२५ बैशाख २०८१, मंगलवार

 

जुद्धशमशेरले आँट नगर्दा नेपाल ‘लेन्डलक’ हुन पुग्यो

पुरुषोत्तमशमशेर राणा, इतिहासविद्

पुरुषोत्तमशमशेर राणा नेपालका गिनेचुनेका इतिहासविद्मध्ये एक हुन् । राणाका ‘श्री ३ हरूको इतिवृत्तान्त’ भाग–१ र २ सहित इतिहाससम्बन्धी आधा दर्जन पुस्तक प्रकाशित छन् । २००७ सालको आन्दोलन र दिल्ली सम्झौताका साक्षीसमेत रहेका राणा तत्कालीन ‘कमान्डर इन चिफ’ रुद्रशमशेरका नाति हुन् । उनी स्वयम् पनि राणाशासनविरुद्ध सक्रिय भएर लागेका थिए । अहिले अध्ययन र लेखनमा व्यस्त ९४ वर्षीय राणासँग इतिहासमा केन्द्रित रहेर नयाँ विश्वका लागि सञ्जय पन्थीले गरेको कुराकानी :

तपाईंको जन्म कहिले र कहाँ भयो ?
म वीरशमशेरको पनाति हुँ । वीरशमशेरका छोरा रुद्र, रुद्रका छोरा ईश्वर र ईश्वरको छोरा म । मेरो जन्म १९८२ सालमा काठमाडौंको हाल निर्वाचन आयोग रहेको कान्तिपथस्थित चारबुर्जा दरबारमा भएको हो ।

अध्ययन कहाँ गर्नुभयो ?
अध्ययनको प्रारम्भ काठमाडौंमा भयो । मलाई मातृकाप्रसाद कोइरालाले समेत पढाएको स्मरण छ । प्रवेशिकापछिको अध्ययन बनारसको जयनारायण इन्टर कलेज र स्नातक बिएचयूबाट भएको हो ।

विवाह कहाँ भयो ?
राणापरिवारको विवाहको आफ्नै संस्कार–परम्परा छ । उनको उपचारको सम्भावना नभएपछि माइती पक्षले उनलाई फिर्ता लगेछन् । पछि बागलुङ, गल्कोटको मल्ल–ठकुरी परिवारकी कन्या ल्याएर काठमाडौंमै विवाह भएको हो । दुर्भाग्य, दुई सन्तान (एक छोरा र एक छोरी) लाई जन्म दिएपछि उनको निधन भयो । त्यसपश्चात् दोस्रो विवाह गरेको छैन ।

१९९० सालको भूकम्पको स्मरण छ ?
त्यस बेला म मात्र ८ वर्षको थिएँ । हाम्रो निवास चारबुर्जामै थियो । हजुरबुबा रुद्र मुख्तियार नै हुनुहुन्थ्यो । महाराज श्री ३ जुद्ध सिकारमा कैलाली थिए । उनीसँग मेरा काकाको सवारी भएको थियो । बुबा र हजुरबुबा काठमाडौंमै हुनुहुन्थ्यो । सबै जना घरमै थियौं । १२ बजेतिर भूकम्प गयो । हाम्रो घर पनि केही भत्किएको थियो । सुसारेले मलाई निकालेको थाह छ । हजुरबुबालाई गार्डहरूले बोकेर निकालेका थिए । त्यसपछि हामीलाई बाहिर चौरमा राखिएको थियो ।

भवन भत्किँदा नारायणहिटी दरबारमा एक शाहज्यादीको ज्यान गएको थियो । सहरमा कोलाहल थियो । श्री ३ जुद्ध सिकारमा भएकाले सबै जिम्मेवारी हजुरबुबालाई थियो । त्यसपछि उहाँ निरीक्षणमा निस्कनुभयो । हजुरबुबाले क्षतिको यकिन विवरणसहित दुई दिनपछि चिठी लेखेर महाराज जुद्धलाई जानकारी गराउनुभयो । चिठी जवानका हातमा पठाइएको थियो ।

राणाशासनमा तपाईंका हजुरबुबा रुद्रशमशेरको जिम्मेवारी र भूमिका के थियो ?
हजुरबुबाले जन्मँदै जर्नेल उपाधि पाउनुभएको हो । जुद्धशमशेर सत्तामा आएपछि उहाँको जिम्मेवारी कमान्डर इन चिफ अर्थात् मुख्तियारसम्म रह्यो । यो कुरा जुद्धका दरसन्तानलाई मन परेको थिएन । खास गरी छोरा बहादुरशमशेरलाई । उनी हजुरबुबालाई जसरी पनि हटाउन चाहन्थे ।  ९७ सालको सहिद–काण्डपछि राणाशासन विवेकभन्दा दम्भले चल्न थालेको थियो । त्यही बेला राणा परिवारलाई ए, बी र सी वर्गमा विभाजन गर्ने काम भयो, जुद्धशमशेरबाटै । पहिलो श्रेणीमा नपर्ने परिवारलाई काठमाडौंबाट निकाला गर्ने क्रममा हजुरबुबालाई पाल्पा पठाए । त्यो क्षण मलाई अहिले पनि स्मरण छ । हजुरबुबा श्री ३ को रोलक्रममा हुनुहुन्थ्यो । उहाँलाई अपमानित तरिकाले निकाला गरिएको थियो । त्यसपछि हाम्रो परिवार पाल्पा बस्नुपरेको हो ।

