२५ बैशाख २०८१, मंगलवार

 

लिलामीमा महावीरकाे म्यागासेसे

महावीर पुन । यो नाम मध्यम कदको एउटा शरीर मात्र होइन । सामाजिक अभियान हो । निःस्वार्थ सेवा भावना पनि हो । त्यसैले त अन्तर्राष्ट्रिय परिचय बनेको छ– सामाजिक अभियन्ताको ।

६० को उकालो लाग्दै गर्दा पनि पुनमा समाजसेवाको भोक उस्तै छ । होइन, अझ बढेको छ । त्यसले उमेर, थकान सबै बिर्साइदिएको छ । यो त्यही भोक हो, जसले उनलाई एसियाकै नोबेल भनिने म्यागासेसे पुरस्कारसम्म पुर्‍यायो । अरू थुप्रै अवार्ड दिलायो ।

यी अवार्ड अब सायदै उनीसँग रहलान् । उनी आफैं बेच्न खोज्दै छन् । खासमा पुरस्कार बिक्रीका लागि हुँदैनन् । अनमोल हुन्छन् । कुनै पनि पुरस्कार व्यक्तिको क्षमता र योगदानको प्रतिफल हो । त्यसमा ऊ स्वयम् झल्किरहेको हुन्छ । यसर्थमा महावीर आफैंलाई बेच्दै छन् । किन यति कठोर अवस्था आइलाग्यो यी अभियन्तालाई ?

भन्छन्, ‘सरकारबाट आश्वासन मात्र भयो, सहयोग पाइएन ।’ उनी आफ्ना लागि घर बनाउन सहयोग मागिरहेका छैनन् । बरु राष्ट्रकै सम्पत्ति बन्न सक्ने आविष्कार केन्द्र बनाउने योजनामा छन् । जनस्तरबाट केही सहयोग भएको छ तर त्यो पर्याप्त छैन । अवार्ड र पुरस्कार बेच्दा केही भरथेग होला कि भन्ने उनलाई लाग्छ । अनि लाग्छ– एक न एक दिन त कसो केन्द्र तयार नहोला !

म्याग्दीको विकट गाउँमा करिब ६ दशकअघि जन्मिएका पुन किशोर अवस्थामा कक्षा १० अध्ययन गर्न चितवन झरे । त्यसपछि उच्चशिक्षाले निरन्तरता पायो । रचनात्मक शिक्षाको भोक अझै छ । आफूले सिकेको कुरा अरूलाई सिकाउन उत्साही हुन्छन् । त्यसैले आफ्नै पहलमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर खोज, अध्ययन र अनुसन्धानलाई निरन्तरता दिन लागिपरेका छन् ।

आविष्कार केन्द्रको चर्चा धेरैअघिदेखि छ । विधिवत् स्थापनाचाहिँ एक वर्षअघि मात्र भएको हो । सरकारले नै त्यो केन्द्र स्थापना गरोस् भन्ने उनको चाहना थियो । तर भएन । सरकारले यसको महत्त्व नबुझेको उनलाई लाग्छ ।

पुनले करिब २ दशक ग्रामीण परिवेशमा सामाजिक विकासको क्षेत्रमा काम गरे । त्यसले उनलाई समाजको मनोविज्ञान बुझ्न सघाउ पुर्‍यायो । भन्नेहरूले उनलाई सामाजिक अभियन्तासँगै खोजकर्ता, अनुसन्धाता, आविष्कर्तासम्म पनि भन्छन् । उनी आफैंलाई चाहिँ सामाजिक अभियन्ताभन्दा बढी भएजस्तो लाग्दैन ।

नेपाली समाजमा राजनीतिले सबै कुरा परिवर्तन गर्न सकिन्छ भन्नेहरूलाई उनको जवाफ छ– ‘मुलुक राजनीतिक रूपमा स्वतन्त्र भइरहँदा पनि किन परनिर्भर भइरहेको छ ? त्यसतर्फ कहिले सोच्ने ?’ उनको प्रतिप्रश्न राजनीतिक नेतृत्वलाई हो । पुनलाई राजनीतिप्रति कहिल्यै लगाब भएन ।

