१ जेष्ठ २०८१, मंगलवार

 

प्रचण्डकाे स्वीकाराेक्ति

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहीबार मानवअधिकार आयोगको कार्यक्रममा दिएको अभिव्यक्ति आफैंमा प्रशंसनीय अनि जिम्मेवारीयुक्त छ । तर उक्त अभिव्यक्ति एक दशकअघि दिन सकेको भए नेता प्रचण्डको उचाइ अन्तर्राष्ट्रिय स्तरमै बढ्ने थियो । त्यति बेला उनले १० वर्षे हिंसाका क्रममा हत्याको दोष लागेका आफ्ना कार्यकर्तालाई अदालतले पुर्जी काट्दा दिएका अभिव्यक्ति स्मरण गर्ने हो भने अहिलेको स्वीकारोक्तिले उनको विचारमा कायापलट भएको मान्न सकिन्छ ।

गोरखा फुजेलका नन्दलाल अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्या अभियोगका दोषीलाई अदालतले पुर्जी काट्दा उनले ‘सक्छौ भने हामीलाई पुर्जी होइन, पक्राउ गरेर देखाऊ’ भनेका थिए । उनैले अदालतले सजाय गरेका अभियुक्तलाई सरकारमा रहेका बेला कैद मिनाह गरेका थिए । त्यसै गरी काभ्रेकी मैना सुनुवार हत्या आरोपमा सेनाका कर्णेललाई बेलायत पुग्दा पक्राउ गरिएको घटनामा तत्कालीन माओवादी नेता अग्नि सापकोटाले सार्वभौमिकताप्रतिको आक्रमण भनेर अभिव्यक्ति दिएका थिए । तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराईले पुराना घटना उब्जाएर माओवादीलाई जेल हाल्न खोजिए शान्तिप्रक्रिया छाडेर फेरि विद्रोहमा जान्छौं भन्नेसम्मका अभिव्यक्ति दिएका थिए ।

त्यसैले त्यही पार्टीका तत्कालीन सुप्रिमो कमान्डर प्रचण्डले द्वन्द्वकालीन विवाद समाधान गर्न ढिलाइ भएको औँल्याउँदै बिहीबार मानवअधिकार आयोगमा दिएको अभिव्यक्तिले उनलाई समयको अन्तरालमा परिपक्व नेतृत्वको जिम्मेवारीबोध भएको संकेत गर्छ । उनले उक्त बैठकमा ‘द्वन्द्वकालीन घटनाको जिम्मेवारी म लिन तयार छु । दोषी साबित भए दण्डको भागीदार हुन पनि तयार छु’ भनेका छन् । ढिलै भए पनि जिम्मेवार बन्न उनले देखाएको सहसलाई सम्मान गर्नुपर्छ । त्यही भनाइ व्यहारमा देखाउन सक्छन्/सक्दैनन्, प्रतीक्षाको विषय भएको छ । द्वन्द्वको इतिहासमा आफैंले चलाएको आन्दोलन वा क्रान्तिबाट उत्पन्न परिणामबारे आफ्ना तर्फबाट कमजोरी औंल्याउन सक्ने नेता कालान्तरमा राजनेतामा परिणत भएका उदाहरण पनि छन् ।

