२० बैशाख २०८१, बिहीबार

 

कोलाज र कहानीहरूमा नारायणगोपाल

हरेक मानिसको जीवनसँग संगीतको सानिध्यता हुन्छ। अहिले चलिरहेको ‘भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’ले सारा नेपालीलाई गीत–संगीतको आयामभित्र समाहित गरिरहेको छ । संगीतको यो वैभव विश्वको हरेका भाषा र संस्कृतिसँग छ।

नेपाली संगीतमा नाम छोपे पनि, नाम नै नलिए पनि कोही कसैले चिन्ने व्यक्तित्व हुन्– नारायणगोपाल। उज्यालो–अँध्यारो, आरोह–अवरोह, आवेश–आवेग, सुर–बेसुर सबै पर्यायबीच एउटा अभेद्य उचाइ हुन्– नारायणगोपाल। जो गीतका कारणले मात्र नभई आफ्नो जीवनका विविध आयामले गर्दा नेपाली समाजसँग अनेकौँ मोडहरूमा ठोक्किन आइपुग्छन्।

मंसीर १९ सँगै नारायणगोपालको सम्झनामा देशमा केही कार्यक्रमहरू आयोजना गरिन्छन्। कयौँ स्रष्टाले उनको नाममा स्थापित पुरस्कारहरू पाउँछन्। यसैबेला रेडियो र टेलिभिजनमा उनका गीतहरू बज्ने गर्छन्। यी औपचारिकताका आयतनहरू हुन्। आयतनको सीमीतता हुन्छ र त्यो मापन गर्न सकिन्छ। तर नारायणगोपाल भने नेपाली जनजीवन तथा संगीतको प्रत्येक सेरोफेरोमा सजीव उपस्थित छन्।

कोलाजहरूमा नारायणगोपाल

विख्यात भारतीय संगीत संयोजक आर.डी वर्मनले उनलाई हिन्दी गीत गाउन चिठी लेखेका थिए। उनी आफू हिन्दी गीत त गाउँथे तर गाएको रेकर्ड नगर्न आफ्ना साथीहरूलाई कडा निर्देशन दिने गर्थे। फलस्वरूप नारायणगोपालले गाएका नेपाल भाषाका गीतहरू र नेपाली गीतहरू मात्र हामीसँग रहेको छ।

गीत गाउनु त उनको कर्म नै थियो। त्यसले बिस्तारै व्यवसायिकताको रुप पनि लिँदै थियो। गीत गाउनका अलवा उनी समग्रमा एक बृहत्तर स्रष्टा थिए। स्रष्टा जो सँधै सृजनशील हुन्छ। गतिशीलता उसको धर्म हो। बहाव, फैलावट र गन्तव्य सृजनशीलताका ‘जन्म, मृत्यु र जीवन’ हुन्।

कलाको प्रवद्र्धन गर्ने उद्देश्यस्वरूप ‘बागीना’ (बाजा, गीत र नाच) नामक पत्रिका नारायणगोपालले सम्पादन गरेका थिए। त्यसबखत उनले लिएका केही अन्तर्वार्ता र लेखेका निबन्ध उच्च कोटीका छन्। शब्दलाई अत्यन्त न्याय गर्ने गायकको रुपमा उनलाई सबैले स्विकार गर्छन्। कयौँ गीतकारका गीतहरू त नारायणगोपालले गीतकारकै अगाडी च्यात्न पछि पर्दैनथे। यसबाट उनको विदेशी साहित्य र कलामा राम्रो ज्ञान भएको पुष्टि हुन्छ।

नेपाल बाहिर कोरियामा गएर गीत गाउँदाको प्रसंग होस् वा अन्य स्थानमा, नारायणगोपालको लिडिङ मेलोडी देखेर सबै मन्त्रमुग्ध हुन्थे। प्रशासक बनेर सांस्कृतिक संस्थानको नेतृत्व लिँदा उनले गर्न खोजेका सुधारका कारण धेरै आत्मीय मानिसहरूसँग उनको खटपट भयो। सृजनशील मानिस जता पुगे पनि फैलावट रोज्छ। विस्तारित हुन खोज्छ। नारायणगोपालका यी सबै गतिविधिहरू कोलाजमा रहेको अनुभव हुन्छ अहिले। र त्यो कोलाजमा सुनिन्छ उनका मर्मस्पर्शी गीतहरू र संगीतको सरसराहट।

