४ श्रावण २०८३, सोमबार

 

अविवाहित विदेशी जोडीलाई साउदी अरबका होटलमा बस्ने अनुमति

अविवाहित विदेशी जोडीले अबदेखि साउदी अरबका होटलमा एउटै कोठामा बस्न पाउने भएका छन्।कट्टर इस्लामिक कानुन भएको साउदी अरबमा प्रवेशाज्ञासम्बन्धी नयाँ कानुन ल्याइएपछि पुरानो नियममा परिवर्तन हुन लागेको हो।

नयाँ कानुनअनुसार महिलाहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन्।यसअघि महिला र पुरुषले होटलमा एउटै कोठमा बस्न विवाहित भएको प्रमाण पेस गर्नुपर्ने नियम थियो।पर्यटन उद्योगलाई प्रवर्धन गर्न साउदी सरकारले नियम परिवर्तन गरेको हो।

  • के छ नयाँ नियममा?

यसअघि होटलमा सँगै बस्न जोडीहरूले विवाहित भएको प्रमाण देखाउनुपर्थ्यो। तर अब त्यो नियम विदेशीहरूका लागि खुकुलो बनाइएको छ।

“सबै साउदी नागरिकलाई होटलमा बस्न जाँदा परिवारको परिचयपत्र वा उनीहरूबीचको सम्बन्ध प्रष्ट पार्ने खालका केही प्रमाण देखाउन आग्रह गरिएको छ,” पर्यटन र राष्ट्रिय सम्पदा हेर्ने साउदी निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

“विदेशी पर्यटकहरूको हकमा भने यो नियम लागु हुँदैन। सबै महिलाहरू, साउदी अरबकै नागरिकहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन्। तर यसका लागि उनीहरूले आफ्नो परिचय खुलाउनुपर्नेछ।”

हालै सार्वजनिक भएको प्रवेशाज्ञासम्बन्धी नयाँ नियममा विदेशी महिला पर्यटकले पूरै शरीर ढाक्नु नपर्ने तर उनीहरूको वस्त्र शालीन हुने अपेक्षा गरिएको उल्लेख छ।तर साउदी अरबमा मदिरा अझै पनि प्रतिबन्धित छ।

साउदी अरब

के हुन् परिवर्तनका कारण?

संसारकै सबैभन्दा कडा कानुन भएको देशको रूपमा हेरिएको साउदी अरब विदेशी पर्यटक र लगानीकर्ताका आँखामा आफ्नो छवि फेर्न चाहन्छ।

कार्यकारी अधिकार आफूसँग भएका त्यहाँका युवराज मोहम्मद बिन सलमानले साउदी अरबमा केही परिवर्तनहरू गरेका छन्।त्यहाँ महिलालाई सवारीसाधन हाँक्ने अनुमति दिइएको छ र महिलाहरू अबदेखि पुरुष संरक्षकको अनुमतिबिनै विदेश जान पाउँछन्।

साउदी अरब

पर्यटनमा कस्तो प्रभाव?

तर यी परिवर्तनहरू पत्रकार जमाल खशोग्जीको हत्या र अन्य केही विवादास्पद विषयका कारण ओझेलमा परेका छन्।द इन्डिपेन्डन्ट पत्रिकाका पत्रकार साइमन क्ल्याडरका अनुसार भिसासम्बन्धी नियममा अपनाइएको लचकताले साउदी अरब आउने मानिसहरूको सङ्ख्या बढाउन सक्नेछ।

“भिसा लिनका लागि पूरा गर्नुपर्ने कागजी र अन्य प्रक्रियालाई सहज बनाइएकाले यहाँ आउने पर्यटकहरूको सङ्ख्या बढ्नेछ। मेरो विचारमा सुरुमा अरब र यहाँको सम्पदामा रुचि राख्ने मानिसहरूको सङ्ख्या बढ्नेछ।”

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung