयो । त्यसले बीचमा केही अन्यौलता पैदा गरे पनि अहिले विस्तारै सहज हुँदै गएको महसुस मैले गरेको छु । अहिले हामीले समन्वय र सल्लाह गरेर अगाडी बढ्न थालेका छौं । जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध अहिले सुमधुर बन्दै गएको छ । पछिल्लो समय सहज रुपमै काम सम्पादन भएका छन् ।
के कुराले अप्ठ्यारो हुँदोरहेछ ?
हामी पहिलो चोटी नयाँ संरचनामा अभ्यास गरिरहेका छौं । हाम्रो जिम्मेवारी पनि थपिएको छ । हामीले बाहिर जून ढङ्गको महत्वकाँक्षा छ त्यसलाई एकै पटक सम्बोधन गर्न नसक्दा कहिलेकाँही समस्या हुन्छ । कामहरु विस्तारै हुँदै जान्छन् भन्ने सोंचको विकास गर्ने मुख्य चूनौती बनेको छ । लामो समयको ग्यापको बीचबाट आएको कारण पनि हामीसंग जनताले एकै पटक ठूलो अपेक्षा राखेका छन् ।

त्यसले यदाकदा समस्या पैदा गर्ने गर्छ । विगतमा साना तिना समस्याहरु वडामा समाधान हुन्थे । अहिले पहिलाको एउटा गाविस वडाको रुपमा परिणत भएपछि सबै समस्याहरु वडा कार्यालयमा आउँछन् । सबै समस्याहरु वडाध्यक्षले हेर्नुपर्ने भएकाले अलि गाह्रो भएको छ । वडाध्यक्षले नै सिफारीस देखि वडाका झैझगडा समेत मिलाउनुपर्ने कारण केही बोझ हामीलाई पनि छ ।

वडा कार्यालयमा सबै जनशक्ति पूरा नभएको कारण पनि अप्ठ्यारो महसुस भएको अवस्था छ । पहिलो वर्ष हामीले सिक्ने र सिकाउने समयकै रुपमा बितायौं । विगतको सिकाईलाई ध्यानमा राखेर अबको कार्यसम्पादन गर्नेछौं र अब केही सहज हुनेछ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्