आफैँमा एक सशक्त संगीतकार थिए उनी। कयौँ गीतमा संगीत गरेका उनले कम्पोजनको काम पनि गरेका थिए। संगीतमा मात्रै पनि उनको आफ्नै मौलिकता छ। पिता उस्ताद आशागोपाल सितारबादक हुनुसँग मात्र त्यसले साइनो राख्दैन संगीतमा उनको स्वआर्जित लालित्यको रुपमा त्यसलाई हेरे न्यायसंगत हुन्छ।

पक्ष विपक्षहरूले तानातान गर्लान् कि, नारायणगोपाल हाम्रो पक्षका हुन्। परिवार, समाज र सरकारले पनि आफ्नै सीमामा उनलाई अङ्गीकार गर्ला। देशी–विदेशी संगीतका विज्ञहरूले पनि आ–आफ्नो विश्लेषणमा समाहित गर्ने प्रयत्न गर्लान्। यी सबैका सामुन्ने नारायणगोपाल भने एउटा कोलाजको रुपमा उपस्थित भइसकेका छन्। कोलाज, जसलाई पक्रेर कतै राख्न सकिन्न। तर पनि त्यो सजीव भएर सबैभन्दा समीपमा छ।

कहानीहरूमा नारायण गोपाल

एकचोटी कमलपोखरीमा एकजना कलाकारले दुई तीनजना अन्य युवा कलाकारसहित नारायण गोपाललाई पिट्नका लागि तयारी गरे। झक्की स्वभावका नारायणगोपाल पनि पछि हट्ने कुरै भएन। उनी जुध्नै लागे। केहीबेरको घम्साघम्सीपछि आफूले नसक्ने अवस्था देखि नारायण गोपाल भागेर घर पुगी नगेन्द्र थापालाई फोन गरे। नगेन्द्र थापा जो त्यतिबेलाका शक्तिशाली नेता सूर्यबहादुर थापाका भाइ हुन्। नारायण गोपाललाई पिट्ने ती कलाकार केही समय जेल पनि परे।

यसरी नारायणगोपालले आफ्नो पहलमानी स्वभाव पटकपटक प्रस्तुत गरेका थिए। काठमाडौंको नेवार कूलमा जन्मेको काराणले पनि यहाँ भइरहने विभिन्न जात्रा तथा नाचगानहरूमा टोलटोलबीच झगडा परिरहन्थ्यो। नारायणगोपाल पनि यी सांस्कृतिक सवालमा हुने स–साना संग्राममा आफ्नो उपस्थिति जनाउँदथे।

कवि हरिभक्त कटुवाल आसामबाट एउटा सपना बोकेर आएका थिए काठमाडौंमा। उनी गायक नारायणगोपालको स्वरमा आफ्नो कुनै एउटा गीत रेकर्ड गर्न चाहन्थे। तर कटुवाल काठमाडौं आएको केही महिनामा नै उनीहरू दुईबीच गाढा दोस्ती भइसकेको थियो। यसपछि उनीहरू एकअर्कालाई पाइन्टवाल र कटुवाल भनेर सम्बोधन गर्ने हदसम्म पुगे। त्यतिबेला यी दुईको पाइन्टवाल भर्सेज पाइन्टवाल काठमाडौंमा निकै प्रचलित जोक पनि बन्यो। यससँगै कवि हरिभक्तको शब्दका आधा दर्जन गीतहरू नारायण गोपालको स्वरबाट देशदेशान्तर फैलियो र फैलिरहेकै छ।

कटुवाल बारम्बार भन्ने गर्थे हामीसँग दुईवटा नारायणगोपाल भएका भए भारतको कुनै पनि गायकले हामीलाई भेट्टाउन सक्दैनन्। कटुवाल स्वयं पनि भारतीय तथा नेपाली संगीतको मर्मज्ञ थिए।

गायक गुलाम अलि काठमाडौं आएको बेला थिए त्यो। गुलाम अलिले आफ्नो गीत गाउँदैछन् भन्ने थाहा पाएर नारायण गोपाल पनि त्यहीँ पुगेका थिए। हेरौँ न त कस्तो गाउँदो रहेछ यसले मेरो गीत’ भन्दै उनी त्यहीँ पुगेका थिए।

नारायणगोपालको गीत ‘आजै र राति के देखेँ सपनी’मा गुलाम अलिले स्वर तान्न नसकेको देखेर यसले मेरा अगाडी गीत गाउन सक्दैन रै’छ भन्दै त्यहाँबाट हिँडेका थिए। तर यिनै नारायण गोपालले पछि फेरी गुलाम अलि आउँदाका बखत सम्मानमा एउटा पार्टीको आयोजना पनि गरेका थिए।

नारायण गोपाल नाचघरको महाप्रबन्धक हँदा को कुरा हो। नीर शाहले एउटा नाटक मञ्चन गर्नका लागि हल भाडामा लिएका थिए। नाटक मञ्चन भइरहेको बखत अचानक बत्ती गयो र साउण्ड सिस्टम पनि बिग्रियो। मञ्चनमा तीव्र बाधा आएपछि नीर शाह निकै आक्रोशी भएर नाचघरका सहयोगी कर्मचारीलाई भने, कि तिम्रो हाकिमलाई भन्देऊ म यो नाचघर नै आगो बालेर जलाइदिन्छु। यसपछि सहयोगी कर्मचारी डराउँदै नारायण गापाललाई फोन गरेर भने, ‘हजुर नीर शाहज्यू त हाम्रो बत्ती बिग्रेर गर्दा रिसाइबक्सेको छ, नाचघर आगो लाइदिने पो भन्दै हुनुहुन्छ।’

अफिसबाट यसरी एक्कासी फोन आउँदा नारायणगोपाल भने घरमा बसेर भोगटे खाइरहेका थिए। कत्ति पनि नरिसाई उनले जवाफ दिए– ‘नीर शाहलाई सलाई र मट्टितेल पनि देऊ। हेरौँ हिम्मत छ भने जलाउलान् कि?’

पछि प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम हुँदा नारायगोपालले नीर शाहको पर्खि बसेँ आउला भनी गीत गाउने क्रममा भने, ‘प्रतिभा भन्ने कुरा सानो ठूलो हुँदैन। जस्तै यो गीतका सर्जक र संगीतकार दुवै नयाँ पुस्ताका भए पनि यति उत्कुष्टता दिन सक्नु धेरै ठूलो कुरा हो।’

कवि इश्वर वल्लभले गायक गोपाल योञ्जनसँग मित लगाइदिएपछि यी दुई गायकबीच मितेरी सम्बन्ध चल्यो। ‘मीतज्यू नाइट’ सफलतापूर्वक सम्पन्न भएपछि नारायगोपाल त्यसबापत आएको पैसा लिएर दार्जि्लिङ पुगे। फर्किदाँ पेमला लामालाई पनि लिएर आए। लिएर मात्र आएनन् सदाका लागि आफ्नो बनाएर ल्याए।

यसपछि काठमाडौँमा आफ्नो घरमा अन्तरजातिय विवाह गरेका कारण उनीलाई स्वीकार गरिएन्। नारायगोपाल यसपछि पोखरा गए। पोखरामा उनी भूपी शेरचनको घरमा बसे र शिक्षण कार्य गर्न लागे।

यसरी आफ्नो स्वाभीमानका लागि जस्तोसुकै अफ्ठेराको सामना गर्न पनि पछि नपर्ने नारायणगोपालको स्वभाव थियो। चित्त नबुझेको गीत गाएनन्। शक्ति, सत्ता र दबाबको आधारमा संगीतलाई उनले लिलामीमा राखेनन्। होला तत्कालीन परिस्थतिसँग उनले विद्रोहको झंकार दिन सकेनन् तर आत्मसम्मान र संगीतमा कुनै सम्झौता गरेनन्। यी कहानीहरूले उनको उदारता र स्पष्ट व्यक्तित्वको परिचय दिन्छ नै।

व्यक्ति समाजको रिफ्लेक्सन हो। व्यक्तिमा तत्कालीन राजनीतिक परिस्थिति, जीवनशैली र जन्मजात सांस्कृतिक गुणहरू विद्यमान रहन्छ। समय बदलिने क्रममा ती कुराहरूले अर्को मान्यता पाउन सक्छन्। नारायणगोपाल गायक हुन्। नेपाली गायकहरूका पनि प्रिय गायक।

यसर्थ नयाँ पुस्ताले उनका जीवनका गन्थन–मन्थन भन्दा पनि संगीतको प्राविधिक पक्ष र उनका बृहत्तर क्षमताका आयामहरूबाट केही सिक्ने हो कि? संगीतको नयाँ मार्गमा हिँडिरहँदा इतिहासको सत्यलाई अङ्गिकार गर्ने हो कि? र नारायणगोपाललाई कहानीहरूको अगम्य कोलाजबाट मुक्त गर्ने?

०००

मंसिर १९, नारायणगोपाल स्मृति दिवस हो।

प्रतिक्रिया दिनुहोस्