१७ बैशाख २०८१, सोमबार

 

‘हामी शिक्षालाई विवेक र व्यवहारसँग जाेड्छाैं’

श्यामप्रसाद शर्मा, प्रिन्सिपल, गरिमा आवासीय मावि, डिग्निटी कलेज, बागलुङ

 

शिक्षाक्षेत्रमा कसरी आउनुभयो ?

शिक्षा क्षेत्रमा केही योगदान गर्न सकिन्छ भन्ने सोच विद्यालय तहको शिक्षा पुरा गर्ना साथ पलाएको थियो ।  त्रिविबाट अग्रेजी विषयमा एमए गरेपछि केही समय क्याम्पसमा अध्यापन शुरु गरे ।त्योभन्दा पनि पहिले निजी विद्यालयमा पढाएको अनुभव थियो ।आधुनिक ब्यवस्थापनमा विद्यालय र कलेज चलाउँने योजना साथीहरुसँग बनेपछि एउटा समुह बनाएर यस क्षेत्रमा लागेको हो ।अहिले आएर त्यो दिन सम्झदा निकै आनन्द लाग्छ ।मैले पनि सोचें, गरिमा आवासीय मावि र डिग्निटी कलेजलाई गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाका रूपमा विकास गर्न सके स्थानीयलाई ठूलो राहत हुनेछ । त्यसपछि यता मोडिएँ ।

गरिमा मावि र डिग्निटी कलेजलाई शैक्षिक गन्तव्य बनाउने भन्नुभयो । यसका विशेषता के–के छन् ?

कुनै पनि शैक्षिक संस्थालाई उचाइ प्रदान गर्न सामूहिक संकल्प र योगदान चाहिन्छ । जसको केन्द्रविन्दुमा निर्दोष र चञ्चल विद्यार्थी हुन्छन् । जसले विद्यार्थीको मनोविज्ञान पढेर उसलाई सहजीकरण गर्न सक्छ, असल साथीजस्तै, मायालु अभिभावकजस्तै व्यवहार गर्छ, त्यस बेला मात्र विद्यालयले योजनाबद्ध रूपमा आफूलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्न सक्छ ।

विद्यालयले विद्यार्थीको सिर्जनशीलता र मौलिक पक्षलाई कसरी आकार दिन सक्छ ?

२०६५ सालमा विद्यालय सञ्चालनमा आउँदा धेरैलाई लागेको थियो, हाम्रा अगाडि चुनौतीको पहाड छ । हामीले विद्यार्थी, सञ्चालक, अभिभावक, शिक्षक र कर्मचारीसँग बसेर एउटा प्रतिबद्धता गरेका थियौं कि हामीले विद्यार्थीको फरकफरक स्वभाव र आनीबानीलाई ध्यानमा राखेर उनीहरूभित्रको प्रतिभा र सम्भावनालाई आकार दिन प्रयत्न गर्नेछौं ।

शिक्षालाई व्यवहारसँग जोड्न र शिक्षासँगै विवेकलाई पनि लैजाने खालको नागरिक उत्पादन गर्नु अहिलेको प्रमुख आवश्यकता हो । यसका लागि मौलिक शैक्षिक चिन्तन हुनु जरुरी छ । शिक्षक नै शिक्षाको आधार हो । शिक्षकको बहुआयामिक बौद्धिक विकासमा विद्यालयले विशेष ध्यान दिएको छ । शिक्षक योग्य भए मात्र विद्यार्थीले पढाइ र जीवनमा राम्रो गर्न सक्छ ।

विद्यालयले क्रिकेट खेललाई प्राथमिकता दिनुको कारण के हो ?

क्रिकेटमा युवा पुस्ताको धेरै रुचि छ । विद्यार्थीको त्यही चाहनालाई केन्द्रित गरी विद्यालयले २०७३ सालदेखि जिल्लास्तरीय गरिमा च्याम्पियनसिप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यसले खेलाडीको प्रतिभा पहिचान गर्न र स्थानीयदेखि राष्ट्रिय प्रतियोगितासम्म यहाँका खेलाडीलाई कौशल प्रदर्शन गर्न मद्दत पुगेको छ । हामीले क्रिकेटमा गरेको लगानीले विस्तारै प्रतिफल दिँदै छ । फुटबल, बास्केटबल, भलिबल, बुद्धिचाललगायत खेललाई पनि उच्च महत्त्व दिएका छौं ।

यहाँबाट उत्पादित जनशक्तिले श्रमबजारमा कस्तो अवसर पाएका छन् ? 

