४ जेष्ठ २०८१, शुक्रबार

 

युरोप जाने अवसर खोज्दा ठगिँदैछन् नेपाली विद्यार्थी र कामदार, माल्टा भन्छ: ‘स्थायी बसोबास र आफन्त ल्याउने सुविधा छैन’

ललितपुर प्युटारकी सरिता लामा वैदेशिक रोजगारीका क्रममा साईप्रसमा चार वर्ष बसेर फर्किएको एक वर्षजति भइसकेको थियो।एसएलसीसम्म अध्ययन गरेकी उनले फेरि वैदेशिक रोजगारीमा जाने योजना बनाइन्।उनलाई चिनजानका एक व्यक्तिले युरोपेली मुलुक माल्टाका लागि राम्रो जागिर खुलेको सुनाए।

ती व्यक्तिको सहायतामा उनी ग्रीनफील्ड एजुकेशनल कन्सल्टेन्सीको बालाजुस्थित शाखा कार्यालय पुगिन्।जापान जान भाषा सिक्दै गरेकी उनले सुरुमा ग्रीनफील्डका सञ्चालकलाई पनि जापानका लागि प्रक्रिया सुरु गरिदिन आग्रह गरिन्।ती सञ्चालकले ‘जापानमा ढिलो हुन सक्छ, माल्टामा चाहिँ चाँडै हुन्छ’ भनेपछि उनी माल्टाकै लागि राजी भइन्।

प्रलोभन

सरिता लामालाई माल्टाले लोभ्याउनुको अर्को कारण थियो- त्यहाँ दिइने भनेको उच्च तलब।”एक हजार ५० यूरो तलब हुन्छ भनेको थियो,” उनले बीबीसीसँग भनिन्, “मैले साईप्रसमा पनि त्यस्तो धेरै तलब पाएकी थिइनँ। तलब निक्कै धेरै हुने भनिएको थियो।”

ठूलो कमाइ हुने आस देखाउँदा सरितालाई शङ्का नलागेको होइन। तर भोलिपल्ट आफ्ना दाइहरू पनि गएर बुझेपछि उनी माल्टा जाने निधोमा पुगिन्।एक हजार ५० यूरो तलब हुन्छ भनेको थियो, मैले साईप्रसमा पनि त्यस्तो धेरै तलब पाएकी थिइन

सरिता लामा, एक पीडित महिला

उक्त कम्पनीले प्रक्रिया सुरु गर्नका लागि भन्दै उनीसँग एक लाख रुपैयाँ माग गर्‍यो।उनले सामान्य रसिद काटेर एक लाख रुपैयाँ नगद बुझाइन्।त्यसको झन्डै तीन महिनापछि उनलाई ‘जब अफर लेटर’ आयो भनेर बोलाइयो।त्यसमा माल्टाको राजधानी भालेट्टास्थित द ग्रान्ड होटल एक्सेल्सियोमा उनले काम पाएको उल्लेख थियो।तलब तोकिएको थियो- एक हजार ५० यूरो।

माल्टातस्वीर कपीराइटGETTY IMAGES
Image captionआफ्रिका र मध्यपूर्वबाट युरोप पस्न चाहने शरणार्थीहरूको एउटा प्रमुख गन्तव्यमध्ये माल्टा पनि पर्छ

विश्वास

होटलको छाप पनि भएको उक्त पत्रलाई उनले सहजै विश्वास गरिन्।त्यसबीच सरिता लामाजस्तै अन्यलाई विश्वास दिलाउन कन्सल्टेन्सी सञ्चालकहरूले स्वास्थ्य परीक्षण असफल भएका केही व्यक्तिहरूको रकम फिर्ता गरिदिए।रकम फिर्ता पाउनेमध्येमा सरिताका आफ्नै भाइ पनि थिए।”होटलको छाप सक्कली जस्तै देखिन्छ। भाइको मेडिकल फेल भएपछि पैसा फिर्ता पनि दियो। अनि कसरी विश्वास नगर्नू?” उनले भनिन्।

नियमानुसार कन्सल्टेन्सीहरूले विद्यार्थीलाई मात्र विदेश पठाउने प्रक्रियामा सहायता गर्न पाउँछन् भन्ने उनलाई थाहा थियो।त्यसैले उनले सुरुमा “कन्सल्टेन्सीबाट कसरी कामदार पठाउन मिल्छ?” भनेर सञ्चालकलाई सोधेकी पनि थिइन्।”उसले ‘अहिले धेरै मान्छे कन्सल्टेन्सीबाट नै त जान्छन् नि, हाम्रो म्यानपावरसँग पनि कनेशक्न छ’ भन्यो,” उनी भन्छिन्।

