
बागलुङ । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा शनिबार बागलुङ शाखाले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण गराएको छ ।पत्रकार महासंघ बागलुङ शाखाले व्यस्तताको कारण स्वास्थ्य प्रति सजग नरहने पत्रकारहरुलाई स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य परिक्षण गरएको हो । महासंघको आग्रहमा धौलागिरि अञ्चल अस्पतालमा जिल्लामा क्रियाशिल ४० जना पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिए । स्थापना दिवसका अवसरमा औपचारिक कार्यक्रम मात्र गरेर मनाउन भन्दा पत्रकारहरुलाई स्वास्थ्यप्रति सजग राख्न फरक खाले कार्यक्रम आयोजना गरिएको बागलुङ शाखाले जनाएको छ ।
स्वास्थ्य परिक्षणका क्रममा अधिकांश पत्रकारहरुको रक्तचापमा समस्या देखिएको अस्पतालका निमिक्त मेडिकल सुपरीटेण्डेन डा. शैलेन्द्र वि पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पत्रकारहरुको स्वास्थ्य परिक्षण पछि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
महासंघको स्थापना दिवसका अवसरमा फरक किसिमको कार्यक्रम गरेर पत्रकारहरुलाई थप उर्जावान गराउनलाई शुक्रबार ‘पाँच पत्रकार पाँच अनुभव’ प्रेरक सवाद कार्यक्रमसमेत सम्पन्न गरिएको महासंघका शाखा सचिव राम थापाले बताए ।
स्वास्थ्य परिक्षणमा धौलागिरि अञ्चल अस्पतालका ७ जना विषेशज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । पत्रकारहरुको रक्तचाप, नाँक कान घाटी, नसा तथा हाड जोर्नी, स्त्रीरोग लगायतको परिक्षण गराएका थिए । पत्रकार महासंघले स्वास्थ्य परिक्षण गराउने अवसर प्रदान गरेको भन्दै जिल्लामा क्रियाशिल पत्रकारहरुले खुसी व्यक्त गरेका थिए । स्वास्थ्य परिक्षणका क्रममा डाक्टरहरुले खानपान, व्यायम, मनोरञ्जन लगायतलाई समन्वय गर्न सुझाव दिएका थिए ।