राणा भएर पनि यहाँको परिवार कसरी प्रजातन्त्रको पक्षमा आइपुग्यो ?
९७ सालको काण्डपछि सुषुप्त अवस्थामा रहेको आन्दोलनले गति लियो । बनारसमा बस्ने कोइराला परिवार र नेपाली विद्यार्थीले त्यसलाई अघि बढाए । हाम्रो परिवार पाल्पा सरेपछि आन्दोलन थप सशक्त बनाउन पाल्पा दरबारमा ट्रान्समिसन राखी काठमाडौं र कलकत्ताबीच सम्पर्क गराउनेसम्मको काम भयो ।  बिपी कोइरालालाई बनारसबाट लुकाई–छिपाई पाल्पासम्म ल्याइयो । थप योजना बनाइयो । आन्दोलन पक्षधरहरूसँग सम्पर्क स्थापित गर्ने काम पनि पाल्पा दरबारबाट भइरह्यो । केही दिन गोप्य तबरले बसेपछि कोइराला भारत फिर्ता हुनुभएको थियो । राणा सरकारले यो कुरा थाहा पाएछ । काठमाडौंबाट बुबा ईश्वर र हाम्रो परिवारलाई पक्राउ गर्न कमान्डर चन्द्रजंग थापालाई दलबलसहित पठाइयो । उनी आउने सूचना पाएपछि बुबासहित म र परिवारका अन्य सदस्य ढुकुटीबाट पैसा झिकेर पहिल्यै निस्कियौं । काठमाडौं आउने भनेर हिँडे पनि हामी बीच बाटोबाटै भारततर्फ लाग्यौं ।

भारत बसाइमा कांग्रेससँगको सम्पर्क प्रगाढ भयो । मुक्तिसेनाको जिम्मेवारी लिएर काका गोपालशमशेर र मैले पश्चिम नेपालको बहादुरगन्ज र कृष्णनगरको (हाल कपिलवस्तु) मोर्चा सम्हाल्यौं । करिब एक हजार फौजको नेतृत्व गर्नु आफैँमा सहज थिएन तर सफलतापूर्वक सम्पन्न ग¥यौं । क्रान्तिमा लाग्दा बिएचयूमा स्नातकतहको अध्ययन बीचमै रोकियो । मेजर अंग्रेजी विषय लिएको थिएँ । त्यसपछि पढाइलाई निरन्तरता दिन सकिनँ ।

सात सालको परिवर्तन नजिकबाट देख्नुभयो । कस्तो थियो त्यो वातावरण ?
देखेँ मात्र होइन, भोगेँ पनि । ९७ सालको सहिद–काण्डपछि काठमाडौं परिवर्तनका लागि जुर्मुराइरहेको थियो । प्रवासमा रहेको कोइराला परिवार र अन्य युवाले योजनाबद्ध रूपमा त्यसलाई गति दिने काम गरे । सुवर्ण, महावीरशमशेरको पनि सक्रियता थियो । यो कुरा कांग्रेसको इतिहास अध्ययन गर्दा पनि जानकारी हुन्छ । त्यहीबीच भारतमा भएको सन् १९४७ को परिवर्तनले पनि काम गरेको थियो । नागरिक रैती भएर बस्न चाहँदैनन् भन्ने सन्देश त्यसले दिएको थियो ।

त्यस अवधिमा यहाँबाट विभिन्न योजनासाथ राजा त्रिभुवनको दिल्ली सवारी भयो । उहाँलाई सर्वप्रथम दिल्लीमा भेट्न पुग्ने नेपालीमा म, बुबा र श्यामशमशेरसहित तीन जना थियौं । राजासँग पूर्वपरिचित थियौं । हामी पुगेपछि मात्र बिपी पुग्नुभएको हो । अनि सरकारका प्रतिनिधिका रूपमा दिल्लीमा राजदूत रहेका सिंहशमशेर र विजयशमशेर पनि पुगेका थिए ।