शङ्का

‘जब अफर लेटर’ आएको एक महिनाभित्र भिसा आउँछ भनेर उनको राहदानी राखेको उक्त कम्पनीले दुई महिनासम्म पनि भिसा नआएको बताएपछि भने उनलाई शङ्का लाग्न थाल्यो।गत असारमा बालाजुस्थित उक्त कन्सल्टेन्सीको कार्यालय पुग्दा त्यसमा ताला लागिसकेको थियो।त्यहाँ सरिता जस्तै रकम बुझाएर माल्टा जाने भनेर ठगीएकाहरूको ताँती लागेको थियो।त्यसपछि पीडितहरू मिलेर उक्त कम्पनीको मुख्य कार्यालय खोज्दै चाबहिल पुगे।

अविश्वास

त्यहाँ पनि मानिसहरूको ताँती थियो। उनीहरू हातमा पैसाको बिटो बोकेर धमाधम रसिद लिँदै कन्सल्टेन्सीका कर्मचारीहरूलाई दिइरहेका थिए।सरिताजस्तै ठगिएर त्यहाँ पुगेकाहरूले ‘तपाईंहरू पनि ठगिनु होला’ भन्दै सम्झाउँदा पनि कतिले त रकम बुझाउने कार्य जारी राखे।”मान्छे विदेश जाने भनेपछि एकोहोरो हुने रहेछ,” सरिता भन्छिन्, “हामी ठगिइसक्दा पनि अरूले हाम्रो कुरा पत्याएनन्।”

बालाजुमा आफूहरूलाई ठगी गर्ने सञ्चालकले चाबहिलमा पनि ठगी गरिरहेको थाहा पाएपछि उनीहरूले गौशाला प्रहरीमा उजुरी गरे।

माल्टा
Image captionफेसबुकमा गरिएका यस्ता विज्ञापन हेरेर पनि कतिपय व्यक्तिहरू ठगिएको प्रहरी अधिकारीहरू बताउँछन्
तर पक्राउ गर्नुपूर्व नै सञ्चालकहरू रूपबहादुर गुरूङ र सञ्जीव तामाङ फरार भएको प्रहरीको भनाइ छ।सरितालाई ठगी गर्ने ती सञ्चालकहरूले राजधानीका विभिन्न चार स्थानमा कन्सल्टेन्सीका शाखाहरू चलाएका रहेछन्।

करोडौँ रुपैयाँ

उनीहरूले सात सयजना भन्दा बढीलाई माल्टा पठाइदिने भन्दै ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको अधिकारीहरू बताउँछन्।काठमाण्डू प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटी भन्छन्, “एउटै कन्सल्टेन्सीबाट यत्रो धेरै मानिसहरूलाई बाहिर पठाउने भनेर ठगी गरेको भनी आएको सम्भवत: पहिलो पटक नै होला।”

उनका अनुसार पहिले म्यानपावरबाट कामदार पठाउने भन्दै ठगी गरिएका घटनाहरूको मात्र उजुरी आउने गरेकामा अचेल शैक्षिक परामर्श दिने भनेर खोलिएका यस्ता संस्थाबाट ठगिएका उजुरी पनि आउन थालेका छन्।

प्रहरीका अनुसार गत वर्ष भदौमा पनि क्यानडामा काम गर्न पठाइदिने भन्दै केही कन्सल्टेन्सीले ठूलो रकम ठगी गरेको उजुरी आएको थियो।

त्यसबेला केही कन्सल्टेन्सी सञ्चालकहरू पक्राउ पनि परेका थिए।काम गर्ने उद्देश्यले विद्यार्थी भिसामा विदेश जान चाहनेहरू बढेपछि केही वर्षयता कन्सल्टेन्सीका नाममा ठगी बढेको प्रहरी अधिकारीहरू बताउँछन्।तर सबै घटनाहरूको पीडितले उजुरी नगर्दा प्रहरीसम्म आइनपुगेको उनीहरूको तर्क छ।पछिल्लो घटनामा पनि झन्डै डेढ सय पीडितहरूले मात्र प्रहरीमा उजुरी गरेको बोगटीले बताए।