भारतमा गान्धीले द्वन्द्वको ‘इस्यु’ पहिल्याएर आन्दोलन उठान गरे । उनले सन् १९१५ मा दक्षिण अफ्रिकाबाट भारत फर्किएपछि अहमदाबादको मजदुर महाजनको विवादमा मध्यस्थता गरेका थिए । उक्त मध्यस्थतामा उनले मजदुरको पीडा सम्बोधन गर्न बाध्य पारेर समाधान खोजेका थिए । त्यसै गरी उनले सन् १९२२ को गोरखपुर जिल्लाको चौरीचारमा गरिएको सत्याग्रहमा नागरिकहरू प्रहरीमाथि जाइलाग्दा २२ प्रहरी मारिए । त्यसपछि उनले आन्दोलन फिर्ता लिएर उक्त घटनाको सम्पूर्ण जिम्मेवारी लिएका थिए । त्यसले गर्दा गान्धीसँग आफ्ना सहयोगी रिसाए । तर अन्तर्राष्ट्रिय स्तरमा उनको स्थान उच्च भयो । कारण, उनले आफ्नो आन्दोलन अहिंसात्मक हुने बताए पनि हिंसात्मक मोड लिएपछि सम्पूर्ण घटनाको दोष स्विकार्दै जेलसम्म जान तयार भएका थिए । उनको त्यो उदारताले एकपछि अर्काे घटनामा दोषी करार गर्न सक्रिय ब्रिटिस शासकलाई पनि झुकाइदिएको थियो ।

यतिसम्म कि उनको आन्दोलनमा सहभागी हुन कतिपय ब्रिटिस शासकका परिवार स्वयम् भारत आएका उदाहरण छन् । सत्यको मार्गलाई अनुसरण गरेकै कारण भारतको स्वतन्त्रता आन्दोलनले सफलता पाएको थियो । नेपालको वर्तमान परिवर्तनको पृष्ठभूमिमा नेता प्रचण्ड छन् । उनको साहस र समर्पणले नेपालको पछिल्लो परिवर्तन सम्भव भएको हो । तर उनले शान्तिप्रक्रियापछि उल्लेख्य त्याग गर्न नसक्दा संविधान लेखनले आठ वर्ष कुर्नुपर्‍यो । उनले हिजोजस्तो अभिव्यक्ति पहिल्यै सार्वजनिक गर्न सकेको भए परिस्थिति अर्कै बन्न जान्थ्यो ।

जसरी संविधान कांग्रेसको नेतृत्वले सम्भव भयो, त्यो अवसर तत्कालीन माओवादीकै नेतृत्वलाई प्राप्त हुने थियो । दलका कार्यकर्ताको नजरमा हिरो साबित भए पनि स्वतन्त्र नागरिक, पर्यवेक्षक र प्रतिपक्षका नजरमा उनको छवि अलि अवसरवादीजस्तो देखियो । पार्टी विग्रहसँगै सहकर्मीले समेत साथ छोड्दै गएपछि पार्टीको साख बचाउन एमालेसँग पार्टी एकता गरे । त्यसले बचाएको साखलाई उपयोग गरेर यति बेला फेरि समस्या समाधानका लागि खरो साबित हुन लागिपरेका छन् ।

उनको आरोह–अवरोहयुक्त विगतलाई नेपाली जनताले गर्व सक्ने स्थान अझै बन्न सकेको छैन । तर उनले १० वर्षे द्वन्द्व र त्यसपछि सत्तामा बस्दा गरेका कमी–कमजोरीबारे नागरिकसमक्ष दोष स्विकार्नु सामान्य प्रक्रिया होइन । त्यसो त उनले पारिवारिक जीवनमा पनि ठूलै वियोग र विपत्ति सामना गरिसकेका छन् । कुनै वस्तुको शिखरमा पुग्न या साहसी नै हुनुपर्छ या त रित्तिएको अनुभव गर्न सक्नुपर्छ । यति बेला प्रचण्डसँग दुवै कुराको अनुभव छ ।

द्वन्द्वपीडितका सबालमा उनले देखाएको महानतालाई पूर्वाग्रही भएर बुझिराख्न आवश्यक छैन । त्यसका लागि उनले व्यवहारमा पनि आफूलाई सरल र निष्ठावान् रूपमा प्रकट गर्न सकून् । द्वन्द्वपीडितका समस्या समाधान गर्न प्रचण्ड आगामी दिनमा त्यसरी प्रस्तुत हुन सके संविधान निर्माणपछिको अर्काे एक अध्याय पूरा हुनेछ । समाजले तिक्तता बिर्सिएर उनलाई दूरदर्शी नेताका रूपमा स्मरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्