दिल्ली सम्झौतापछि त्रिभुवनले हैदराबादमा पार्टी आयोजना गरेका थिए । म पनि सहभागी थिएँ । नेपालमा मन्त्रिमण्डलमा क–कसलाई राख्ने भनेर छलफल भयो । राजाको प्रतिनिधित्व कांग्रेसका तर्फबाट मानिएको थियो । राजाले उक्त मन्त्रिमण्डलमा आफ्ना एक जना मात्र सहभागी गराएका थिए । अन्य चार जना कांग्रेसका थिए । पाँच जना राणाका तर्फबाट । सम्झौतापछि दिल्लीबाट म पनि राजासँगै फर्किएको थिएँ । राजा, कांग्रेस र जनताको एकताका कारण ०७ सालको परिवर्तन भएको हो ।

त्यसपछिको राजनीति कसरी अघि बढ्यो ?
त्यसपछि राजनीतिमा धेरै उतारचढाव आयो । ०११ सालमा त्रिभुवनको निधन भयो । राजनीतिमा राजकुमार महेन्द्र उदाए । ०१५ सालको निर्वाचन भयो । कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त ग¥यो । तर सरकार धेरै टिक्न सकेन । ०१७ पुस १ गते महेन्द्रले कू गरिदिए । कोइराला परिवारमा समेत कलह निम्तियो । बिपी र मातृका दुई खेमामा विभाजित रहे । ०१७ सालपछि राजनीतिमा नयाँ अध्याय सुरु भयो जुन ०४६ सालसम्म रह्यो । त्यसपछि पनि देशले परिवर्तनअनुसार शासन–व्यवस्था पाउन सकेन । आज देश गणतन्त्रात्मक भए पनि चाहेको शासन–व्यवस्था सञ्चालन हुन सकिरहेको छैन । अरू अहिलेको पुस्ताले समेत देखिरहेकै छ ।

इतिहास लेखनमा कसरी लाग्नुभयोे ?
जीवनमा जागिर खाइएन । केही त गर्नै प¥यो । परिवारभित्रै इतिहासका घटना जनश्रुतिका रूपमा सुन्दै आएको थिएँ । ती सबैलाई उतार्न मन लाग्यो । अनि लेखनमा लागेँ । इतिहासका विषय लेख्दालेख्दै साँच्चै लेखक नै भइगएछु ।

भाइभारदारबाट हेपिएपछि उनीहरूविरुद्ध आक्रोश थियो । बदला लिन अन्य कुनै उपाय पनि थिएन । किनकि उनीहरूकै हातमा शासनसत्ता थियो । शासनसत्ताकै क्रममा राणावंशभित्र भएका कलह र असन्तोष परिवारमा सुन्दै आएको थिएँ । ती सबै घटना उजागर गर्ने निहुँमा लेखन सुरु गरेको हुँ । तर लेखन तथ्यपरक हुनुपर्छ । यही मान्यता पछ्याई इतिहासका घटना, प्रतिघटनासहित लेख्दै गएँ ।

रमाइलो प्रसंग भनौं, जंगबहादुरका छोरा जगतजंगको हत्यापछि जंगको बेलायत भ्रमणको फोटो एल्बम वीरशमशेरको परिवारमा आएको रहेछ । त्यही परिवार भएकाले त्यो एल्बम मेरो पुस्तामा पनि आइपुग्यो । त्यसले झनै इतिहासबारे रुचि बढाउने काम ग¥यो । अहिले पनि त्यो एल्बम मसँग सुरक्षित छ । राणापरिवारका कसैसँग नभएका तस्बिर मसँग छन् । मैले लेखेका पुस्तकमा प्रयोग गर्दै आएको पनि छु ।

जुद्धशमशेरको उदयसँगै पद्मशमशेरका मुख्तियार कृष्णशमशेरले शीतलनिवास छाड्नुको कारण के थियो ?
हो, जुद्धको उदयसँगैै पद्मशमशेरका मुख्तियार कृष्णशमसेरले आफ्नो शीतलनिवास सरकारलाई दिएका हुन् । सँगै भवन मर्मतसम्भारका लागि २ लाख रुपैयाँ, एउटा सवारीसाधन र दुइटा बग्गी पनि दिएका थिए । उनलाई मोहनशमशेर, बबरशमशेरलगायतले पहिलेबाटै पद्मलाई सत्ताच्युत गर्न उक्साइरहेका थिए । त्यो नमानेपछि उनलाई आफ्नै भाइदाइले समेत अपमान गरेका थिए । जुद्धको आगमनसँगै तिनै भाइभारदारको बोलवाला हुने भएपछि उनले पदबाट मात्र नभएर रोलक्रमबाटसमेत राजीनामा दिई देशै छाडेर गएका हुन् । सपरिवार भारतको बैङ्लोर गएका उनी त्यसपछि फर्किएनन् । मोहनशमशेर पनि आफ्नो शासन समाप्त भएपछि त्यहीँ पुगेर शेष जीवन निर्वासनमा बिताए । मोहनको देहावसान हुँदा आर्थिक संकट आइपरेको थियो । त्यस बखत पद्मले आर्थिक जोहो गरेर दाहसंस्कार गरिदिनुपरेको थियो ।

