१७ बैशाख २०८१, सोमबार

 

बङ्गालमा नेपाली साहित्य नलेख भनिएको छैन

प्रा. दिवाकर प्रधान

भारतीय भाषा विभागाध्यक्ष, काशी हिन्दू विश्वविद्यालय

 

दार्जिलिङमा नेपाली कला, साहित्य र संगीतको विगत र भविष्य कस्तो छ ?

यो प्रश्नले मलाई श्री अरविन्दको ग्रन्थ ‘फ्युचर पोएट्री’ सम्झना भयो । सन् १९१७ मा छापिएको यस ग्रन्थमा ‘कविता भविष्यमा मन्त्र हुन सक्छ’ भन्ने उल्लेख छ । क्याम्ब्रिजबाट शिक्षा पाएका अरविन्द भिक्टोरियाली अंग्रेजी भाषामा अभ्यस्त थिए जो गुजरातको बडोदा कलेजमा पढाउँथे । नवजागरण कालावधिमा उनी राजनीति, धर्मशास्त्र र दर्शनजस्ता विषयमा केन्द्रविन्दुमा रहे ।

अरविन्दजस्ता चिन्तकका दर्शन–विचार प्रचारित हुने ठाउँ दार्जिलिङको नवजागरण युग हो जसमा सुधपा, दानियल खालिङ, श्री वीरेन्द्र, ओकिउयामा ग्वाइन, ईश्वरवल्लभजस्ता कवि, भेषराज शाक्य र उनका चेला एमपी बराइली, केबी योञ्जन, लीलाप्रसाद राई, लालमान राई, श्याम राई, प्रकाश कोविदजस्ता मूर्तिकार, गोरे डगलस, टीकाप्रसाद राई, बीआर गुरुङ, डीएम गुरुङ, केबी योञ्जन, प्रेम केसी, एलके बस्नेत, भोटु प्रधान, टङ्क दर्नाल, अशोक राई, धनबखत राईजस्ता चित्रकार, दलसिंह गहतराज, हिराकुमार सिंह, एलटी लामा, भोटुसिंह बराइली, लालबहादुर बराइली, नवीन बरदेवा, दरोत्री सितलिङ, शिवप्रसाद सिंह, अम्बर गुरुङ, बखतवीर बुढापिर्ती, जगत्वीर बुढापिर्ती (जजी बेङ्क), कपिलराज सुब्बा, शेखर दीक्षित, पासाङ वागेल, शान्ति ठटालजस्ता गायक र संगीतकार, जगदीशचन्द्र राई, मधु सिंह, एमएन प्रधान, माणिकचन्द्र प्रधान, वाङ्गेल लामा, वीरेन्द्र सुब्बा, त्रिरत्न तुलाधरजस्ता शास्त्रीय गायक र वाद्यवादक, धनवीर मुखिया, एसडी लामा, छविलाल शर्मा, भैयासिंह गजमेर, हर्कबहादुर शाही, मनबहादुर गुरुङ, रतनलाल ब्राह्मणजस्ता रंगकर्मी सहभागी थिए । फुटबलर चन्दनसिंह, पहलमान भीमसेन स्यान्डो, बडीबिल्डर बलबहादुर परियार, बबी सिंह, रवि राई, श्याम बमजन, प्रेमेन्द्र प्रधान, भीम गुरुङ, गनु गिरी, गणेश प्रधानहरू पनि सहभागी थिए ।

स्वतन्त्रतापूर्वको भारतको इतिहासमा यहाँका नेपालीको योगदान कस्तो छ ?

