काठमाडौं । आँधीबेहरीमा मृत्यु भएका व्यक्ति तथा परिवारलाई राहत स्वरुप प्रदेश नम्बर २ सरकारले जनही तीन लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ । आइतबार बारा र पर्साका जिल्लामा आँधीबेहरीबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत प्रदेश सरकारले प्रति परिवार तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
केन्द्र सरकारले भने मन्त्रिपरिषद्को बैठक बसेपछि मात्र तय गर्ने जानकारी गृह मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रधानमन्त्री सहितको टोली घटना स्थलमा स्थलगत निरिक्षणका लागि पुगेकोले फर्किएपछि बस्ने मन्त्रि परिषद्को बैठकले राहतबारेमा निणर्य गर्ने संभावना रहेको सुवेदीले जानकारी गराए । उनले अहिलेसम्मको मानविय क्षतिको अवस्था २७ जना रहेको बताए। उनले भने ‘म आधीबेहेरी प्रभावित जिल्लाका सिडियोसँग निरन्तर सम्पर्कमा छु । भौतिक क्षतिका बारेमा अझै एकिन विवरण आउन समय लाग्छ ।’
प्रदेश सरकार मन्त्रीपरिषद बैठकले विपद व्यवस्थापन उद्धार, क्षतिपूर्ति, उपचार र तत्काल राहत उपलब्ध गराउने लगायतका कामका लागि संघीय सरकार, स्थानीय सरकार, सरोकारवाला, संघ–संस्थालगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारी लगायतलाई आव्हान गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई आग्रह गरिएको छ ।
प्रदेश नम्बर २ सरकारले विपद व्यवस्थापनका लागि तत्काल औषधी, खाद्यान्न, त्रिपाललगायतका राहत सामाग्रीहरु तथा तत्काल उपचार उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई क्रियाशिल गराई परिचालन गर्न निर्णय गरेको छ ।
प्रदेश सरकारले आँधीबेहरीमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने पनि निर्णय गरेको छ । बैठकले आँधीबेहरीले पुर्याएको क्षतिको अध्ययन गरेर तत्काल राहत तथा उद्धारका लागि राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति पनि गठन गरेको जानकारी पनि आफुले पाएको गृह प्रवक्ता सुवेदीले बताए ।
मन्त्रीपरिषद् बैठकले विपद व्यवस्थापन उद्धार, क्षतिपूर्ति र तत्काल राहत उपलब्ध गराउने लगायतका कामका लागि सहयोग गर्न चाहने सरोकारवालालाई मुख्यमन्त्री राहत कोषमा आर्थिक् सहयोग गर्न पनि आह्वान गरेको छ । प्रदेश अन्र्तगतका नगरपालिका र गाउँ पालिकाले त्यसलाई सघाउन आ–आफ्नो कोषमा रहेको रकमबाट केही मात्रमा राहत तथा उद्धार कोषमा उपलब्ध गराउने जनाएका छन् ।



















































































































































































