नेपालको प्रजातन्त्र र इतिहासका कुरा गर्दा जुद्धशमशेर र मोहनशमशेर नछुट्ने नाम हुन् । उनीहरूको शासनकाल र सत्ता बहिर्गमन कस्तो रह्यो ?
१९९७ सालको काण्डपछि जुद्धशमशेरमा वैराग्य उत्पन्न भएको देखिन्छ । व्यक्त नगरे पनि उनमा पश्चात्ताप थियो । अंग्रेजहरूले भारत छोड्दा नेपाललाई दिन चाहेको भूमि स्वीकार नगर्ने शासकका रूपमा पनि उनलाई स्मरण गर्नुपर्छ । सन् १९४२ मा भारत छोडो आन्दोलन सुरु भएपछि त्यहाँका तत्कालीन भायसरायले भारत छोड्ने निश्चित गरिसकेका रहेछन् । त्यसपछि दूत पठाएर महाराज जुद्धलाई कलकत्ता बोलाई ‘हामी भारत छाड्दै छौं, तिमीहरूको देशको पहुँच समुद्रसम्म छैन । त्यसैले पूर्वी नाकाबाट बंगाल खाडीसम्मको भू–भाग तिमीहरूलाई सुम्पिएर मात्र छोड्न चाहन्छौं’ भनेछन् । तर जुद्धशमशेर उक्त प्रस्ताव आँटै नगरी फर्किएछन् ।

खासमा अंग्रेजहरू भारतलाई घेर्न सकिने गरी टुक्राटुक्रा पारेर जान चाहेका रहेछन् । त्यसैले नेपाललाई समुद्रसम्मको पहुँच बनाउन भनेका रहेछन् । जुद्धले त्यति बेला आँट नगरेकैले देश ‘लेन्डलक’ बन्न पुगेको हो । यो कुरा मैले आफ्नो पुस्तकमा समेत उल्लेख गरेको छु । एकाएक २००२ मंसिर १४ गते उनले सिंहदरबारको शासनसत्ता छाडे । जोगीको रूप धारण गरेर पश्चिम नेपालको अर्गेली लागे । सिंहदरबारमा पद्मशमसेर विराजमान भए । पद्मलाई मोहन, बबर र शंकरशमशेरहरू अनुदार शासकका रूपमा चलाउन चाहन्थे । तर उनी ‘लोयल’ किसिमबाट चल्न चाहन्थे । पद्मलाई ९७ सालको काण्ड र भारतमा भएको परिवर्तनबारे जानकारी थियो । त्यसैले उनी र भाइभारदारबीच खटनपटन सुरु भएको थियो । उनलाई भाइभारदारहरू ‘रुन्चे महाराज’ भनी सम्बोधन गर्न लागेका थिए । उनलाई आफ्नैबाट त्रास महसुस हुन थाल्यो । त्यसैले २००४ सालमा औषधि गर्ने बहानामा कलकत्तातर्फ लागे । मुख्तियारी पदमा रहेका मोहनशमशेर मौकाको फाइदा उठाउँदै आफू श्री ३ बन्ने धुनमा लागे । पछि पद्मले फर्कनु उचित नभएको ठहर गर्दै २००५ वैशाख १ मा भारतको राँचीबाट राजीनामा लेखी पठाए । मोहनशमशेर श्री ३ घोषित भए ।

कडा स्वभावका मोहनको गतिविधि राजा त्रिभुवनलाई समेत चित्त बुझेको थिएन । भित्रभित्रै अन्य समूहसँग सम्पर्क स्थापित गरिरहेका थिए । २००७ कात्तिक २१ मा राजा नाबालक एक नाति (ज्ञानेन्द्र) लाई छाडेर सिकार खेल्ने बहानामा भारतीय दूतावास छिरे । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको ‘ग्रिन सिग्नल’मा उनी कात्तिक २५ मा दिल्ली उडे ।

दिल्लीमा कांग्रेस, राजा र राणा सरकारबीच सम्झौतापछि फागुन ४ मा सपरिवार काठमाडौं उत्रिए । सम्झौताअनुसार फागुन ७ मा प्रजातन्त्र घोषणा भयो । राणाशासन अन्त्य भयो । प्रजातन्त्र उदय भए पनि संयुक्त सरकारको प्रधानमन्त्री मोहनशमशेर नै बने । यो राजा त्रिभुवनलाई मन परेको थिएन । पछि मोहनले पनि सरकार छाड्नुप¥यो । उनी पनि पनि शेष जीवन बिताउन भारत प्रवास पुगे । बैङ्लोरमै उनको देहावसान भयो ।

प्रतिक्रिया दिनुहोस्