स्वतन्त्रतापूर्वको भारतवर्षको इतिहासमा ज्ञानविज्ञानका विभिन्न शाखामा उत्प्रेरक र प्रभावकारी व्यक्ति जन्मेका पाइन्छन् । नवजागरण कालमै पनि भारतका महान् दार्शनिक, वैज्ञानिक, साहित्यकार, कलाकार जन्मेका देखिन्छन् । दार्शनिक जिद्दु कृष्णमूर्ति र आचार्य रजनीशजस्ता व्यक्तिसमेत स्वतन्त्रतापूर्वै जन्मेका थिए । स्वतन्त्रतोत्तर जन्मेका दार्शनिक यत्तिको स्तरमा कमै देखिन्छन् ।

वर्तमानमा दार्जिलिङ क्षेत्र ललितकलामा निमिट्यान्न छ त सिधै भन्न सकिँदैन । अध्ययनमा अभिरुचि राख्ने र समाज निर्माण गर्नेहरू पनि उल्लेख्य छन् । तापनि राजनीति सबै शास्त्रको मूलजड हो भन्ने मान्यता राख्दा यहाँ राजनीति नै विशृंखलित भएकाले जरै दुर्बल हुन पुगेको देखिन्छ । यस्तो अवस्थामा ज्ञान–विज्ञानको तृष्णा पूरा हुन गाह्रो पर्छ । त्यसै पनि दार्जिलिङको दार्शनिक आधार पहिल्यैदेखि शिथिल रहँदै आएको छ । यस्तोमा पनि भारतीय नवजागरण कालको प्रभावमा दार्जिलिङले विभिन्न क्षेत्रमा सराहनीय छाप छोड्न पुगेको छ ।

नेहरूजीका पालामा अखण्डित भारतीय राष्ट्रिय कांगेसका लागि एकल महासचिव दार्जिलिङले दिएको थियो, डोर मनेन । संविधानसभामा नरबहादुर गुरुङ र अडबीबहादुर गुरुङ थिए । साहित्यमा सूधपा र सुधिजन अनि संगीतमा सुविज्ञजन थिए । त्यस बेलाको कांग्रेस, कम्युनिस्ट, गोरखा लिगमा दार्जिलिङका विद्वान्हरूले भाग लिई जाति र देशबारे सोच्दथे ।

बिस्तारै जरा मक्किँदै गयो । मधेसबाट जरा मक्काउने बुद्धि, ड्रग आदि तत्त्व आउन थाले । बिकुवा राजनीति बढ्यो । जातिप्रेम भावनामा मात्र हुन थाल्यो । भाषाभक्ति पनि आडम्बरी भयो । सबैलाई बाँध्ने नेपाली भाषाको डोरी खुकुलो बनाउने तत्त्व देखापरे । साहित्य–दर्शनबारे गहिरा अध्ययन गर्ने अध्येता धेरै अब छैनन् । यस्तोमा पनि तत्त्वान्वेषी विषयमा उच्चाध्ययन गर्नेहरू विभिन्न विश्वविद्यालयमा भेटिन्छन् । विभिन्न विषयमा शोध गर्नेहरू देश–विदेशमा पुगिरहेका छन् ।

भारतमा नेपाली साहित्यको प्रभाव कस्तो छ ?

अंग्रेजी र नेपालीबाहेक महाविद्यालय–विश्वविद्यालयमा हिन्दी र बङ्गला विषय पढाउनेमा पनि गोर्खा शिक्षकहरू बिस्तारै बढ्दै छन् । नियमपूर्वक शास्त्रीय र लोकसंगीत सिकेर देशविदेशमा प्रस्तुत भइराखेकै छन् । विश्वविद्यालय स्तरमा संगीतकला वा दृश्यकलामा अध्ययन गर्नेहरू पनि फाट्टफुट्ट बढ्दै छन् । नेपाली साहित्यमा नवीन विषयमा शोध भइरहेका छन् । कतिपय विश्वविद्यालयमा अंग्रेजी विषयमा नेपाली साहित्यबारे पनि शोध गरिँदै छन् । शोध त गरिँदैछन् तर सिर्जनात्मक साहित्य दुर्बल छ।

भारतको नेपाली साहित्यमा अहिले भनेजस्ता गुणस्तरीय गद्याख्यान र निबन्ध रचना हुनसकेका छैनन् । अधिकांश कविता अझ पनि भावुक नै छन् । पिन्चे र गनगने कविता धेर लेखिने हुँदा पाठक घट्दै छन्। किन पो पढ्छन्, एकैखाले कविता, जो पचास वर्षदेखिकै रटीरटाउ विषय– हामीलाई हेप्यो…, डम्फु–मादल…, दौरा–फरिया हरायो…, फेसनले संस्कृति बिगार्‍यो…, धोका पाएँ…।

भारतमा बस्ने नेपालीको अवस्था कस्तो देख्नुहुन्छ ?

