विजयादशमीको पहिलो दिन प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरमा श्रद्धालुको घुँइचो लागेको छ । नवरात्री लागेसँगै भाकल गरेकाहरूले बोका, हाँस र कुखुरा बलि चढाउने क्रम सुरु भएको छ । यहाँ धौलागिरि अञ्चलसँगै पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवनसहित देशका विभिन्न ठाउँबाट भक्तजन आएको भगवती गुठी व्यवस्थापक समितिले जनाएको छ ।
मन्दिरमा एकादशी र औंसी तिथि तथा साउन तथा माघ महिनामा भने बलि चढाउन निषेध गरिएको छ । प्रत्येक मंगलबार र शनिबार तथा अन्य ससाना चाडपर्वमा पनि दर्शनार्थी आउने यहाँ नवरात्रीमा विशेष भिड हुन्छ । भक्तजनको सुविधा तथा शान्तिसुरक्षाका लागि समितिले प्रहरी तथा स्वयंसेवक परिचालन गरेको छ ।
मन्दिरमा भेटिएका बागलुङका धर्मराज शर्माले अन्य समयमा कम मात्रामा आउने भए पनि नवदुर्गामा सधैं आउने गरेको बताए ।
घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरेर जमरा राखिएको छ । दसैंमा रोजगारीका लागि विदेश गएकाहरूसमेत घर फर्कने भएकाले मन्दिरमा भिड बढेको हो ।
देशका एक सय पर्यटकीय गन्तव्यमा परेको कालिका मन्दिरका लागि संघीय सरकारबाट एक करोड र प्रदेश सरकारबाट ५० लाख रुपैयाँ विनियोजन भएको संघीय सांसद डा. सूर्य पाठकले बताए । मन्दिरमा थप पूर्वाधार निर्माणका लागि आगामी दिनमा पनि बजेट विनियोजनको पहल गर्ने उनले बताए ।
यहाँ दसैं अवधिभरि छिमेकी मुलुक भारतबाटसमेत जोगी–सन्न्यासीहरू आउँछन् । केही समयअघि मन्दिर परिसरमा बसेर माग्नेहरूलाई हटाइएको छ ।
दसैँ सुरु भएसँगै मन्दिर परिसरका होटल भरिभराउ छन् । तर निर्माणाधीन बागलुङ–पोखरा राजमार्गको सडक हिलाम्मे तथा समय–समयमा अवरुद्ध हुने एवं वर्षा बढी भएकाले बाहिरी जिल्लाबाट आउने भक्तजनको संख्या घटेको होटल व्यवसायी अर्जुन चोखालले बताए ।
सोह्रौं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नी छोरीलाई पर्वतका राजा प्रतापीनारायण मल्लसँग विवाह गरिदिने क्रममा छोरीले खेल्ने देवीको मूर्ति दाइजो दिएका थिए । हालको मन्दिर रहेको स्थानमा आउँदा मूर्ति डेग नचलेपछि त्यहीँ प्रतिस्थापन गरिएको र त्यही बेलादेखि यहाँ पूजाआजा सुरु भएको इतिहासमा उल्लेख छ ।
फोटो : मन्जुल शाक्य













































































































































































































