५ कार्तिक २०८३, बुधबार

 

जनतासामु गरेका प्रतिबद्धता अनुसार सरकारले काम गरेन: देवेन्द्र पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धता अनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपि उनले भयंकर गल्ती नै गरेको जस्तो सरकारबाट गल्ती भने नभएको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै भने,‘यो सरकार ५ वर्षको लागि गठन भएको हो । सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ । तर अहिले प्रभावकारी र लोकप्रिय काम नपुगेको साँचो हो । अर्को बर्षमा कामले गति लिन्छ ।

’सांसद पौडेलले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताए । उनले भने,‘हामी यस विषयमा पार्टीभित्र गम्भिर समीक्षा गर्छौं । सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गर्छौं । स्वयम् प्रधानमन्त्रीले पनि चूनौतीको महशुस गर्नुभएको छ ।’

नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।
राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ । तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक नभएको नेता पौडेलको जिकिर छ । उनले भने,‘जनताको खबरदारीलाई सहजताका साथ लिनुपर्छ । तर, अहिले १८ करोडमा एउटामात्रै गाडी किन्ने कुरा भएको होईन, ग्रुपमा गाडी किन्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung