२१ बैशाख २०८१, शुक्रबार

 

पशु सेवा विज्ञ केन्द्रको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक

 वार्षिक बजेट र कार्यक्रमको सार्वजनिक कार्यक्रममा सहभागी 

बागलुङ र पर्वत जिल्लालाई हेर्ने गरी बागलुङमा मुख्य कार्यालय रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले आफ्नो एक वर्षे कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले चालु आर्थिक वर्ष २०७६/०७७ मा संचालन गर्ने कार्यक्रम र स्वीकृत बजेट पनि सार्वजनिक गरेको छ ।

कार्यालयको चालु वर्षका लागि कुल ४ करोड ११ लाख ८४ हजार रुपैयाँ रहेको छ । पुँजीगत तर्फ १७ लाख १० हजार र चालु तर्फ ३ करोड ९४ लाख ७४ हजार रुपैयाँ रहेको छ । त्यसमध्ये प्रशासनिक तथा उपभोग खर्च ९८ लाख ९१ हजार रहेको छ भने कार्यक्रम खर्च ३ करोड १२ लाख ९३ हजार रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शुम्भुराज पाण्डेले जानकारी गराए ।

बागलुङ र पर्वतमा २० मोडेल फर्म स्थापना गरिने

कार्यालयको चालु खर्च तर्फको आधा बजेट पशुपंक्षी फार्म विकासको लागि अनुदान कार्यक्रममा राखिएको छ । दुई जिल्लामा २० वटा मोडेल फर्म स्थापना गर्ने लक्ष्यका साथ १ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पर्वत र बागलुङ सबै स्थानिय तहका कृषिक तथा फर्महरुलाई समेटने गरी हाललाई २० मोडेल फार्म स्थापनाको अनुदानको कार्यक्रम तय गरिएको छ । एक फार्म बराबर ५ लाख रुपैयाँ अनुदान प्रदान गरिने केन्द्रले जनाएको छ ।  प्रदेश सरकारसँग समन्वय गरी यसलाई ३२ वटा सम्म पुर्‍याउन सकिने केन्द्र प्रमुख पाण्डेले बताए ।

पाण्डेले भने, ‘अनुदानका लागि हालसम्म ३ सय ५८ प्रस्ताव कार्यालयमा परिसकेका छन, प्रस्ताव धेरै आएको हुँदा केही समन्वय गरेर थप १२ मोडेल फर्मलाई हामी अनुदान थप्न सक्दछौं ।  ३२ पुर्‍याउने योजना रहेको छ।’ पर्वत र बागलुङ भेटनरी सम्बन्धी अन्य अनुदानका कार्यक्रम नरहेको हुँदा फार्म विकास अनुदानका लागि धेरैको प्रस्ताव आएको पाण्डेले बताए । फार्महरु छान्नका लागि कार्यालयले मुल्याङकनको आधार समेत बनाएको छ ।

पुर्णखोपयुक्त वडा घोषणा गरिने

केन्द्रले पशु स्वास्थ्य कार्यक्रमका लागि औषधी खरिद, पुर्णखोप युक्त वडा घोषणा, पिपिआर रोग विरुद्धको खोप संचालन लगायतका कार्यक्रमका लागि कुल ४३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । पशुपंछीका लागि दुई जिल्लामा परिक्षणका एक एक स्थानिय तहमा पुर्ण खोप संचालन गरिने छ ।

त्यसका लागि १४ लाख बजेट विनियोजन गरिएको छ । सिप विकास तथा जनचेतना तालिम गोष्ठीका लागि १६ लाख २५ हजार रुपैयाँ, शुसासन तथा व्यवस्थापनका लागि १५ लाख , पशु आहार विकास कार्यक्रमका लागि १३ लाख ५० हजार, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रमका लागि ९ लाख ५० हजार रुपैयाँ, मस्यविकास कार्यक्रमका लागि ९ लाख ५० हजार रुपैयाँ र पशुपंछी बजार प्रवद्र्धन कार्यक्रमका लागि ७ लाख ५० हजार र अन्य कार्यक्रमका लागि १९ लाख ८ हजार विनियोजन गरेको केन्द्रका प्रमुख पाण्डेले बताए ।

रागा (पाडा) हुर्काउने कार्यक्रम

कार्यालय नयाँ कार्यक्रमको रुपमा रागा (पाडा) हुर्काउने, पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम ल्याएको छ । पाडा हुकाउने कार्यक्रमको अहिलेसम्म कार्यविधि बनि नसकेका कारण के कसरी अनुदान प्रदान गर्ने निश्चित भै नसकेको केन्द्रले जनाएको छ । कार्यालयको बजेटमा सरकोकार वला र कृषकहरुले बजेट निर्माण गर्दा सवै पक्षलाई समेटनुपर्ने सुझाव दिएका थिए । उनीहरुले अनुदानका कार्यक्रमको बारेमा अनुगमन आवश्यक रहेको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषालले पछिल्लो समयमा अनुदान पाउने आशामा फार्म दर्ता गर्ने र अनुदान पाएपछि त्यसलाई निरन्तरता दिने काम नदेखिएको बताए । त्यसैले अनुदानका कार्यक्रम छान्दा निस्पक्ष ढंगले व्यवसायीलाई प्रतिवद्ध बनाएर छान्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्