२० बैशाख २०८१, बिहीबार

 

कविता

युक्तप्रसाद सुवेदी ‘पहाडी’

 

मेराे देश

 

इतिहासको कालखण्डमा
भुरा–टाकुरामा विभाजित भएर पनि,
एउटै मालामा उनिएर
संसारको शिरमा
उभिएको मेरो देश ।

हिजो–आज,
विखण्डन र विसर्जनका
तीरहरूले आक्रान्त छ ।
वैरीको हातबाट
पानीको मुहान थुनिँदा पनि,
कहिल्यै कसैसँग
नझुकेको मेरो देश ।

हिजो–आज
सत्ताचक्रका कैयाैं घुम्तीमा
देशीविदेशी दलालका सामु
धेरैपटक झुकिसकेछ ।
एउटा बन्दबंगलाभित्र,
एकापट्टि सत्तासीनहरूको शक्ति
अनि अर्कापट्टि
सत्ताविहीनहरूको शक्तिले
सुसम्पन्न मेरो देश ।

हिजो–आज
सत्तासीन र सत्ताविहीनको
कटाक्षेपबाट निस्किएको
कालो धूवाँको मुस्लोले
पिरोलिएको छ ।
गाँउ–बस्ती अनि
सुस्ता र कालापानीमा
राष्ट्रियताको माला जपेर
बसेको मेरो देश ।

हिजो–आज
राष्ट्रियताको मालामा
देशको छाला उतार्न
दिग्गज खेलाडीहरू
अनि राष्ट्रियताको भेषमा
भित्रभित्रै देश गलाउने
धमिराहरूको अतृप्त
लुछाइबाट आक्रान्त छ ।
कुनै समयमा
सतीका आँसुले
अभिशप्त मेरो देश ।
हिजो–आज
यौनदुराचारीका दाउले
अस्तित्व छिनालिएका
अबोध बालिकाका आँसुले
अभिशप्त छ मेरो देश ।
सगरमाथाको शिरबाट
शान्तिको तीर हान्ने
रहर बोकेर विश्वसामु
वीरताको बिगुल
बजाएको मेरो देश ।

हिजो–आज
सत्तालिप्साको
टक्करबाट निस्किएको
रापको तापमा रमाउने
छिमेकी दाउको भयले
त्रस्त छ मेरो देश ।

सदियौंसम्म
चार जात छत्तीस वर्णको
फूलबारीमा
रमेर बाँचेको मेरो देश ।
हिजो–आज
जातजाति र
भाषाभाषीका नाममा
जबरजस्त जन्माइएका
विचार र भावनाले
खण्डित छ मेरो देश ।

संग्रामको मौसममा
समृद्धिको उचाइमा
सजाइएको मेरो देश,
हिजो–आज
समृद्धिको आली लछार्ने
फालीको चोटले
छटपटाइरहेछ मेरो देश ।

बलात्कारी र हत्याराले
चलाएको हतियारले
क्षतविक्षत मेरो देश,
हिजो–आज
बलात्कृत र अपहेलित
चेलीका आँसुले
लुछुप्पै भिजेको छ मेरो देश ।

मित्रताको पानाका
लिखित–अलिखित
शब्दजालको बन्धकमा
फसेको मेरो देश,
हिजो–आज
पारि खेतका स्यालका
दाह्रा–नंग्राले चिथोरिएर
खुम्चिइसकेको
आफ्नो अस्मिता बचाउन
मेची, महाकालीबाट
चिच्याइरहेछ मेरो देश ।

कहाँ छौ तिमी
धर्तीमाताका सपूतहरू !
के गर्दै छौ देशका लागि !
तर बिन्ती छ मेरो,
कोही–कसैका सामु
नझुकाऊ मेरो देशलाई,
झुकेर बाँच्न धेरै गाह्रो छ ।

कहीँकतै
नदुखाऊ मेरो देशलाई,
दुखेर बाँच्न निकैै गाह्राे छ ।
विखण्डनको पाइलामा
नडोर्‍याऊ मेरो देशलाई
भाइ फुटेर बाँच्न
अझै गाह्राे छ ।
छोरी चेलीका आँसुले
नभिजाऊ मेरो देशलाई,
आँसुुले भिजेर बाँच्न, झनै गाह्राे छ ।

अस्तु !

प्रतिक्रिया दिनुहोस्