उनी शिक्षक छँदा पञ्चायती व्यवस्था थियो । कतिले राजनीतिमा लाग्न आग्रह पनि गरे । तर उनले चाहेनन् । ०४५ सालमा देशमा आन्दोलनको वातावरण बनिरहँदा पनि राजनीतिमा लाग्न आग्रह गरिएको तर आफूले बेवास्ता गरेको उनले सुनाए । बरु त्यही बेला अध्ययनका लागि अमेरिका हान्निए ।

उनले त्यहाँ विज्ञान, समाजविज्ञान, कृषि, व्यवस्थापनलगायत एकपछि अर्को विषय अध्ययन गरे । केही विषयमा विशेषज्ञता हासिल पनि गरे । त्यसपछि देशमै केही गर्नुपर्छ भनेर फर्किए । करिब ६ वर्षपछि स्वदेश फर्किंदा बहुदल आएको थियो । तर, समाजको अवस्थामा कुनै परिवर्तन देखेनन् ।

उनलाई लाग्यो, ग्रामीण जनजीवनमा परिवर्तन ल्याउन त्यही वातावरणमा बसेर काम गर्नुपर्छ । त्यसका लागि शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिनुपर्छ । उनलाई सहरमै थुप्रै अवसरहरू पर्खिएर बसिरहेका थिए । तर, विकट गाउँबस्तीमा सामाजिक अभियन्ता बनेर काम गर्न म्याग्दी जिल्लाको आफनो जन्म गाउँ नागी नै  पुगे ।

बिजुली पनि नपुगेका उच्च हिमाली ग्रामीण बस्तीमा बिजुली उत्पादनदेखि बेतारे सूचना–प्रविधि विकास गरे । त्यसमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउन लागिपरे । त्यसको ग्रामीण केन्द्रहरूमार्फत अभ्यास गरे । केही हदसम्म सफलता पनि हात पर्‍यो ।

यता आफूलाई राजनीतिमा लाग्न आग्रह गर्नेहरू यति बेला नेता, सांसद, मन्त्रीसम्म भइसकेका थिए । उनीहरूसँग विकासको कुनै योजना थिएन । पुनसँग योजना र लगनशीलता थियो तर पर्याप्त लगानी थिएन । तर, पनि उनलाई कुनै पछुतो छैन । ‘अहिलेसम्मका आफ्ना काममा सन्तुष्ट छु । कसैप्रति आग्रह र पूर्वाग्रह छैन,’ उनले भने ।

सामान्य शिक्षित पिताको लगनशीलता र मेहनत नै आफ्ना लागि प्रेरणा भएको उनले बताए । म्याग्दीको हिमाली परिवेश उनका लागि उर्वर बन्यो । विकटमा हुर्किएका पुनलाई अहिले पनि सहरभन्दा गाउँघर नै मन पर्छ । भन्छन्, ‘मलाई सहरको भन्दा गाउँको जीवनशैली मनपर्छ, त्यसैले सहरभन्दा धेरै गाउँमै बस्छु ।’

सादा जीवन र उच्च विचारका अनुयायी लाग्छन् पुन । यति बेलाचाहिँ अविष्कार केन्द्रमार्फत देशकै स्रोतसाधनमा आधारित रहेर यहीँको जनशक्तिमार्फत देशलाई समृद्ध बनाउने सपनाको पछि दौडिरहेका छन् । यसैका लागि सन् २००१ मा पाएको म्यागासेसे पुरस्कार बिक्रीका लागि अमेरिका पठाएका छन् । तर अझै बिक्री भइसकेको छैन ।

उनको कर्मपरायणता र लगनशीलतामा विश्वास गर्नेहरूले सघाउँदै पनि छन् । केन्द्रलाई स्वदेश तथा विदेशबाटै पनि आर्थिक तथा भौतिक सहयोग प्राप्त भइरहेको छ । पुनका अनुसार करिब ८ करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

