पार्टी केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुङ्ग्याएपछि मात्र सत्तारुढ नेकपाले जनवर्गीय संगठनहरुको एकता प्रक्रिया थाल्ने भएको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनलाई प्राथमिकता दिने निर्णय गरेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, सोमबार (१० मंसीर) मा बस्ने अर्काे बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउनेछ।
बैठकपछि उनले भने, ‘पर्सी फेरि बैठक बस्छौँ, त्यसपछि केन्द्रीय सदस्यहरुको कार्यविभाजन सकेर जनवर्गीय संगठनहरुको एकता विषयमा छलफल थाल्छौँ।’
एकता भएको लामो समयसम्म केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन छन् र यही कारण असन्तुष्ट पनि छन्।
यसै हप्ता १८ जना केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र बुझाउँदै केन्द्रीय कमिटीको बैठक छिटो भन्दा छिटो बोलाउन माग गरेका थिए।
त्यसो त, केन्द्रीय सदस्यहरुको मात्र होइन, स्थायी समिति सदस्यहरुको पनि कार्यविभाजन हुन सकेको छैन।
यसैगरी विधानमा व्यवस्था गरिएको पोलिटब्यूरोको पनि गठन गरिएको छैन। तर, केन्द्रीय सदस्यहरुको असन्तुष्टि र ज्ञापनपत्र प्रभावी बनेको छ।
पहिले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरी जनवर्गीय संगठनहरुको एकता प्रक्रिया विषयमा छलफल थाल्ने आजको निर्णय त्यसैको उपज हो।

































































































































































