अनुसन्धानका क्रममा प्रहरीले ग्रीनफील्ड एजुकेशनल कन्सल्टेन्सीले सात सय जनाभन्दा बढीसँग सम्झौता गरेको र झन्डै तीन करोड रुपैयाँ उठाएको देखिएको अधिकारीहरू बताउँछन्।

स्थायी बसोबासको लोभ

विगत एक-दुई वर्षदेखि युरोपको एउटा सानो देश माल्टामा अध्ययन, काम र स्थायी बसोबास गर्न पाइने भन्दै कतिपय कन्सल्टेन्सीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्दै आएका छन्।तिनै विज्ञापन हेरेर कतिपयले कन्सल्टेन्सीहरूलाई रकम बुझाउने र ठगीमा पर्ने गरेको बताएका छन्।त्यस्तै मध्येका एक हुन्- मकवानपुरको हेटौँडाका विकास सापकोटा।

फेसबुकमा माल्टामा राम्रो जागिर पाइने विज्ञापन देखेपछि उनले त्यहाँ दिएको फोन नम्बरमा सम्पर्क गरे र काठमाण्डू आए।

माल्टा
Image captionग्रीनफील्ड एजुकेशनल कन्सल्टेन्सीले कामदारसँग सम्झौता गरिएको यस्तो पत्र समेत दिएको थियो

उनकै सूचनाका आधारमा हेटौँडाबाट आठ-दश जना अन्य युवा पनि काठमाण्डू आएर ग्रीनफील्ड एजुकेशनल कन्सल्टेन्सीमै पुगेका थिए।उनीहरूले प्रक्रिया थालनीका लागि भन्दै दुई-दुई लाख रुपैयाँ बुझाए।कन्सल्टेन्सीकै सुझावका आधारमा होटलमा काम गर्नका निम्ति ‘कुक’को तालिम पनि लिए।

“हामीलाई गएको असारमा पो थाहा भयो देखाएका सबै कागजात नक्कली रहेछन् भनेर,” सापकोटा भन्छन्, “सुरुमा ठग्छ भन्ने लाग्दै लागेन।”सापकोटाका अनुसार ग्रीनफील्डका सञ्चालकहरूले माल्टा पुगेपछि तीन महिनामा युरोपभरि जान मिल्ने खालको कार्ड पाइने बताएका थिए।

सापकोटा भन्छन्, “तीन महिनापछि डिपेन्डेन्टमा श्रीमती पनि लान पाइन्छ र पाँच वर्षमा त्यहाँको पीआर (स्थायी बसोबास) हुन्छ भनिएको थियो।”अहिले पो थाहा भयो – दुबई कतार पठाएका मान्छेलाई फोन गरेर माल्टा पठाएको भन्दै हामीलाई झुक्याएको रहेछ

“अहिले पो थाहा भयो, दुबई कतार पठाएका मान्छेलाई फोन गरेर माल्टा पठाएको भन्दै हामीलाई झुक्याएको रहेछ,” सापकोटा भन्छन्।

बोगटी पनि विदेश जाने भनेपछि नबुझीकन रकम दिने र विश्वास गर्ने कारणले मानिसहरू ठगिएको बताउँछन्।

विद्यार्थी बनेर सोध्दा…

बीसीसी संवाददाताले माल्टा पठाउने भनी फेसबुकमा विज्ञापन गरिरहेका राजधानी काठमाण्डूमा सञ्चालित विभिन्न चारवटा कन्सल्टेन्सीमा विद्यार्थी बनेर कुराकानी गर्दा त्यहाँका कर्मचारीहरूले पनि निश्चित समयपछि माल्टामा स्थायी बसोबास गर्न मिल्ने बताएका छन्।

उनीहरूले माल्टामा राम्रो काम पाइने, अध्ययन गर्दै काम गर्न मिल्ने, तीन महिना पछि आफन्तहरू लान पाइने, त्यहाँबाट पोर्चुगलमा प्रवेश गरी उतैको स्थायी बसोबास गर्न सकिनेजस्ता लोभ देखाए।अन्य मुलुकमा अध्ययनका लागि अङ्ग्रेजी वा सम्बन्धित देशको भाषा परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र आवश्यक पर्छ।तर माल्टामा त्यो आवश्यक नहुने पनि उनीहरूको विज्ञापनमा खुलाइने गरेको छ।