देश विकासको आफ्नो चाहना स्वआर्जन र प्रयासले मात्र साकार पार्न सम्भव नभएपछि उनले सार्वजनिक रूपमा सहयोगको आह्वान नै गरे । सूचना–प्रविधिमार्फत वा प्रत्यक्ष भेटघाटमा उनले आफ्नो योजना र पहलबारे सर्वसाधारणलाई जानकारी गराउँदै आएका छन् । स्वदेश तथा विदेशमा रहेका कतिपय नेपाली र विदेशी उनका लागि सहयोगी बनेर उदाएका छन् ।

एक दशकयताका प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर योजना सुनाउँदै आएका पुनलाई आश्वासन त सबैले दिए । तर काम सुरु गर्दा कसैले सघाएनन् । यसले उनलाई तीतो अनुभूति गरायो ।

अब फेरि प्रधानमन्त्री–मन्त्रीसँग कुनै अपेक्षा राखेर नभेट्ने सोच बनाएका छन् । सरकारले दिने कुनै पनि सम्मान र पुरस्कार नलिने घोषणा गरेका छन् । ‘मलाई सरकारको सम्मान र पुरस्कार चाहिएको छैन, त्यस्तो स्थानमा मलाई निमन्त्रणा पनि नगरियोस्,’ उनले भने, ‘तर पनि कुनै द्वेष र गुनासो छैन, जसले जत्ति बुझ्छ, त्यत्ति न गर्ने हो ।’

२५ वर्षदेखि देशलाई कुनै न कुनै रूपमा योगदान गरे पनि मूल्यांकन हुन नसकेझैं लागेको छ अहिले पुनलाई । यो योगदानबापत उनले कुनै पद–प्रतिष्ठा चाहेका होइनन् । आफूले चाहेको नेपाली समाजको उन्नति र समृद्धि भएको उनले प्रस्ट्याए । हिमाल तथा पहाडका करिब १६ जिल्लामा काम गरेका पुनलाई प्रचार–प्रसारको कुनै लालसा छैन । ती कामको अध्ययन र अनुसन्धान विदेशी अनुसन्धाताहरूले गरेको सुन्दा उनी खुसी मान्छन् ।

सरकारले कहिल्यै ती कामलाई देश विकासमा कसरी उपयोग गर्न सकिन्छ भनेर उनीसँग सोधेको छैन । तर उनी ती सबै अनुभव निःस्वार्थ बाँड्न तयार छन् । ‘वर्तमान सरकारले समृद्धिको नारा अगाडि सारे पनि काम कुन क्षेत्रबाट गर्ने भन्ने स्पष्ट छैन,’ उनले भने, ‘कुरामा मात्र विश्वास गरेर हुँदैन ।’

पुनको बुझाइमा समृद्धिका लागि सबैभन्दा पहिला जनशक्ति पलायन रोक्नुपर्छ । जनशक्ति स्वदेशमा खपत नगरी देश विकास हुनै सक्दैन । विदेशी सहयोगले मात्र दिगो विकास सम्भव छैन ।

सन् २०२० लाई सरकारले पर्यटन भ्रमणवर्ष घोषणा गरेकोमा ग्रामीण पर्यटनका क्षेत्रमा आफ्नो अनुभव सहयोगी हुन सक्ने उनलाई लाग्छ । यसअघिका पर्यटनमन्त्रीहरूसमक्ष उनी यस्ता योजना बोकेर नपुगेका होइनन् । तर त्यहाँ पनि उस्तै तीतो अनुभव छ । कसैले वास्ता गरेनन् । उनले बेठिक भनेका छैनन् ।

हुन पनि हो, कागजी योजना मात्रैले भ्रमणवर्षले अपेक्षित सफलता पाउन सक्दैन । स्थानीय अनुभवसहितका योजना बनाएर विशेष र आवश्यकताअनुसार दक्ष जनशक्ति तयार पार्नुपर्छ । जनशक्तिले श्रम र राज्यले रोजगारी सिर्जना नगरेसम्म विकास सम्भव छैन, चाहे जुनसुकै क्षेत्रमा होस् ।

