४ जेष्ठ २०८१, शुक्रबार

 

एनआरएनएमा सापकाेटाकाे तेह्रवर्षे अनुभव

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबरमा हुन लागेको अधिवेशनमा बागलुङका सोम सापकोटाले कोषाध्यक्ष उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

उनले एक विज्ञप्ति प्रकाशित विभिन्न कारणले बाध्यतावश जन्मभूमि छाडेर संसारका विभिन्न देशमा रहेका नेपालीसँग सहकार्य गरी उनीहरूको अनुभव र क्षमतालाई सधैं गैरआवासीय नेपालीको हितमा लगाउने प्रतिबद्धतासहित आगामी कार्यकाल सन् २०१९ देखि २०२१ का लागि कोषाध्यक्षको जिम्मेवारीमा रहेर संघको बृहत्तर हितमा काम गर्ने बताएका छन् ।

राष्ट्रिय समन्वय परिषद्का अधिवेशनहरू अन्तिम चरणमा पुगेको जनाउँदै उनले अक्टोबर १७ देखि १९ तारिखसम्म काठमाडौंमा हुने एनआरएनए विश्व सम्मेलन तथा महाधिवेशनका लागि आफू अघि बढेको उनको भनाइ छ ।

मौजुदा कार्यसमितिको पदीय दायित्वका कारण आफूले ढिला गरी उम्मेदवारी घोषणा गरेको सापकोटाले बताए । आउँदो कार्यकाल एनआरएनएको उद्देश्य र गैरआवासीय नेपालीको हितमा केन्द्रित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

नआरएनएमा सापकोटाको यात्रा सन् २००६ मा पोर्चुगलबाट भएको हो । संघमा १३ वर्षे यात्रामा विभिन्न तह र जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिसकेका छन् ।

एनआरएनएमा सापकोटाको पहिलो प्रवेश राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यकारी सदस्य (सन् २००६–२००७) का रूपमा भएको हो । त्यसपछि सन् २००९ देखि २०११ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्षका रूपमा काम गरे ।

सन् २०११ देखि ०१३ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भएर काम गरेको अनुभव पनि सँगालेका छन् । सन् २०१३ देखि ०१५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रको उपसंयोजक, २०१५ देखि २०१७ सम्म आइसिसी सदस्य हुँदै २०१७ देखि हालसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्षका रूपमा संघको अभियानमा क्रियाशील छन् ।

एनआरएनएका विभिन्न तहमा बसेर काम गर्ने सिलसिलामा काम, कर्तव्य र अधिकार प्रयोगमा संस्थागत र पद्धतिगत हिसाबले जिम्मेवारी पूरा गर्ने प्रयास गरेको सापकोटाले बताए । भविष्यमा पनि विगतको अनुभव भरपूर उपयोग गर्दै प्रवासमा बस्ने नेपाली र नेपालको हितमा परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनआरएनएको १६ वर्षको अवधिमा संसारका ८० देशमा संगठन विस्तार भइसकेको छ । सापकोटाका अनुसार गैरआवासीय नेपाली र नेपालकै समृद्धिका लागि एनआरएनए दरिलो खम्बा हो ।

संस्थालाई अझै उचाइमा पुर्‍याउन विभिन्न ८० वटा राष्ट्रिय समन्वय परिषद् अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्, नेपाल सरकार तथा नेपाली नियोग र दूतावास, नेपाललाई सहयोग गर्ने दातृ निकायसँग निरन्तर समन्वय गर्न आवश्यक देख्छन् उनी ।

उनका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा कागजी समस्या परेर विभिन्न देशका जेलमा रहेका नेपालीलाई सहयोग गरेर स्वदेश फिर्ताका लागि एनआरएनए नेतृत्वदायी भूमिकामा क्रियाशील रहनुपर्ने माग उठिरहेको छ ।

एनआरएनएमा आर्थिक पारदर्शिता, आन्तरिक कोषको वृद्धि, सञ्चालनमा रहेका परोपकार योजनालाई प्रभावकारी बनाउने काम नयाँ नेतृत्वले गर्न जरुरी छ । त्यसका लागि सबै प्रकारका कोषलाई बढावा दिन विशेष योजना ल्याउने, घोषणा गरेर नउठेको रकम पनि उठाउन पहल गर्ने कोषाध्यक्ष उम्मेदवार सापकोटाले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्