२ जेष्ठ २०८१, बुधबार

 

हामी किन सच्चिएनौं ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार धुलिखेलमा एक कार्यक्रममा अबको एक वर्षभित्र केही सम्पदाबाहेक भूकम्पमा क्षति भएका सबैजसो संरचना तयार हुने दाबी गरे । उनले यसो भनिरहँदा गोरखालाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको चार वर्ष पुग्न एक दिन मात्र बाँकी थियो।

झन्डै ९ हजारको ज्यान लिएको, लाखौंलाई घरबारविहीन बनाएको त्रासद दिन ।
अझै पनि थुप्रै संरचना उठ्न बाँकी छन् । तीन हिउँद–बर्खा टहरामा कटाएका पीडितमध्ये कतिपय अझै त्यही नियति भोगिरहन बाध्य छन् । भूमिहीन भूकम्पपीडितले घर बनाउन पाएका छैनन् । विज्ञहरूले जोखिमपूर्ण औैंल्याएका बस्ती स्थानान्तरण नगरिँदा पीडितहरू त्रासैत्रासमा बस्न बाध्य छन् । नमुना बस्ती बनाएर सारिएका कतिपयले अहिले ती बस्ती छाडिसके । बास पाए पनि कमाइको बाटो नहुँदा गाउँ नै फर्कन बाध्य भएको उनीहरूको गुनासो छ । ठडिएका बस्तीले पनि मौलिकता गुमाएका छन् । परम्परागत शैली चटक्कै छाडेका छन् । ढुंगाका छानाका ठाउँमा नयाँ जस्तापाता टल्किएका छन्।

पुनर्निर्माण मौलिकता पुनर्जागरण र व्यवस्थित विकासको अवसर पनि हो । यसलाई हामीले कत्तिको उपयोग गर्न सक्यौं ? पीडितलाई घर त दिइयो तर उनीहरूलाई फेरि त्यस्तै जोखिममा पर्न नदिन के–कस्ता सजगता अपनाएका छौं ? ठडिएका घरहरूको संख्या र लगानी गरिएको बजेटलाई मात्र कदापि उपलब्धि मान्न सकिँदैन । परिणाम मुख्य हो ।

नेपाल भूकम्पीय जोखिममा रहेको क्षेत्र हो । यो चार वर्षमा ४५ हजारभन्दा बढी परकम्प गइसकेको भूकम्प मापन केन्द्रको तथ्यांक छ । सम्भावित जोखिमबाट बच्न हामीले के–कस्ता पूर्वतयारी गरेका छौं ? अघिल्लो घटनाबाट हामीले पाठ सिक्यौं कि सिकेनौं ? यी प्रश्नको उत्तर खोज्दा सकारात्मक हुन सकिने अवस्था छैन ।

यो चार वर्षमा पनि सहरी क्षेत्रमा मापदण्डविपरीत घर बनाउने क्रम रोकिएन । काठमाडौं महानगर स्वयंले करको लोभमा जथाभाबी तला थपिएका घरलाई धमाधम स्वीकृति दिएको छ । सहरी क्षेत्रमा पर्याप्त खुला ठाउँ छैनन् । भएका सरकारी जग्गासमेत चारतिरबाट अतिक्रमणमा परेर सकिँदै छन् ।

यसमा सरकारले आवश्यक कडाइ गरेको छैन न त नागरिक स्वयं जागरूक भएका छन् । जोखिम न्यूनीकरण र पूर्वतयारीबारे सरकारको कुनै नीतिगत तयारी छैन । थालिएका केही योजना पनि औपचारिक कार्यक्रममै सीमित छन् । तिनको प्रभावकारी कार्यान्वयन छैन ।

यो प्रवृत्ति एउटा विषयकेन्द्रित मात्र नभएर हाम्रो राष्ट्रिय चरित्रै बन्न थालिसकेको छ । तर, अब यो चरित्र थप हुर्किन दिन हुँदैन । बेलैमा नसच्चिए हामीले पश्चात्ताप गर्ने मौका पनि पाउनेछैनौं ।

प्रतिक्रिया दिनुहोस्