पुनका अनुसार सामाजिक अभियानको यो २५ वर्षे यात्रामा उनले अझै नतिजामूलक काम गर्न सकेका छैनन् । त्यसैले अहिले राजधानीकेन्द्रित काममा संलग्न छन् । अहिलेसम्मको अनुभवबाट देशविकासको सूत्र मात्र पाएका छन् । ‘बुद्धले ६ वर्षमा ज्ञान प्राप्त गरे तर मैले देशविकासका लागि ज्ञान प्राप्त गर्न २५ वर्ष लाग्यो,’ उनले भने, ‘त्यही ज्ञानका आधारमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको हो ।’

उनको सुझाव छ– देशविकासका लागि नागरिक पनि सहभागी हुनुपर्छ । नागरिकले शारीरिक श्रम, अार्थिक सहयोग जे हुन्छ गर्न सक्छ । ठूलो धनराशि नै आवश्यक पर्छ भन्ने छैन । दैनिक १ रुपैयाँ मात्र सहयोग गरिदिए पनि पुग्छ । उनलाई कतिपय दाताले यसै गरी सघाइरहेका पनि छन् । उनी आर्थिक पारदर्शितामा निकै सचेत छन् ।

सरकारले कुल गार्हस्थ उत्पादनको १ प्रतिशत मात्र बजेट आविष्कारका क्षेत्रमा छुट्ट्याउन सके समृद्धियात्रामा धेरै काम हुने पुन बताउँछन् । अन्यथा यो क्षेत्रमा अपेक्षित विकास गर्न कठिन छ । सरकारले विज्ञान तथा प्रविधि मन्त्रालय गठन गरे पनि आविष्कारका क्षेत्रमा उल्लेख्य काम गर्न सकेको छैन । नास्ट, नार्कलगायत संस्थामा गरिएको लगानी पर्याप्त छैन ।

पुन अहिलेसम्म ४० भन्दा धेरै देश पुगिसके । तर कुनै देशको विकासबाट ओहो भन्ने गरी प्रभावित नभएको सुनाउँछन् । उनका अनुसार अमेरिका, बेलायत, जर्मनीलगायत देशको विकास २ सय वर्षको अनुभवले भएको हो । त्यसै गरी जापान, कोरिया, सिंगापुर, मलेसिया, थाइल्यान्डलगायत देशले ४० देखि ५० वर्षको अवधिमा फड्को मारे ।

२० देखि ३० वर्षको अवधिमा विकासशील देशको श्रेणीमा पुग्न सकिने पुनलाई लाग्छ । तर त्यसका लागि ठीक योजना बनाएर कार्यान्वयन गर्न सक्नुपर्छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, जलविद्युत्का क्षेत्रमा लगानीसहित आफ्नै श्रम, सीप र प्रविधिमार्फत काम गर्नुपर्छ । त्यसैको सुरुआत आविष्कार केन्द्र भएको पुनले दाबी गरे ।

केन्द्रले त्रिविसँग सहकार्यमा काम सुरु गरेको छ । एक वर्षदेखि काठमाडौंलाई केन्द्र मानेर १५ विधामा काम भइरहेको छ । राजधानीबाहिर पनि कृषि विश्वविद्यालय र अन्य संस्थाहरूसँगको सहकार्यमा काम हुँदै छ । करिब २ सय युवाले केन्द्रअन्तर्गत रहेर पोखरा, जनकपुर, चितवनलगायत स्थानमा कुनै न कुनै काम अघि बढाएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायसँगको सहकार्यमा ११ महिनादेखि आविष्कार केन्द्र चलिरहेको छ । पुनसँग यति बेला विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङमा अध्ययन–अनुसन्धानरत युवा विद्यार्थी छन् । उनीहरू आफूले चाहेको क्षेत्रमा केन्द्रसँगको सहकार्य गरिरहेका छन् ।

विद्यार्थीहरूले बायोमेडिकल, सूचना प्रविधि, मेकानिकल, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, बेबी वार्मर, बायोग्यासलगायत एक दर्जनभन्दा धेरै विषयमा आविष्कार क्षेत्रमा काम गरिरहेको उनले जानकारी गराए । केन्द्र पुग्दा अनुसन्धानरत युवा आफ्नो काममा तल्लीन देखिन्थे । पुन बेलाबेलामा उनीहरूसँग परामर्श गरिरहेका हुन्थे ।

प्रतिक्रिया दिनुहोस्