‘ठगी गर्न कन्सल्टेन्सी’

प्रहरीका अनुसार ग्रीनफील्डका सञ्चालकहरूले ठगी गर्नकै लागि कन्सल्टेन्सी खोलेकोजस्तो देखिएको छ।यद्यपि भेटिएका कागजपत्र र अन्य विषयमा अनुसन्धान जारी रहेको उसको भनाइ छ।

माल्टा
Image captionग्रिनफिल्डलाई धेरैले यस्तै रसिद लिएर १ लाख देखि ६ लाख रुपैयाँसम्म नगद रकम बुझाएका थिए

एजुकेशन कन्सलटेन्सी असोसिएशन अफ नेपाल (इक्यान)का महासचिव शेषराज भट्टराई पनि म्यानपावरहरूमा सरकारले केही निगरानी बढाएपछि कतिपय व्यक्तिहरूले कन्सल्टेन्सीका नाममा ठगी गर्न थालेको आरोप लगाउँछन्।उनले भने, “सरकारले म्यानपावरमा निगरानी बढाएपछि उनीहरू यता प्रवेश गरेका छन्। त्यसले साँच्चै व्यवसाय गर्नेलाई पनि मर्का पारेको छ।”

त्यस्ता व्यक्तिहरूलाई कारबाहीका लागि आफूहरूले सरकारलाई बारम्बार जानकारी गराएको उनको दाबी छ।

तर शिक्षा मन्त्रालयले त्यसप्रति वास्ता नगरेको उनी आरोप लगाउँछन्।सरकारी अधिकारीहरू भने यस्ता गतिविधि रोक्ने प्रयास भइरहेको दाबी गर्छन्।सरकारले म्यानपावरमा निगरानी बढाएपछि उनीहरू यता प्रवेश गरेका छन्। त्यसले साँच्चै व्यवसाय गर्नेलाई पनि मर्का पारेको छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख फटिकबहादुर केसीले हालै मात्र सरकारले कन्सल्टेन्सीहरूबारे एउटा अध्ययन गराएको बताए।

“उक्त अध्ययनको प्रतिवेदन तयार हुने क्रममा छ। त्यो तयार भएपछि समग्र रूपमा शैक्षिक परामर्श संस्थाहरूबारे स्पष्ट नीतिगत निर्णयहरू हुनेछन्,” उनले भने।उनले ठगी रोक्नका लागि विद्यार्थी वा विदेश जान चाहने व्यक्ति सबैभन्दा बढी सचेत हुनुपर्ने बताए।

प्रहरी नै पीडित

तर सचेत भनिएका मानिसहरू पनि विदेश जाने लोभमा ठगिने गरेको भेटिएको छ।माल्टा जान पैसा बुझाउनेमध्ये एकजना त प्रहरी हवल्दार नै परेका छन्।सशस्त्र प्रहरीमा कार्यरत प्युठानका कृष्णप्रसाद आचार्यले पनि उक्त कम्पनीलाई माल्टा जाने प्रक्रिया सुरु गर्नका निम्ति एक लाख रुपैयाँ बुझाएका थिए।

तर गत असारमा ठगिएको थाहा पाएपछि उनलाई लज्जाबोध भएको छ।उनले भने, “आफैँ ठगी रोक्ने ठाउँमा छु। अरूलाई सम्झाएर ‘ठगिन सक्छौ है!’ भन्नुपर्ने मान्छे म आफैँ विदेशको लोभले ठगिएँ। के गर्नू? आफ्नै पो बेइज्जत भयो नि!”

अनुमति लिनेको सङ्ख्या

भाषा परीक्षाविनै अध्ययन गर्न जान पाइने भन्दै हाल कतिपय कन्सल्टेन्सीहरूले माल्टाका लागि सामाजिक सञ्जालमा विज्ञापन गर्ने गरेको पाइएको छ।

माल्टा
Image captionशिक्षा मन्त्रालयका अनुसार गत वर्ष तीन सय ३९ जनाले माल्टामा अध्ययनका लागि स्वीकृति लिएका छन्

