१ जेष्ठ २०८१, मंगलवार

 

दुई दशकपछि न्याय

अपराधी अपराध गरेर जहाँ गए पनि उम्कन सक्दैन । यसको पुष्टि झापाका लीलाराज गौतमको अमेरिकामा गिरफ्तारी र सुपुर्दगीले गरेको छ । बलात्कारपछि हत्या गरेर फरार भएका गौतमलाई प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार उनका बारेमा इन्टरपोलमा सूचना जारी गरेर त्यहाँको प्रहरीलाई जानकारी गराइएको थियो ।

गौतमलाई २०१८ फेब्रुअरी ३ मा अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले उनी अमेरिकामा रहेको जनाउँदै पक्रन इन्टरपोल वासिङ्टनसँग आग्रह गरेको थियो ।

०५७ असोज २९ गते राति गौतमसहित मनोज खड्का र सीताराम बस्नेतले चन्द्रगढी–३ की एक युवतीको सामूहिक बलात्कार गरेका थिए । त्यसपछि उनीहरूले युवतीको घाँटी थिचेर हत्या गरी शव रूखमा झुन्ड्याएका थिए । युवतीका बुबाले तीनै जनाविरुद्ध उजुरी दिएपछि प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । तर २०५८ कात्तिक २१ गते जिल्ला अदालत झापाले उनलाई सफाइ दियो ।

पुनरावेदनले पनि जिल्लाकै फैसला सदर गरिदियो । तर, नेपाल सरकारका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन गरिएकोमा तीनै जनाविरुद्ध २०६६ भदौ १९ गते जन्मकैदको फैसला सुनाइएको थियो । गौतम २०५७ कात्तिक १ देखि २०५८ भदौ ३२ गतेसम्म हिरासतमा बसेका थिए ।

त्यसपछि उनी अमेरिकाको भिसा लगाउन सफल रहे । उतै बस्दै आए । तर अपराधीको पिछा राज्यले गरे संसारको कुनै कुनामा गए पनि उम्कन सक्दो रहेनछ भन्ने पुष्टि गौतमको गिरफ्तारीले गरेको छ । अमेरिकी इन्टेलिजेन्स आफंैमा सशक्त निकाय हो ।

अमेरिका प्रवेश गर्नुअगावै उसले प्रवेशाज्ञाको अनुमति माग्ने व्यक्तिबारे विवरणात्मक अनुसन्धान गर्छ । अनि मात्र प्रवेशाज्ञाको अनुमति दिन्छ ।

विभिन्न चरणबद्ध प्रक्रिया पार गरेर मात्र अमेरिकाको प्रवेशाज्ञा पाइने भए पनि कहिलेकाहीँ गौतम प्रवृत्तिका मानिस दूतावासलाई झुक्याउन सफल हुने गरेका छन् । नेपालबाट अमेरिका जानु प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसका लागि विभिन्न एजेन्सी र निकायसँगको मिलेमतोमा गलत मानिस पनि अमेरिका प्रवेश गर्न सफल हुने गरेका छन् ।

त्यस्ता परिवारका सन्तानले अमेरिकाको उच्च शिक्षाका लागि मनग्ये खर्च गर्ने हैसियत राख्ने गर्छन् । सन्तानको अमेरिका प्रवेशसँगै कसुरमा संलग्न अभिभावक पनि अमेरिका जान मार्गप्रशस्त हुने गरेको छ ।

त्यो कर्म आफैंमा अपराधीको संरक्षण हो । अपराधीको संरक्षण कुनै पनि देशले गर्नु अपराधमा संलग्न हुनुसरह हो ।पछिल्लो पटक नेपालमा वित्तीय अपराध गरेका व्यक्ति र उनीहरूका परिवार अमेरिका पलायन हुने क्रम जारी छ । उनीहरूबारे पनि नेपाल तथा अमेरिका सरकारले ध्यान दिन जरुरी छ ।

उनीहरू रोटरी इन्टरनेसनल, जेसिजलगायत अन्तर्राष्ट्रिय संघसंस्थाका कार्यक्रममा सहभागिताको बहाना बनाएर अमेरिका पुग्ने गरेका कतिपय उदाहरण छन् । केही समयअघि जेसिजबाट अमेरिका पुगेका एक युवा व्यवसायी गाँजा तस्करीमा संलग्न भएर कैद भुक्तान गरेका थिए । ती युवा छद्म समाजसेवी आवरणमा सजिलै अमेरिकाको भिसा लगाउन सफल भएको चर्चा पनि चलेको थियो ।

त्यसै गरी अन्य अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध भएर त्यस्ता अपराधी मनोवृत्तिमा संलग्न व्यक्ति विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका पुग्न सफल हुने गरेका छन् ।

त्यसले समाजमा कस्तो मनोवैज्ञानिक प्रभाव पर्ला ? गौतमजस्तै नेपालमा अपराध गरेर अमेरिका पुग्न सफल अन्य अपराधीलाई समेत नेपाल सरकारले फिर्ता गराउने र अमेरिका सरकारले पनि त्यसमा सघाउने काममा ध्यान दिन सकोस् । साथै शिक्षित र उच्च वर्गबाट हुने अपराधलाई पनि त्यसले निरुत्साहित गर्नेछ ।

सकेसम्म अपराधकर्ममा संलग्न व्यक्ति वा कसुरदार परिवार कुनै पनि देशमा भाग्न नसक्ने गरी नेपालको सुरक्षानिकायले ध्यान दिन आवश्यक छ ।

गौतमको गिरफ्तारी र सुपुर्दगीले नेपाल र अमेरिकामा कानुनी शासनको व्यवस्था छ भन्ने एकपटक फेरि पुष्टि भएको छ । त्यसैले असल कामका लागि प्रतिबद्धता र भएका सफल कार्यको प्रशंसा गर्नु उचित नै हुनेछ ।

आगामी दिनमा अपराधकर्ममा संलग्न व्यक्तिले सकेसम्म कुनै पनि देशको भिसा नै नपाऊन् । अपराधीलाई नेपालको कानुनले गर्ने सजायको भुक्तानी यहीँबाट गराउन सकियोस् । गौतमलाई नेपाल फर्काउन सहयोग पु¥याएकोमा इन्टरपोल र अमेरिकी सरकारलाई धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्