विद्यार्थीले अध्ययनसँगै श्रमबजारमा पनि श्रेष्ठता हासिल गर्न सकून् भनेर विशेष ध्यान दिएका छौं । त्यसैले नियमित विषयविज्ञ बोलाएर उनीहरूको जीवन–संघर्ष पनि सुनाउने गरेका छौं ।

प्रयोगात्मक सिकाइलाई प्राथमिकतामा राखेका छौं । अहिले हाम्रा विद्यार्थी निजामती सेवा, स्वास्थ्य, बैंकिङ, कृषि, व्यापार, शिक्षाक्षेत्रमा क्षमता प्रदर्शन गरिरहेका छन् । कतिपय विद्यार्थीले विषयविज्ञता हासिल गरेर विभिन्न ठाउँमा आफ्नो मौलिक पहिचान देखाइरहेका छन् । केही विद्यार्थी उच्च शिक्षाका लागि विदेशमा छन् ।

निजी विद्यालयले शुल्क बढी लिएको, शिक्षक–कर्मचारीको श्रमशोषण गरेको आरोप छ नि ?

हाम्रो समाजमा निजी विद्यालयलाई हेर्ने दृष्टिकोण राम्रो छैन । कतिपय हाम्रै कमजोरी र कतिपय अवस्थामा सरकारी नीतिले यस्तो भइरहेछ । शुल्क निर्धारण गर्दा जुन मापदण्ड बनाइएको छ, त्यसलाई कडाइपूर्वक लागू गर्नुपर्छ ।

हामीले सेवा दिएअनुसार धेरै शुल्क लिएका छैनौं । शिक्षक र कर्मचारीलाई योग्यताअनुसार पारिश्रमिक दिएका छौं । सरकारले तोकेबमोजिम न्यूनतम पारिश्रमिक  दिएका छौं । नियम–कानुन पालना गर्ने विद्यालयको मनोबल उच्च हुने गरी सरकार र स्थानीय तहले सकारात्मक पहल गरे शिक्षाक्षेत्रमा थप योगदान गर्न सकिन्छ ।

सिकाइ उपलब्धि बढाउन के गर्दै छ विद्यालयले ?

विद्यार्थीको स्वअध्ययनलाई प्राथमिकतामा राखेका छौं । विद्यार्थीले गल्ती गर्छन् । त्यसलाई सच्याउने ठाउँ विद्यालय हो । हामी सबैले बुझ्नुपर्छ, ज्ञान प्राप्त गर्ने विद्यार्थीको आआफ्नो तरिका हुन्छ । कम्प्युटर र साइन्स ल्याबले विषयवस्तु बुझ्न मद्दत गर्छ । त्यसैले हामीले सूचना–प्रविधिमा पनि लगानी गरेका छौं ।

विद्यार्थी र शिक्षकको सिक्ने–सिकाउने पद्धति विकास गर्न विद्यालयले औद्योगिक भ्रमण, बैंक र सहकारीमा अभ्यास र अन्तरक्रियालाई निरन्तरता दिँदै अगाडि बढेको छ । यसैले गर्दा विद्यालय र क्याम्पसको शैक्षिक नतिजा अब्बल छ । व्यवस्थापन विषय पढ्न डिग्निटी कलेज गन्तव्यका रूपमा विकास हुँदै गर्दा हामीलाई आफ्नो मेहनतप्रति गर्व छ ।

विसं २०६७ सालमा जमुना आचार्य अंचलमा उत्कृष्ट गरेको थियो भने अजन्ता भण्डारी २०६८ मा र भुवन कार्कीले २०७२ सालमा जिल्ला उत्कृष्ठ र विविएसमा पुजा पुरीले २०७२ सालमा अंचल उत्कृष्ठ गरेको थियो भने सविता ढकाल र दिवाकर गौतमले २०७४ सालमा अंचल उत्कृष्ठ गरेको थियो ।त्यसै गरी एसइइमा रोहित आचार्य ३.९५ ल्याएर जिल्ला उत्कृष्ठ गरेको थियो ।कक्षा ८ को परीक्षामा उत्तम सापकोटा र राधा शर्माले ४ जिपिए ल्याएर जिल्ला उत्कृष्ठ गरेको थियो ।

अन्त्यमा ?

नयाँ विश्व डटकमले धेरै कुरा भन्ने मौका दिएकोमा धन्यवाद । अभिभावक, विद्यार्थी र सरोकारवालालाई भन्न चाहन्छु– विद्यालय छनोट गर्दा सबै कुरा बुझेर निर्णय लिनुहोस् । केही सुझाव, सल्लाह र आलोचना भए निःसंकोच हामीलाई भन्नुस् । विद्यार्थीले गलत शिक्षा पाए त्यसको क्षतिपूर्ति केहीबाट पनि हुन सक्दैन ।

त्यसको असर समाज र राष्ट्रले बेहोर्नुपर्छ । शिक्षा मानव जातिको सर्वोच्च उपलब्धि हो । हामी सबै सचेत भएर आफ्नो जिम्मेवारी जवाफदेही ढंगले पूरा गर्न खोजे यस्ता गल्ती–कमजोरी रोक्न सकिन्छ । यसका लागि शिक्षा भनेको के हो र यो कस्तो खालको भए समाजको हित गर्छ भनेर बहस गरिराख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्