१५ बैशाख २०८१, शनिबार

 

मालिका समाज जापानद्वारा मालिका स्वास्थ्य चौकीलाई विद्युतीय उपकरण सहयोग

बागलुङ । मालिका समाज जापानले बागलुङ नगरपालिका –५ को मालिका स्वास्थ्य चौकीलाई विद्युतीय उपकरण सहयोग गरेको छ । समाजले ल्यापटप, कम्प्यूटर, प्रोजेक्टर एक एक थान र ४ थान भित्तेघडी हस्तान्त्रण गरेको हो ।
समाजका तर्फबाट सहसचिव ठाकुर प्रसाद सापकोटा विकासले वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद शर्मा र स्वास्थ्य चौकी प्रमुख विलास चन्द्र पौडेललाई सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै मालिका समाज जापानका सहसचिव ठाकुर प्रसाद सापकोटा विकासले स्वास्थ्य चौकीमा डिजिटल सेवा प्रदान गर्न सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको बताउनु भयो । कम्प्यूटर तथा ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न स्वास्थ्यचौकीलाई कठिन हुँदै आएको थाहा पाए पछि जापानमा रहेका विभिन्न व्यक्ति र समाजको अग्रसरतामा स्थ्यचौकीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको बताउनु भयो ।

सो अवसरमा वडा अध्यक्ष हरि प्रसाद शर्माले स्वास्थ्यचौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप तथा कम्प्यूटर अनिवार्य भएका बेला स्वास्थ्यचौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुुन स्थानबाट पनि रिपोर्टिङ गर्न सहज भएको बताउनु भयो।

मालिकामा पर्ने हरेक सामाजिक समस्या र वडाको विकासका लागि प्रवासीहरुले गर्दै आएको सहयोगको प्रशंसा गर्दै प्रवासीहरुको मन गाँउमा छ भन्ने भाव जगाएको बताउनु भयो । कार्यक्रममा वडा सदस्य वलराम सापकोटा, महिला स्वास्थ्य स्वयमसेवीका शान्ता केसी, बालमैत्री वडा अभियानका सहजकर्ता अमर थापा लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रम वडा अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षता स्वास्थ्यचौकीका सि।अहेव बैकुण्ठ निउरेको स्वागत र स्वास्थ्य चौकी प्रमुख विलास चन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो । २ लाख १० हजार रुपैयाँको विद्युतिय सामग्री हस्तान्तरण गरेको समाजले यस अधिपनि कोरोनाको समयमा विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्