गोर्खाले जस्तै राज्य नपाएका जाति भारतमा धेरै छन् । हेप्नु भनेको देशमा छुट्याउनु भन्ने बुझ्नुपर्छ । हाम्रोमा भएको हेपाइ राजनीतिक हो, अफ्रिका–अमेरिकाको हेपाइ सांस्कृतिक पनि हो । यसरी दुई किसिमका किनारीकरण वा तटीकरण देखिन्छ । बङ्गालमै पनि नेपालीमा साहित्य लेख्ने वा गीत गाउनेलाई ‘नगाऊ’ भनिएको छैन । नेपालीका राम्रा साहित्यकार वा संगीतकारलाई पनि अरूलाई जस्तै सत्कारै गर्छन् । परतन्त्र हब्सीका लागि त मातृभाषा पढ्नुमा, लेख्नुमा, गाउनुमा, खेल्नुमा पनि प्रतिबन्ध थियो । यस्तो सांस्कृतिक आपत्ति त हामीलाई परेको छैन । साहित्य, दर्शन, कला, क्रीडामा उन्नति गर्न हामीलाई छुट छ । उन्नति गर्नेलाई हेप्दैनन् ।

गाउनमा छुट छ भनेर नेपाली गीत मुख बटार्दै गाए भने त जसले पनि हेप्छन् । टप्परटुइयाँ वा टिठलाग्दा कविता लेखे कहाँ मान्यता पाइन्छ र ! एकातिर संवैधानिक मान्यताप्राप्त प्रमुख भारतीय भाषा नेपाली भएपछि अर्कोतिर विकसित भाषाहरूमा जस्तै साधुसाहित्य दिन सक्नुपर्ने हो ।

नेपाली पहिचानको अवस्था ?

लुगाफाटा पनि भूषाचार (फेसन) भए मात्र चल्दछ । नत्र कालग्रस्त वा अप्रचलित हुँदै छ । पहिले फरिया, पटुकी चौबन्दी, दौरा फेसन थिए । अहिले स्पर्धाको युगमा डिजाइनरले डिजाइन गरे, मोडलले प्रतिरूपण (मोडलिङ) गरे, व्यापारीले विपणि (बजार) मा ल्याए मात्र फेसन बनेर उपभोक्ताले लाउँछन् । सुहाउँदिलो नदेखिए लगाउँदैनन् ।

यस कारण लुगाफाटा फेसन बनिनै पर्छ । मसित चार समुच्चय (सेट) दौरा–सुरुवाल छन्, बेलाबेला लाउने गर्छु तर मलाई हेरेर अरूले लाउँदैनन् । डिजाइन गरेको पहिरन मोडलले लाएर फेसन बनाइदिए मात्र लाउँछन् । पन्जाबी मुसलमानहरूले कुर्ता–पाइजामालाई फेसन बनाएकाले सबैले लाउने भए । नेपालबाट जातीय पहिरनलाई भूषाचार बनाउने सत्प्रयास भइरहेको छ, यता पनि यसको अभिसार आरम्भ भइसकेको छ ।

फेसनले संस्कृति बिगार्‍यो भन्नुचाहिँ हाँस उठ्दो कुरा हो । संस्कृति भन्नु नै फेसन हो । फेसन नगरे त प्रकृति हुनेछ । प्रकृतिवादी नै हुनु हो भने त केश काट्नुभएन, सिँगान फ्याँक्नु भएन, नुहाउनु भएन । प्रकृतिलाई संस्कार गर्ने यी फेसनक्रिया नै संस्कृति हुन् । अर्को कुरा भूषाचार वा फेसनको पनि संहिता (कोड) हुन्छ । आचार संहिता नमानेर उटपट्याङ गर्नुचाहिँ संस्कृति होइन तर विकृति हो ।

प्रतिक्रिया दिनुहोस्