त्यसरी विज्ञापन गर्नेहरूमध्ये केहीले नक्कली अध्ययन स्वीकृति पत्र जारी गरेको हुनसक्ने देखिएको ग्रीनफील्डबारे अनुसन्धान गरिरहेका अधिकारीहरू बताउँछन्।शैक्षिक परामर्शका नाममा कामदार पठाउने बहानामा ठगी गरेको आरोप लागेको ग्रीनफील्डले पनि नक्कली कागजातहरू बनाएको हुन सक्ने प्रहरीको शङ्का छ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार भने माल्टाका लागि वर्षमा झन्डै तीन सयको हाराहारीमा विद्यार्थीले अध्ययन स्वीकृति पत्र लिएको देखिन्छ।शाखाका अनुसार गत आर्थिक वर्षमा तीन सय ३९ जनाले माल्टाका लागि यस्तो स्वीकृति लिएका थिए।त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा तीन सय १८ र आर्थिक वर्ष २०७३/७४ मा दुई सय ६९ जनाले अध्ययन स्वीकृति पत्र लिएको शाखाले जनाएको छ।यो साउन १ गतेयता भने हालसम्म ११ जनाले यस्तो पत्र पाएका छन्।

माल्टाको भनाइ

माल्टा पठाउने नाममा नेपालमा भएको ठगीबारे माल्टाका अधिकारीहरूसँग पनि बीबीसी नेपाली सेवाले इमेल र फोनमार्फत् जिज्ञासा राखेको थियो।उनीहरूका भनाइमा नेपालमा जसरी माल्टामा सहजै जागिर पाइने भनेर प्रचार गरिएको छ, त्यो सत्य होइन।

माल्टाको शिक्षा तथा रोजगार मन्त्रालयका सञ्चार संयोजक कार्ल बुजेयाले इमेलमार्फत् उत्तर दिँदै लेखेका छन्, “यदि माल्टा वा युरोपेली सङ्घ मुलुकका कामदारहरूले कुनै पनि काम गर्न नसक्ने वा नगर्ने अवस्थामा र तेस्रो मुलुकका कामदारहरू नै दक्ष रहेको भनेर माल्टाबाट माग गरिएको अवस्थामा मात्र तेस्रो मुलुकका कामदारले कामा पाउँछन्।”

उनले युरोपेली सङ्घ वा माल्टाका नागरिकका आफन्तबाहेक अन्यत्रका नागरिकहरूलाई स्थायी बसोबासको व्यवस्था नभएको स्पष्ट गरेका छन्।त्यस्तै युरोपेली सङ्घबाहेक अन्यत्रबाट विद्यार्थी भिसामा माल्टा जानेहरूले आफ्ना आफन्तलाई माल्टा लान नपाउने पनि उनले जानकारी दिए।

कहाँ छ माल्टा?

माल्टा इटालियन टापु सिसिलीको दक्षिणमा अवस्थित सानो देश हो। यो युरोप र उत्तरी अफ्रिकाको बीचमा पर्छ।सन् १९६४ मा ब्रिटेनबाट यसले स्वतन्त्रता पाएको थियो।रणनीतिक अवस्थितिका कारण माल्टा एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र बनेको छ।

माल्टा
Image captionविश्वका १० साना मुलुकमा माल्टाको पनि पर्छ

कन्टेनरहरू र पारवहनको एउटा मुख्य केन्द्रका रूपमा यो देशलाई लिने गरिन्छ।यो चर्चित बिदा मनाउने ठाउँ हो र यसले धेरै आम्दानी पर्यटन क्षेत्रबाटै गर्ने गर्छ।विश्वका १० साना मुलुकमध्ये एक माल्टाको क्षेत्रफल तीन १६ वर्ग किलोमिटर मात्र छ।यहाँको जनसङ्ख्या झन्डै चार लाख ३६ हजार रहेको छ।

युरोप प्रवेश गर्न चाहने अफ्रिका र मध्यपूर्वका शरणार्थीहरूको एउटा मुख्य गन्तव्यका रूपमा माल्टा रहेको छ।माल्टा भएर युरोप प्रवेश गर्न चाहने शरणार्थीहरूको सङ्ख्या सिरिया सङ्कट बढेसँगै निक्कै बढेको बताइन्छ।

वैदेशिक रोजगारी: जाँदा आशा, फर्किँदा निराशा

शरणार्थीको सङ्ख्या बढेकै बेला नेपालीहरूलाई पनि युरोप प्रवेश गर्न सजिलो हुने गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहसँग मिलेका केही व्यक्तिले माल्टा जान प्रेरित गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्